Logo
Logo

नेतृत्वमा सामन्ती सोचले जरा गाढेको छ- अष्टलक्ष्मी


अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष, नेकपा (एमाले)


आगामी मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । वामपन्थीको नेतृत्वमा चुनावी सरकार बन्ने सम्भावना देख्नुहुन्छ ?
अहिले तत्काल त यस्तो सम्भावना देखिन्न । तर, वाम एकताको वातावरण बनाउनुपर्छ । पहिलो कुरा त, कम्युनिष्ट पार्टीहरू फुट्नै हुँदैनथ्यो । अत्यन्तै दुःख, कष्ट र बलिदान गरेर बनेको कम्युनिष्ट पार्टी मिलेको बेलामा जे उत्साह थियो, अहिले फुटेको बेलामा त्यो उत्साह छैन । अहिले त एकले अर्कालाई सिध्याउन खोज्ने, कमजोर बनाउन खोज्ने प्रवृत्ति देखिएको छ । कम्युनिष्ट शक्तिहरू अहिले अप्ठेरो अवस्थामा आइपुगेका छन् । जनताको चाहना कम्युनिष्ट शक्ति बलियो होस् र यो मुलुकको नेतृत्व गरोस् भन्ने छ । मुलुकको रुपान्तरण, विकास र समृद्धिको नेतृत्व कम्युनिष्ट शक्तिले नै गरोस भन्ने नै छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजवादका लक्ष्य प्राप्ति होस्, देशमा सुशासन कायम होस्, भ्रष्टाचार अन्त्य होस्, जनताले सेवा–सुविधा पारदर्शी ढंगले सहज रुपमा पाउन् भन्ने जनचाहना छ ।

एमालेमा अहिलेकै नेतृत्व रहेसम्म त वाम एकता गाह्रै देखियो होइन ?
व्यवस्था परिवर्तनको आन्दोलन सफलतापूवर्क गर्ने तर, आन्दोलनको उपलब्धि रक्षा गर्दै देश निर्माण गर्न नसक्नू नेतृत्वको कमजोरी हो । यही अवस्थाबाट अगाडि बढ्नु राम्रो हुँदैन । धेरै पार्टी बनिरहँदा पार्टीभित्रको संस्कार पनि बन्नुपर्छ । सहमति, सहकार्य र एकताको संस्कार पनि विकास हुनुपर्छ । मुलुक सानो छ, यति धेरै पार्टीको आवश्यकता नै छैन । धेरै पार्टी हुने र किचलो मात्रै निस्कने अवस्था पक्कै राम्रो होइन । एकले अर्कालाई निषेध गरेर जाँदा मुलुक अगाडि बढ्न सक्दैन । विकास र समृद्धि हाँसिल हुन सक्दैन । र, हामीले प्राप्त गर्ने भनेको समाजवादको लक्ष्य प्राप्त गर्न सकिँदैन । त्यसकारण ढिलोचाँडो वामहरू मिल्नैपर्छ । यो जनताको माग हो, समयको आवश्यकता हो । त्यसपछि मुलुक बनाउने सवालमा वाम र लोकतान्त्रिक शक्ति मिल्नुपर्छ । व्यवस्था परिवर्तन गर्न सक्ने नेतृत्व अहिले असफल भइसक्यो भन्ने निष्कर्षमा पुग्ने बेला भइसकेको छैन । नेतृत्व सत्ताको खेलमा मात्रै लागेका कारण अहिलेको समस्या आएको हो । सबै पार्टी मिलेर नयाँ सोचका साथ जनतालाई हौसला दिनुपर्ने, समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा एकले अर्कालाई कमजोर बनाउने, सत्ताको खेलमा प्लस, माइनसको हिसाबकिताब गर्ने, कसलाई कमजोर बनाउँदा म नेतृत्वमा पुग्न सक्छु भन्ने संकीर्ण स्वार्थ र सोचले मात्रै अब राजनीति चल्दैन ।

