Logo
Logo

विवाहेत्तर सम्बन्धले निम्त्याउँदै गम्भीर अपराध !



काठमाडौं । गत सोमबार काठमाडौंका तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीस्थित पदमसालमा एकै परिवारका चार जनाको वीभत्स अवस्थामा शव फेला पर्यो । उक्त घटनामा ४१ वर्षीय दिनेश पाण्डे, उनका श्रीमती ३९ वर्षीया सुनिता, छोरी १३ वर्षीया आशिका र आठ वर्षीय छोरा आशिकको मृत्यु भयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धन अनुसार श्रीमान्-श्रीमतीको असझमदारीले परिवार नै समाप्त हुन पुगेको हो । घटनास्थल प्रकृति मुचुल्का, १० पृष्ठको सुसाइड नोट र स्थानीयको भनाइले सम्बन्ध बिग्रिएर घटना भएको पुष्टि हुने आधार दिएको पाइन्छ ।

सुसाइड नोटमा श्रीमती र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गर्न बाध्य भएको दिनेशले उल्लेख गरेका छन् । सुसाइड नोटमा एकले अर्कोको परसम्बन्धमा शंका गरेको विषय उल्लेख गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत बताउँछन् । ती प्रहरी अधिकृत भन्छन्– ‘सम्बन्धमा एकले अर्कोलाई शंका गरेको देखियो ।’

उनीहरुको पुरानो घर गोरखाको भीमसेनथापा गाउँपालिकामा हो । दिनेशको परिवार काठमाडौंमा एकतले घर बनाएर बसेका थिए । उनी १२ वर्ष कुवेतमा रोजगारी गरेर तीन वर्षअघि मात्रै फर्किएका थिए ।

त्यसपछि श्रीमान् श्रीमतीबीच झगडा हुने गरेको बताइएको छ । उनीहरुको घरेलु घटना प्रहरीसम्मै पुगेको थियो । सम्बन्धविच्छेदसम्म पुग्न लागेका बेला अन्ततः रोकिएको थियो । तर, झगडा भने रोकिएको थिएन । पटकपटक झगडा भएर मिलाएको दिनेशका छिमेकी सुनाउँछन् ।

गत आठ गते भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोकमा ४३ वर्षीय कृष्णप्रसादले श्रीमती ३५ वर्षीया रुस्मा आचार्यको हत्या गरि आत्महत्या गरे । राति १० बजे घरमा बसेर मोबाइल हेरिरहेको समयमा पछाडिबाट धारिलो हतियार प्रहार गरि कृष्णप्रसादले रुस्माको हत्या गरेका थिए ।

श्रीमतीको हत्या लगत्तै घरको छतबाट कृष्णप्रसादले हाम फालेर आत्महत्या गरेका थिए । लामो समय विदेश बसेर कृष्णप्रसाद डेढ महिना अघि मात्रै स्वदेश फर्किएका थिए ।

वैदेशिक रोजगारबाट फर्किएका कृष्णप्रसादले श्रीमतीमाथि अरु सँगै सम्बन्ध रहेको शंका गरेका थिए । श्रीमतीलाई थाहा नै नदिई कृष्णप्रसाद विदेशबाट फर्किएपछि घर झगडा सुरु भएको थियो । उनीहरुको घर झगडा प्रहरी कार्यालयसम्म पुग्यो ।

प्रहरीले छलफल गराए पनि उनीहरु मिल्न सहमत भएनन् । त्यसपछि डिभोर्सको तयारीमा रहेको थिए । तर, डिभोर्सको अघिल्लो रात कृष्णप्रसादले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरे ।

त्यस्तै गत फागुन चार गते सुनसरीको धरान-४ स्थित धरान-भेडेटार सडक खण्डको जंगलमा मानिसको टाउको र एउटा खुट्टा भएको जेब्रा फेला पर्यो । उक्त झोलाभित्र शवका टुक्रा फेला परेका पुरुषको हत्या आफ्नै कान्छी श्रीमतीबाट भएको थियो ।

झापाको दमक नगरपालिका-५ का ४३ वर्षीय दिनेश सिग्देलको हत्या उनकी कान्छी पत्नी ३० वर्षीया अनिता केसीको योजनामा भएको प्रहरीको अनुसन्धाबाट पत्ता लाग्यो । प्रहरीका अनुसार अनिता र उनका प्रेमी विराटनगर महानगरपालिका–४ इक्राहीका २९ वर्षीय सरोज भण्डारीले दिनेशको हत्या गरेका थिए ।

प्रहरीका अनुसार दिनेश अघिल्लो वर्ष पुसमा वैदेशिक रोजगारीका लागि बहराईन गएका थिए । स्वास्थ्यमा समस्या भएर कम्पनीले विदा दिएपछि उनी गत पुस २० गते नेपाल फर्किए । त्यसको केही दिनको अनिताले आफ्ना प्रेमीसँग मिलेर श्रीमान दिनेशको हत्या गरेको प्रहरीको भनाइ छ ।

