Logo
Logo

प्रधानसेनापति थापा शुक्रबार भारत भ्रमणमा जाने, रक्षामन्त्रीसँग पनि भेटवार्ता हुने




काठमाडौं, २६ पुस । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा बिहीबारदेखि भारत भ्रमणमा जाने भएका छन् ।
प्रधानसेनापतिको नियुक्ति पश्चात् पहिलो पटक हुन लागेको भारत भ्रमणको सिलसिलामा प्रधानसेनापति थापालाई मिति २०७५ पौष २८ गते भारतका राष्ट्रपति राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । दुवै देशका सेना प्रमुखहरुलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ ।

भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसंग भेटघाट गर्ने सेनाले जनाएको छ । साथै उनले भारत सरकारका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्नुहुने कार्यक्रम समेत रहेको छ ।
‘ यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र एक अर्को देशको सेनाका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने प्रचलनबाट नेपाली सेना र भारतीय सेनाबीच परम्परादेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउनुका साथै दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।,’ सेनाको बिज्ञप्तीमा भनिएको छ ।
थापा २ गते स्वदेश पर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्