सर्वदलीय सरकार निर्माण गरेर अगाडि बढ्नुपर्छ भन्न खोज्नुभएको हो ?
अहिले नेतृत्वको सोच हेर्दा टस न मसको अवस्था छ । नेकपा (एमाले) एकातिर छ, अरु दलहरू अर्कोतिर छन् । यस्तो अवस्थामा कसरी सर्वदलीय सरकार निर्माण होला र ! चुनावमा यति सिट जितेँ भनेर मात्रै अहिले पुग्दैन । अर्थतन्त्र ओरालो लागिरहेको छ । महंगीको मारले जनतालाई पीडा दिइरहेको छ । सुशासन छैन । जनताले चाहेको एउटा छ, नेताहरूको हिडाईँ अर्कोतिर छ । यसरी समाजवादको लक्ष्य प्राप्त हुँदैन, देश बन्दैन । सुशासन कायम हुँदैन । स्पष्ट योजनाका साथ हामी अगाडि बढ्नुपर्छ ।

आरोपप्रत्यारोपको राजनीतिले कम्युनिष्टहरूलाई कहाँ पुर्याउँछ ?
एकले अर्कालाई खुइल्याउनु भनेको नेतृत्वको कमजोर सोच हो । लोकतान्त्रिक संस्कार बोक्ने नेतृत्वका लागि एकले अर्कालाई सिध्याउन खोज्ने, खुइल्याउने कुरा सुहाउँदैन । यस्ता गतिविधि आजैदेखि अन्त्य गर्नुपर्छ । नेतृत्वमा अत्यन्त दम्भ छ । हामीले सामन्ती, निरंकुश, एकतन्त्रीय व्यवस्था अन्त्य गर्यौं । संकीर्णता, स्वार्थीपन, पदलोलुपता, परिवारवाद, गुटवाद भनेको सामन्ती संस्कारकै अवशेष हुन । नेतृत्वमा सामन्ती अवशेष बाँकी नै रहेको देखिन्छ । नेतृत्व अलोकतान्त्रिक भएको छ । फराकिलो सोच बोक्न सकेको छैन । सबैलाई समेट्न सकेको छैन । सबैलाई नेतृत्व दिएर हाँक्न सक्ने क्षमता विकास गर्न नेतृत्वले सकेको छैन् । बलिदानबाट मुलुकमा यस्तो परिवर्तन सम्भव भएको हो । बलिदान दिएका परिवारलाई आज बिर्सन मिल्छ ? तर, नेताहरूले बिर्सनुभयो । पहिले सम्झनुपर्ने त बलिदान गरेको परिवार, जेलनेल खाएको परिवार, पार्टी निर्माणको लागि त्याग गरेको परिवारलाई हो नि ।

हिजो जुन प्रवृत्तिविरुद्ध तपाईंहरूले बिद्रोह गर्नुभयो, आज पार्टीमा त्यही संस्कार हुर्कियो होइन ?
यही हो दुःख लाग्दो कुरो । हामीले त्यही पुरानो संस्कार, पुरानो शैली, पुरानै सोच, स्वार्थीपन, लोभीपापीलाई बोक्नका लागि यत्रो दुःख गरेर परिवर्तन ल्याएको होइन । दुनिया बदल्नुपर्छ र शोषणरहित, विभेदरहित वर्गविहीन समाज निर्माण गर्नुपर्छ भनेर हामी कम्युनिष्ट आन्दोलनमा लागेका हौँ । लामो समय भूमिगत बसेर पार्टी निर्माण गरेका हौँ । परिवर्तनको अभियानमा जनताले साथ दिएकै हुन । तर, आज परिवर्तनलाई आत्मसात गर्ने गरी नेतृत्वबाट काम हुन सकेन । वैचारिक राजनीति कमजोर भयो । सिद्धान्त र विचारलाई बिर्सन थालियो । कम्युनिष्ट भावना कमजोर भयो, सामन्ती सोच मौलाउन थाल्यो । अब त, यो देशमा गणतन्त्र छ भनेर पनि बिर्सेला भन्ने डर भइसक्यो ।