गत असार ११ गते गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत भेटिए । उनका प्रेमी भनिएका सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठले नै हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रहरीका अनुसारसुनार र श्रेष्ठको २ वर्षदेखि प्रेम सम्बन्ध थियो । विवाहित सूर्य र सम्बन्ध विच्छेद गरेर एक्लै बस्दै आएकी गायिका सुनारबीचको प्रेम सम्बन्धले श्रेष्ठ परिवारमा समस्या आइरहेको थियो ।

मृतकका आफन्तकाअनुसार श्रेष्ठ श्रीमानकै परिचयमा सुनारको कोठामा आउजाउ गर्थे । घटनाको दिन पनि उनीहरू सँगै थिए । परिवारका अनुसार श्रेष्ठलाई सुनारले विवाह गर्न दबाब दिएपछि हत्या भएको हो ।

त्यस्तै गत असार २६ गते कास्कीको अन्नपूर्ण गाउँपालिका-७ को जंगलमा बनेपाका दिवाकर थापा र सुदिना कर्माचार्य एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परे । आत्महत्या गर्नुपर्ने एउटै कारण थियो, उनीहरूबीचको विवाहेत्तर सम्बन्ध ।

घटनाको अनुसन्धानका क्रममा दिवाकर र सुदिना प्रेम सम्बन्धमा रहेको खुल्यो । दिवाकरको श्रीमती अस्टेलियामा छन् भने सुदिनाको श्रीमान् बनेपामा व्यापार व्यवसाय गर्ने गर्छन् ।

गत पुसमा पोखराकी एक महिला र हेटौंडाका पुरुष एउटै पछ्यौरामा बाँधिएर फेवातालमा हेलिए । उनीहरू फेवातालमा पस्दै गरेको देखेपछि स्थानीय र सेनाले तत्काल उद्धार गरे ।

आत्महत्या गर्न फेवातालमा डुब्दै गरेका उनीहरूले आफूलाई उद्धार गर्नेलाई उल्टै गाली गरे । श्रीमान्ले बेवास्ता गरेपछि फेसबुकको माध्यमबाट हेटौंडाका युवकसँग ती महिला नजिकिएकी थिए । युवकसँगको सम्बन्धबारे घरमा थाहा भएपछि दुवैले सँगै आत्महत्या गर्ने निर्णय लिएका थिए ।

गत असोजमा धनगढी उपमहानगरपालिका-७ का अमृता चौधरीले प्रेमी वष्णु चौधरीसँग मिलेर श्रीमानको हत्या गरेका थिए । अमृताले विवाहेत्तर सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर २५ वर्षीय रमेश चौधरीको हत्या गरेका थिए ।

प्रहरीको अनुसार अमृता र विष्णु परालको थुप्रोमा दुई पटक आपत्तिजनक अवस्थामा फेला परेका थिए । दोस्रोपटक पनि उनीहरूलाई आपत्तिजनक अवस्था भेटेपछि मृतक रमेश चौधरीले दुई जनालाई सार्वजनिक गर्न खोजेपछि उनको हत्या गरेको प्रहरीको भनाइ छ । अमृता र विष्णुबीच विगत केही वर्षदेखि नै सम्बन्ध रहेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

विवहेत्तर सम्बन्धनले पछिल्लो समय निम्तिएको गम्भीर अपराधका यी केही उदाहरण हुन् । विवाहेत्तर सम्बन्धका कारण हत्या र आत्महत्या घटना बढ्दो छ ।

गत तीन वर्षलाई हेर्दा यस्ता घटना बढ्दै गएको पाइन्छ । प्रहरीको केन्द्रीय तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा श्रीमान/श्रीमतीको हत्या १२५ घटना छन् । श्रीमानले श्रीमतीको हत्या गरेको घटना ९७ छन् भने श्रीमतीले श्रीमानको हत्या गरेको घटना २८ वटा रहेको छ ।

२०७७/०७८ मा श्रीमानले श्रीमतीको हत्या गरेको घटना ११४ घटना थियो । श्रीमतीले श्रीमानको हत्या गरेका घटना २० वटा थियो । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा श्रीमानबाट श्रीमतीको हत्या भएका घटना ७० वटा थियो भने श्रीमतीले श्रीमानको हत्या गरेका घटना १७ वटा रहेको थियो ।

श्रीमान-श्रीमतीको एक-अर्काको हत्यामा प्रयाः विवाहेत्तर सम्बन्धन जोडिएको देखिन्छ । विवाहेत्तर सम्बन्धले गम्भीर अपराध निम्त्याउन थालेपछि प्रहरीको टाउको दुखाइको विषय बनेको छ ।

परपुरुष/परस्त्रीसँग लागेर श्रीमान्-श्रीमतीको हत्या गर्ने, विदेशमा रहेको श्रीमान्ले पठाएको रकम, गरगहनासहित अर्कै पुरुषसँग विवाह गर्ने, अर्कै महिलासँग सम्बन्ध बनाएर घरमा श्रीमतीमाथि घरेलु हिंसा गर्नेलगायत समस्याहरु बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्