काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रका गिरोहबाटै फोहोरमैला व्यवस्थापनमा समस्या रहेकाे बताएका छन् ।

काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको शनिबार उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री श्रेष्ठले यस्तो दावी गरेका हुन् । ‘फोहोरमैलाको कुरा लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौं’ उनले भने, ‘फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन ।’
स्थानीय तह नै फोहोरमै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ । मन्त्री श्रेष्ठले मठमन्दिरमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्न लागेको बताउँदै भने, ‘हामी मठमन्दिरहरुमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्दैछौँ । त्यहाँबाट नै चेतनाको अभियान सुरु हुनेछ ।’
संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय गरेर ती योजना पूरा गर्दै जाने मन्त्री श्रेष्ठले बताए ।