कम्युनिष्टको दुईतिहाइको सरकार पनि बिचौलिया दलाल पूँजीपतिहरूकै कब्जामा पर्ने भएपछि जनताले अब कसरी विश्वास गर्ने ?
जनतालाई निराश बनाउनु हुँदैन । आशावादी बनाएर अगाडि बढ्नुपर्छ । जनतालाई आशा जगाउन नेतृत्वले आफ्नो सोचमा परिवर्तन गर्नुपर्छ । चिन्तनहरू बदल्नुपर्छ । फराकिलो सोच राख्नुपर्छ । नयाँ भिजनका साथ अगाडि आउनुपर्छ । आर्थिक, सामाजिक रुपान्तरणको एजेन्डा अगाडि ल्याउनुपर्छ । मुखले खुसी र सुखी बनाउने भनेर मात्र हुँदैन । जनताले नेतालाई ठूलो विश्वास गरेर मौका दिएकै हुन् । नेतृत्वले अब कमिकमजोरी महसुस गर्नैपर्छ । मुलुकको परिवर्तनका लागि साँच्चिकै हामीले के गर्यौं भन्ने कुरा मनन् गर्नुपर्छ । खाली सत्ताकै खेलमा मात्रै लागिरहने, अस्वस्थ, अपारदर्शी काम अब रोकिनुपर्छ । नेतृत्वले ठण्डा दिमागले सोचेर, महसुस गरेर सत्ताको खेलमा मात्रै नलागी कसरी मुलुकलाई समृद्धि र विकासमा लैजाने, सामाजिक, आर्थिक रुपान्तरण गर्ने, नेपाली जनतालाई खुसी र सुखी बनाउने भन्नेमा लाग्नुपर्छ । जनतालाई आत्मनिर्भर बनाउने, देशमा शान्ति सुरक्षा कायम गर्ने, विकास र समृद्धिको ठोस योजना ल्याउनुपर्छ । नेतृत्वले रुपान्तरणको सोच बोक्नुपर्छ । जनताको आशा र भरोसाको केन्द्रबिन्दु बन्नुपर्छ । यसरी अगाडि बढ्ने हो भने हाम्रै पालामा मुलुक बनाउन सकिन्छ ।

बाहिर हेर्दा त नेताहरूले कमिकमजोरी स्वीकारेको देखिँदैन । एमालेको सचिवालयबाहेक अन्य कमिटीको बैठक बसेको छैन् । सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले कमिकमजोरी सच्याउने संकेत गर्नुभएको छ त ?
नेतृत्व भनेर मैले केपी कमरेडलाई मात्र भन्न खोजेको होइन । गणतन्त्र ल्याउन ज–जसले नेतृत्व लिएर लाग्नुभयो, उहाँहरू सबैले सोच्ने कि नसोच्ने भन्ने कुरा हो । एउटा नेताले मात्रै म सच्चिन्छु भनेर सच्चिने अवस्था छैन । त्यसकारण सबै नेताहरूले छाती फराकिलो बनाएर, विचार फराकिलो बनाएर आफ्नो कमजोरी महसुस गर्नुपर्छ । सबैलाई समेट्ने आँट र हिम्मत गर्नुपर्छ । अबको परिवर्तन, रुपान्तरणको बाहक म हुँ, यसरी देशलाई रुपान्तरण गर्छु, समृद्धिको यात्रामा लैजान्छु भन्ने आँट र हिम्मत गर्न सक्नुपर्छ । अहिले कसैले कसैलाई माइनस गरेर माइनस हुने अवस्था छैन । यो नेतालाई विस्थापित गरिदिन्छु, यो पार्टीलाई सिध्याइदिन्छु भनेर केही हुँदैन । त्यसकारण मिलेर जानुको विकल्प छैन ।

कम्युनिष्ट पार्टीमा वैचारिक रुपमा स्पष्ट नभएसम्म तपाईंले भनेका कुरा सम्भव छ त ?
बैचारिक छलफल कमजोर भएका कारण पनि अहिले पार्टीहरूमा समस्या देखिएको छ । यो व्यवस्थालाई कसरी बलियो बनाउने, विकास र समृद्धिको यात्रामा कसरी लाने भन्ने बारेमा कुनै पनि पार्टीमा बहस भएको मलाई थाहा छैन । भनेर मात्रै हुँदैन, व्यवहारमै लागू गर्नुपर्छ । सामन्ती अवशेष कहाँ–कहाँ बाँकी छ भनेर बैचारिक बहस हुनुपर्छ । तर, पछिल्लो समय यो अभ्यास कमजोर भएर गएको छ । नेतृत्व सत्ताको खेलमा अल्मलियो जस्तो लाग्छ मलाई ।

