Logo
Logo

सिद्धार्थ बैंकले कमायो तीन अर्बभन्दा बढी, प्रतिसेयर आम्दानी झन्डै २६ रुपैयाँ



काठमाडौं । सिद्धार्थ बैंकले आव ०७८/७९ मा तीन अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । १२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७१ पैसा पुगेको छ ।

देशको सातौँ वाणिज्य बैंकका रूपमा स्थापना भएको यो बैंकको कुल इक्विटी २१ अर्ब ९१ करोड रुपैयाँ रहेको जनाइएको छ । अघिल्लो आवमा बैंकले देशको अर्थतन्त्रको सबलीकरण तथा आर्थिक वृद्धिमा टेवा पु¥याउँदै आएको जनाएको छ । आव ०७८/७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल दुई अर्ब ९० करोड रुपैयाँभन्दा बढी सरकारको राजस्वमा योगदान पु¥याएको बैंकको दाबी छ ।

ग्राहकमैत्री अवधारणाका कारण ग्राहकहरूको प्रमुख रोजाइको बैंक बन्न सफल भएको बैंकले जनाएको छ । त्यसैका कारण देशमा वित्तीय प्रणालीमा देखापरेको असहज परिस्थितिका बाबजुद आव ०७८/७९ सम्ममा एक खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ८६ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सफल रहेको बैंकको दाबी छ । अघिल्लो आवमा मात्र दुई लाख ५० हजारभन्दा बढी नयाँ ग्राहक बैंकिङ सेवामा आबद्ध गरी कुल १४ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ । त्यस्तै, आफ्ना ग्राहकहरूमध्ये ६ लाख ५० हजारभन्दा बढी ग्राहकलाई मोबाइल बैंकिङ सेवा, पाँच लाख ४५ हजारभन्दा बढी ग्राहकलाई डेबिट कार्ड सेवा र ३० हजारभन्दा बढी ग्राहकलाई क्रेडिट कार्ड सेवा प्रदान गरेको जनाइएको छ ।

बैंकले अहिलेसम्म आइएफसीद्वारा आयोजित १०औँ ग्लोबल ट्रेड अवार्डमा ‘बेस्ट अपरेसन बैंक इन साउथ एसिया २०२१, आइक्यानद्वारा आव २०२०/०२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ समेत प्राप्त गरेको जनाएको छ । हाल बैंकले देशभरमा चार एक्सटेन्सन काउन्टरसहित एक सय ९० शाखा, एक सय १७ शाखारहित बैंकिङ, एक हजार सात सयभन्दा बढी पिओएस मेसिन र २० हजारभन्दा बढी क्युआर मर्चेन्टमार्फत सेवा दिइहरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्