Logo
Logo
साहित्य

अग्नियोद्धा अर्थात् पुष्पलाल


ठाकुर बेलवासे


रगतको रङ
र पसिनाको रङले
एउटा मान्छे बन्छ

पसिनाको मैलो र रगतको रातो रङले
चेतनाको मूल फुटाउँछ
र चेतनाले एउटा मान्छे बन्छ

रगतको रङले
एउटा आकाश खोज्छ
पसिनाको रङले
एउटा अस्तित्वको नदी खोज्छ
अनि एउटा मान्छे बन्छ

पहाडहरु
भ्रम र भ्रान्तिमा अग्लिएर
अनगिन्ती
जिब्रोहरु
आँखाहरु
खुट्टाहरु
हातहरु खेस्छन्
र निरङ्कुशताको बिम्ब उभिन्छन्
त्यही निरङ्कुशताभित्र
असख्य मानिसका हाँसो र सपनाको
अग्निहोत्र चलिरहन्छ

रगत र पसिनाको रङ चिन्न थाले पछि
एउटा मान्छे बनिन्छ

आँखाभरी रगतको गाढा रङ भरेर
मनभरी आगोको भविश्य बालेर
जब तिमीले
रगत र पसिनाको रङ पढायौं
त्यस पछि त हो
मलाई पूर्वक्षितिजको लालिमा
अनि, पश्चिम क्षितिजको गोधूली प्रिय लाग्न थालेको

पूर्व र पश्चिमका क्षितिज
प्रिय लाग्न थाले पछि
जीवन एउटा मान्छे बन्छ

जब मान्छेहरु अग्ला पहाड बन्छन्
वस्तीमा एउटा निरङ्कुश वादल उड्छ
जब मान्छेहरु पहिरो बन्छन्
वस्तीमा क्रन्दनकको हुरी चल्छ
जब मान्छेहरु बाढी बग्न थाल्छन्
वस्तीमा सपनाहरु बग्न थाल्छन्
तिमीले यसरी
मान्छेका रुप र स्वरुपहरु पढाए पछि त हो
मैले मान्छेमा भिन्नता देख्न थालेको

तिमीले दिएको चेतनाको प्रकाशले
मेरा आँखा घामजस्ता बनेका छन्
तिमीले दिएको आँटले
मेरा खुट्टा इस्पात बनेका छन्
तिमीले सिकाएको विद्रोहले
मेरा मुठ्ठी हथौडा बनेका छन्
बिडम्बना
तिमीले छोडेका लालयोद्धाहरु
पहाड
पहिरो
बाढी
बनेर असमान र निरङ्कुश दौडिएका छन्

मेरो अग्नियोद्धा अर्थात पुष्पलाल
तिमीले छोडेको आगो फुक्न
मैले आज पनि छोडेको छैन् ।

प्रतिक्रिया दिनुहोस्