दृष्टिसँगको अघिल्लो अन्तर्वार्तामा एमालेका पोलिटब्यूरो सदस्य वैजनाथ चौधरीले ‘एमालेभित्र बहसलाई खुला गर्ने हो भने समस्याको समाधान निस्कन्छ’ भन्नुभएको थियो । कमिटीभित्र नेताहरूले कहिले खुला छलफल गर्न पाउँछन् ?
छलफल र बहसको वातावरण बनाउनै पर्छ । छलफल नगरी, विचारविमर्श नगरी नयाँ सोच विकास हुन्छ, नयाँ भिजन विकास हुन्छ भन्ने मलाई लाग्दै लाग्दैन । एउटा व्यक्तिको भिजनले, एउटा व्यक्तिको सोचले मात्रै सिंगो रुपान्तरण सम्भव छैन । पार्टीमा संस्थागत छलफल हुनुपर्छ । संस्थागत प्रणाली र विधि, प्रक्रियाको विकास गर्नैपर्छ । तल जगैदेखि छलफल चल्नुपर्छ । माथिदेखि पनि खुला दिलले छलफल चलाउदै जानुपर्छ । विचार र सुझाव त जस्ता पनि आउन सक्छन । त्यसलाई सहज रुपमा लिएर नेतृत्व अगाडि बढ्नुपर्छ । छलफल र बहसले नयाँ योजनाका साथ अगाडि बढ्न मद्धत पुग्छ । नेतृत्वले पनि अल्मलिनु पर्दैन । अहिले नेतृत्व सत्ताको खेलमा अलमलिएको छ । छलफल, बहस खुला गरेर अब देश र जनताका लागि केही गरौँ भनेर अगाडि बढ्नुपर्छ । नयाँ नेपाल निर्माणको लागि अब हाम्रो ध्यान जानुपर्छ । यस ढंगको छलफल र बहस सबै पार्टीमा हुनुपर्छ ।

१०औँ महाधिवेशनपछि एमालेमा छलफल त शुन्य भयो नि होइन ?
छलफलको पाटो अलिकति कमजोर भएको छ । राजनीतिक, वैचारिक विषयमा जति छलफल भयो, त्यति नै राम्रो हो । अहिलेका यावत नयाँ विषयमा झन छलफल आवश्यक छ । विचार विमर्श गर्दा अलिअलि तनाव पनि हुन सक्छ । नेतृत्वले त्यस्तोमा तनाव लिनुहुँदैन । मेरो विचार लागू नहोला कि भन्ने ढंगले होइन, खुला मनले छलफल गर्नुपर्छ । अब ढिला नगरी अगाडि बढ्नुपर्छ ।

विचार राखेकै आधारमा एमालेले घनश्याम भुसालमाथि कारबाहीको डन्डा चलाएको होइन ?
यो तरिका ठीक होइन भनेर हामीले भनिराखेकै छौँ । यसरी जानुहुँदैन । हाम्रो पद्धति छ, प्रणाली छ । पार्टीभित्र बहस छलफल हुनुपर्छ । पार्टीले खुला बहस, छलफल स्वीकार गरेन भने समस्या सिर्जना हुन्छ । अनि पद्धति, प्रणालीभन्दा बाहिर छलफल हुन थाल्छ । अहिलेको परिवेश यही हो । बहस, छलफलका विषय छुट्याउनुपर्छ । कमिकमजोरीको विषय के के हुन भन्ने खुला छलफल हुनुपर्छ । कसैलाई विस्थापित गर्ने वा स्थापित गर्ने भन्ने कुरा होइन यो । नेतृत्वलाई विस्थापित गर्ने कुरा पनि होइन । पार्टी नयाँ ढंगले, नयाँ योजनाका साथ अगाडि बढ्न सकोस् भन्ने नै हो । परिवर्तनको बाहक नेकपा एमाले बन्न सकोस भन्ने नै हो । एमालेमा विगतमा समस्या भएकै हो । पार्टी फुट्ने तहसम्म पुगेकै हो । संक्रीर्णता बढेकै हो, बहस, छलफल नचलेकै हो । सांगठनिक जीवन पनि केही तलमाथि परेकै हो । राजनीतिक बैचारिक स्थिति पनि कमजोर भएको तपाईं हामीले देखिराख्नुभएकै छौँ ।

