Logo
Logo

छिङदाओमा हिमालयको कूटनीतिक चार्टर उडान



काठमाडौं । हिमालय एअरलाइन्स्ले चीनको छिङदाओ (सिङ्ताओ) मा विशेष कूटनीतिक चार्टर उडान गरेको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको ११ सदस्यीय प्रतिनिधिमण्डल लिएर गएको हिमालयको एअरबस बिहान छिङ्दाओ अवतरण गरेको हो । छिङदाओको २ दिने औपचारिक भ्रमणपछि टोली साउन २६ गते नेपाल फर्कने कार्यक्रम छ ।

कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुबै देशले लागु गरेका यात्रा प्रतिबन्ध पश्चात ठप्प भएको थियो । महामारी नियन्त्रण भएर जनजीवन सामान्यतातर्फ फर्किएपछि, हिमालयले २०२२ मे ३१ देखि चीनको कुनमिङमा हप्ताको एउटा उडान गर्दै आएको छ ।

काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्स्ले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर उडान गरेको हो । नेपाल–चीनको संयुक्त लगानीमा सन् २०१४ मा हिमालय एअरलाइन्स् को स्थापना भएको हो ।

हिमालयले स्थापनाको ७ वर्ष मै ४ वटा विमान, १८० इकोनोमी सीटसहितका ३ एअरबस र १४४ इकोनोमी सीटसहितको एउटा एअरबस सञ्चालनमा ल्याएको छ ।

युएई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत र बंगलादेशलगायतका देशमा यात्रुवाहक उडान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्