Logo
Logo

भ्रष्ट चोलेन्द्रलाई साथ दिने ओली कसरी असल ?



राजनीतिमा नैतिकताले ठूलो अर्थ राख्छ । राजनीतिमा लाग्नेहरु आफैँमा इमान्दार र नैतिकवान हुन सकेनन् भने देश कसरी बर्बाद हुन्छ भन्ने कुराको पछिल्लो उदाहरण बनेको छ, नेपाल ।

प्रसंग हो, चोलेन्द्रशम्शेर राणाको । राणामाथि फागुन १ गते संसद्मा महाअभियोग प्रस्ताव दर्ता भयो । प्रश्न उठ्ने गरेको छ, पाँच महिनासम्म उक्त प्रस्ताव संसद्मा किन थन्क्याइयो ?

त्यसको सोझो जवाफ हो, उक्त महाअभियोग संसद्बाट पास गर्न सत्ता गठबन्धनसँग दुईतिहाइ मत पुग्दैन । प्रमुख प्र्रतिपक्ष दल नेकपा एमाले महाअभियोग विफल बनाउन लागेको छ ।

राणा–ओली गठबन्धन यो संविधान र व्यवस्था ध्वस्त गर्न चाहन्थे । २०७७ पुस ५ गतेको संसद् विघटन पनि राणा–ओलीकै षड्यन्त्र थियो । त्यो षड्यन्त्र विफल भएपछि गुन तिर्न ओलीले राणाको नांगो संरक्षण गरेका छन् । यसको हिसाब किताब आगामी निर्वाचनमा जनताले गर्ने नै छन् ।

चोलेन्द्र-ओली गठबन्धन संविधान र व्यवस्था ध्वस्त पार्न बन्यो । पुस ५ को संसद् विघटन उनीहरुकै षड्यन्त्र थियो । त्यो षड्यन्त्र विफल भएपछि गुन तिर्न ओलीले चोलेन्द्रको नांगो संरक्षण गरिरहेका छन् ।

तर, विगतमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्दा संसदीय सुनुवाइ समितिमा राणाको विपक्षमा उभिएको एमाले, आफ्नो दुईतिहाइको सरकार हुँदा तिनै राणालाई कुन नैतिकताले प्रधानन्यायाधीश नियुक्त गरे भन्ने कुराले राजनीतिमा ठूलो अर्थ राख्छ ।

राणामाथिको महाअभियोग पास होला नहोला । त्यो अर्कै पाटो हो । तर, राणाजस्ता ‘भ्रष्ट’ व्यक्तिलाई जोगाउन हिँड्ने एमाले कस्तो पार्टी हो ? पुष्पलालले स्थापना गरेको, मदन भण्डारीले नीति, सिद्धान्त दिएको र मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टी केपी शर्मा ओलीसम्म आइपुग्दा यति साह्रो किन गन्हायो भन्दा ओलीमा नैतिकता नै देखिएन ।

राणा त त्यसै भ्रष्टाचारी, खराब आचरण र चरित्रहीन त भए त्यसलाई साथ दिने ओली कसरी असल भन्न मिल्छ ? राणाजस्ता व्यक्तिलाई ओलीले बोकेर हिँड्दा अरुले के भन्छ भन्ने लाजसमेत एमालेमा देखिएन ।

राणाको कारण सिंगो न्यायालय बदनाम भयो । त्यसलाई सुधार्नुपर्छ भनेर सिंगो बार आन्दोलनमा उत्रियो । सर्वोच्च अदालतका न्यायाधीशहरुले समेत बेन्च वहिष्कार गर्नुपर्ने अवस्था आयो । र, अन्तमा महाअभियोगबाट राणा किनारा लागे पनि ओलीको त्यान्द्रो समाएर जोगिने प्रयासमा छन् ।

यदि, एमाले न्यायालय सुधारको पक्षमा भएको भए उसले राणाजस्तो व्यक्ति होइन, न्यायालयभित्रका स्वच्छ, इमान्दार न्यायाधीशको पक्षमा उभिनु पथ्र्यो । तर, उल्टो संसद् पुनःस्थापना गर्ने न्यायाधीशहरुमाथि महाअभियोग लगाउनुपर्छ भन्दै ओली कुर्लिए । उनको यो शब्दले लोक हँसाउने काम गर्याे ।

एमालेलाई अझ पनि सच्चिने मौका छ । एमाले महाअभियोगको पक्षमा उभियो भने एमालेलाई जनताले ठिकै रहेछ भन्लान्, होइन राणाकै पक्षमा उभिए भने राणा त थन्किन्छन् नै एमालेले आफ्नो नैतिकबल गुमाउने छ ।

राजनीतिमा नैतिक बलको ठूलो भूमिका हुन्छ । जो नैतिकवान छन्, तिनीहरु मरेर पनि बाँच्छन्, जो अनैतिक छन् तिनीहरु बाँचेर पनि मरिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्