Logo
Logo

हिमालय एयरलाइन्स्- व्यवसायमा सफल, सामाजिक उत्तरदायित्वमा अब्बल



काठमाडौं । हिमालय एयरलाइन्सले सन् २०२०-२०२१ अवधिभर कोरोना महामारीको समयमा निर्वाह गरेको संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा राष्ट्रलाई टेवा पुर्याउने धेरै काम गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार कोभिडको समयमा हिमालय एयरलाइन्सले नेपाल सरकारको कोभिड–१९ कोषमा १० लाख रुपैयाँ योगदान गरेको छ । त्यसैगरी कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशमा अलपत्र परेका यात्रुलाई स्वदेश ल्याउने र विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने लगायतका काम एयरलाइन्सको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार हिमालय एयरलाइन्सले नेपाल सरकारसँग सहकार्य गरी भेरोसेल भ्याक्सिनको दुई लाख डोज ल्याउन २ करोड २५ लाख बराबरको चार निःशुल्क कार्गो उडान गरेको छ ।

एयरलाइन्सले पाँच वर्षदेखि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘प्रयास नेपाल’ नाम संस्थालाई पनि सहयोग गर्दै आएको छ । बालबालिकाको सपना साकार पार्न हिमालयले ‘शिक्षातर्फका पाइलाहरू’ कार्यक्रम अन्तर्गत विपन्न बालबालिकाका लागि योगदान पुर्याउँदै आएको हो ।

हिमालय एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत मुख्यगरी आर्थिक समृद्धि, वातावरणीय दिगोपन, सामाजिक उत्तरदायित्व र गुणस्तर व्यवस्थापन प्रणालीमा योगदान गर्दै आएको छ ।

हिमालय एयरलायन्सका ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दलीले प्रतिवेदन सार्वजनिक गर्दै भने- ‘कोरोना महामारीको चुनौतिपूर्ण समयमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालना गर्दै समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल भएको छ । यो कार्य निरन्तर रहने छ ।’

समग्र आर्थिक वृद्धि र सामाजिक कल्याण व्यवसायका दुई प्रमुख पक्षहरू रहेको बताउँदै मेन्टिनेन्स एण्ड इन्जिनिरिङ्ग विभागीय प्रमुख राजेशप्रसाद श्रेष्ठले हिमालय एयरलाइन्स निरन्तर रुपमा व्यवसायको विकास–उन्मुख भविष्यको मार्ग सुरक्षित गर्ने प्रतिबद्ध रहेको बताए ।

यात्रुको सुरक्षामा अब्बल हिमालय एयरलाइन्स

नेपाली नागरिकसँग अन्य राष्ट्रहरुका नागरिकको सम्पर्क प्रवद्र्धन गर्ने तथा राष्ट्रको व्यापार र पर्यटनको प्रवद्र्धन गर्ने दुई प्रमुख उद्देश्यका साथ नेपाल-चीन बीचको संयुक्त लगानीमा सन् २०१४ हिमालय एअरलाइन्स स्थापना भएको हो ।

जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतस्थित तिब्बत एभियशन डेभलपमेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनी र नेपालको काठमाडौँस्थित यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त सहकार्यमा सञ्चालित छ ।

स्थापनाको सात वर्षको छोटो अवधिमा हिमालय एयरलाइन्सले जहाजको संख्यामा चार पुर्याएको छ । हिमालय एयरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख देशहरू युएई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत र बंगलादेशलगायतका देशहरुमा उडान भरिहेको छ ।

व्यावसायिक सञ्चालनको पहिलो वर्ष हिमालयले ‘साउथ एशियन ट्राभल अवार्ड-२०१७ मा ‘दक्षिण एशियामा अग्रणी नव अन्तर्राष्ट्रिय एअरलाइन्स’को रुपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।

सन् २०२० को अगस्तमा हिमालय एअरलाइन्सले गुणस्तरीय व्यवस्थापन प्रणाली (क्यीएमएस)को लागि नेपालमै पहिलोपटक ‘आइएसओ ९००१–२०१५’ प्रमाणीकरण प्राप्त गरेको छ । आइएसओ ९००१–२०१५ को मापदण्डअनुरुप गुणस्तर व्यवस्थापन प्रणालीको पालना गरेवापत एयरलाइन्सले प्रमाणपत्र प्राप्त गरेको हो ।

हिमालय एयरलाइन्सले सन् २०२१ मा सुरक्षित उडान सुनिश्चित गर्न सबै जहाजमा जीवन बचाउने यन्त्र स्वचालित बाह्य डिफिब्रिलेटर ‘एइडीएस’ जडान गरेको छ ।

नेपालमा ‘एइडीएस’ जडान गर्ने हिमालय एयरलाइन्स पहिलो र एक मात्र नेपाली एयरलाइन्स हो ।

प्रतिक्रिया दिनुहोस्