छलफलको विषय के हुनुपर्छ ?
हिजो व्यवस्था परिवर्तनका लागि लड्ने, भिड्ने, जेल जीवन बिताउने र बलिदानसमेत दिन तयार हुने नेतृत्वले अब नयाँ ढंगको सोच, भिजन, नीति, योजना, कार्यक्रम ल्याउनुपर्छ । त्यो पार्टीको छलफलको विषय बन्नुपर्छ । अहिले ढिला भइसक्यो भन्ने पक्षमा छैन, समय छ भनेर पर्खने अवस्था पनि छैन । हिजो त्यत्रो त्याग गरेर आएको हामीलाई नयाँ नेपाल हेर्न मन लाग्छ नि, समृद्ध नेपाल देख्न मन लाग्छ नि । जनताले परिवर्तनको महसुस हुने गरी काम हुनुपर्छ । अबको छलफल त्यस दिशामा केन्द्रित हुनुपर्छ । नत्र, अबको युवा पुस्ता पर्खिनेवाला छैन । आजको अवस्थामा नेपालको राजनीति आन्तरिक रुपमा मात्र होइन, विश्व परिवेशसँग पनि जोडिन्छ । यी यावत विषयमा पार्टीमा छलफल हुनुपर्छ ।

वामपन्थी शक्ति विभाजित हुँदा बाह्य हस्तक्षेप बढेको हो ?
अरुलाई दोष दिनुभन्दा हामी आफैँ कति बलियो छौँ भन्ने हेर्नुपर्छ । राष्ट्रियताको सवालमा, सार्वभौमिकताको सवालमा कति आत्मविश्वासका साथ अगाडि बढेका छौँ ? अर्थतन्त्रलाई कसरी बलियो बनाउने, राष्ट्रियतालाई कसरी जोगाउने, सार्वभौमिकतालाई कसरी बलियो बनाउने भन्ने विषयमा सबैभन्दा पहिला हामी एकजुट हुनुपर्छ । हामी आफै कमजोर भइसकेपछि, बेमेल सिर्जना भइसकेपछि, एकले अर्कालाई कमजोर बनाउने खेल भएपछि चलखेल त हुने नै भयो नि । अरुलाई दोष दिनुभन्दा हामी आफैँ बलियो हुने गरी अगाडि बढ्नुपर्छ ।

तपाईं एमालेको बागमती प्रदेश संसदीय दलको नेता पनि हुनुहुन्छ । कांग्रेस र माओवादीले समर्थन फिर्ता लिए भने, एकीकृत समाजवादीका मुख्यमन्त्रीलाई तपाईंहरूको साथ रहन्छ ?
प्रदेशको राजनीति पनि केन्द्रीय गठबन्धनको आधारमा चल्ने हो । माथिको मूल जरोले तलसम्मै तानिरहेको हुन्छ । माथि हलचल छैन भने तल हलचल हुने कुरै भएन । उहाँहरू (कांग्रेस, माओवादी) आफैँ लाग्नुभयो, आफैँ बस्नुभयो । सत्ता गठबन्धनमा हाम्रो भूमिका नै छैन । यसमा हामीले आशा, भरोसा गरेर बसेका छैनौँ । हाम्रो त्यस्तो सोच पनि छैन । पाँच वर्षमा कतिवटा मुख्यमन्त्री बन्ने प्रश्न चाहिँ आउने भयो । बागमती प्रदेशमा तीन जना त मुख्यमन्त्री भइनै सकियो ।

प्रतिक्रिया दिनुहोस्