काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना–२०७९ सार्वजनिक गरेको छ ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठले आइतबार मन्त्रालयमा एक कार्यक्रमबीच पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेका हुन् ।

कार्ययोजनाले प्रमुख रुपमा सन् २०२३–२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने उद्घोष गरेको छ । यसअघि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरेको थियो । तर, यसबीच कोभिड–१९ को महामारीका कारण प्रभावित भएको थियो ।
कोभिड–१९ को प्रभाव कम भएसँगै सुध्रँदै गएको विश्व पर्यटन बजारबाट पुनः पर्यटन आकर्षित गर्न सकिने भन्दै कार्ययोजनाले सन् २०२३ देखि २०३३ लाई भ्रमण वर्षको रुपमा अघि बढाउन सकिने बताएको हो ।
आर्थिक वर्ष शुरु भएसँगै पर्यटन क्षेत्रमा देखिएको सुधारात्मक संकेतपछि दुई तीन महिनाभित्र यस्तो घोषणा गर्न सकिने मन्त्रालयले जनाएको छ ।











