Logo
Logo

फोहोरै फोहोरको महानगर !



नेपाली फिल्म ‘लुट’मा एउटा डाइलग छ– ‘काठमाडौं सहर, हेर्दा लाग्छ रहर । … गिद्धैगिद्धको सहर ।’

धेरैको सपनाको सहर हो काठमाडौं, तर फोहोरको सहरमा परिणत हुँदै गएको छ । ‘लुट’को डाइलगलाई बङ्ग्याएर भन्न थालेका छन्– काठमाडौं सहर, हेर्दा लाग्छ रहर । फोहोरै फोहोरको सहर !

फोहोरको चोक ! फोहोर गल्ली ! फोहोरको बाटो ! फोहोरको सडक ! फोहोर बस्ती ! फोहोरकै महानगर इत्यादी ।

फोहोरको खेला ! फोहोरको नदी ! फोहोरको जंगल ! फोहोरको पहाड ! फोहोरकै हिमाल ! सबै फोहोरै फोहोर । दायाँ हेर्याे फोहोर ! बायाँ हेर्याे फोहोर ! अगाडि फर्के फोहोर ! पछाडि फर्के फोहोर ! जताततै फोहोरै फोहोर !

काठमाडौंबासीलाई फोहोरले दुःख दिएको वर्षौं भयो । करिब ७५ वर्ष अगाडि नै काठमाडौंमा फोहोरको समस्या थियो । नेपाल घुम्न आएका भारतीय बौद्धभिक्षु त्रिपिटकाचार्य धर्मरक्षितले आफ्नो किताब ‘नेपाल यात्रा’मा काठमाडौंसँगै फोहोरबारे वर्णन गरेका छन् ।

फोहोर समस्य बारम्बार दोहोरिरहन्छ । महानगर र फोहोरको लुकामारी चलिरहन्छ । फोहोरको डंगुरसँग जिस्किरहन्छ । काठमाडौं कुरूप भइरहन्छ । किस्ता किस्तामा समस्या झेलिरहनुपर्छ । फोहोर व्यवस्थापन धेरैका चुनावी एजेण्डा बन्यो । थुप्रै जनप्रतिनिधि आए । तर, फोहोर व्यवस्थापन कहिल्यै भएन ।

काठमाडौंमा बारम्बार बल्झिरहन्छ, फोहोर समस्या । अहिले फेरि बल्झिएको छ । अहिले फोहोर उठ्न बन्द छ । बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि काठमाडौं महानगरले फोहोर उठाउन छाडेको छ ।

फोहोर सडक किनारामा थुप्रिएको छ । जताततै फोहोरको डुँगुर । अझ वर्षाले थुपारेकै ठाउँमा कुहिन थालेको छ । दुर्गन्धित बन्दै छ संघीय राजधानी । नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ ।

यस्ता दृृश्य नौलो होइन । बारम्बार दोहोरिरहन्छ । महानगर र फोहोरको लुकामारी चलिरहन्छ । फोहोरको डंगुरसँग जिस्किरहन्छ । काठमाडौं कुरूप भइरहन्छ । काठमाडौंबासीले किस्ता किस्तामा समस्या झेलिरहन्छ ।

फोहोर व्यवस्थापनको नाममा राज्यले करोडौं लगानी गर्दै आएको छ । तर, जति लगानी गर्छ, उति विकराल बन्छ । फोहोरले जनस्वास्थ्यलाई जोखिममा पार्छ नै, काठमाडौंको सभ्यताको खिल्ली पनि उडाउँछ ।

फोहोर नउठ्दा महानगरका प्रतिनिधि हुल बाँधेर सिसडोल पुग्छन् । महानगरका प्रतिनिधि मात्र होइन, मन्त्रीको टोली पनि पुग्छन् । तर, पुग्नेबाहेक अरु पहलकदमी केही हुँदैन ।

काठमाडौंको फोहोरको व्यवस्थापन धेरैको चुनावी एजेण्डा बन्यो । थुप्रै जनप्रतिनिधि आए । तर, ‘जुनै जोगी आएपनि कानै चिरेको’ भन्छन्, त्यस्तै भयो फोहोर व्यवस्थापन । जति जनप्रतिधिनि फेरिएपनि फोहोरको व्यवस्थापन २० को १९ भएन ।

फोहोर व्यवस्थापनकै एजेण्डाले बालेन साह (बालेन्द्र) मेयर बने । उनको पहिलो एजेण्डा होे– फोहोर व्यवस्थापन ।

मेयर हुने पक्का भएपछि निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नहुँदै उनी सिसडोल र बन्चरेडाँडा पुगे । फोहोरको समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाए । समस्याको दीर्घकालीन समाधान नगरी जीतको उत्सव नमनाउने, खादा र माला नलाउने घोषणासमेत गरे ।

नगरपालिकाको पहिलो बोर्ड बैठकमा फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखे । फोहोर व्यवस्थापनका लागि दौडधुप गरे । प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग सहयोगको अपील गरे ।

तर, फोहोर व्यवस्थापनमा खासै उन्नति भएको पाइँदैन । सडकमा फोहोरको थुप्रो बढि नै रहेको छ । फोहोर व्यवस्थापन चुनौतीका चाङ ज्युँकात्यँु छ ।

बालेनलाई अहिले लागेको हुनसक्छ– बोलेजस्तो सजिलो हुँदैन रहेछ काम गर्न ! मेयर हुनुअघि फोहोर व्यवस्थापन सजिलो काम भएको भन्ने बालेनलाई फनफनी घुमाइदिएको छ ।

निर्वाचनअघि फोहोर व्यवस्थापन कुनै गाह्रो विषय नै नभएको उनी बताउँथे । तीन–चार महिनामै फोहोर व्यवस्थापन गर्न सकिने उनको दाबी थियो । तर, अहिलेको परिस्थितिले फोहोर व्यवस्थापन उनको चुनौतीको रुपमा खडा भएको छ ।

हुन त काठमाडौंको फोहोरको व्यवस्थापन दिगो रूपमा गर्छु भन्नेमा बालेन मात्रै पर्दैनन् । पहिलेका जनप्रतिनिधिहरूले पनि यसै भन्थे । तर, भने काम गर्न सकेनन् ।

मेयर बालेन केही समयअघि मात्रै फोहोर व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमसहित घरदैलो अभियानसमेत जुटे । स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरे ।

महानगरले साउन १ गतेबाट घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याउनको फोहोर नउठाउने भन्या । नछुट्याएको फोहोर नउठाउने मात्र होइन, नियम पालना नगर्नेलाई दण्ड जरिवानासमेत गर्ने चेतावनी दियो ।

महानगरले कुहिने र नकुहिने फोहोर उठाउने गाडी छुट्टाछुट्टै दिन पारेर आउँछ भनेको थियो । तर, अहिले फोहोर उठाउने गाडी आउन नै बन्द भएको छ ।

पहिलादेखि नै फोहोरको उचित व्यवस्थापन बहस विषय बन्दै आएको छ । काठमाडौको फोहोर व्यवस्थापन गर्ने विषयमा सन् १९७१ मा पहिलोपटक प्रयास भएको थियो ।

अझैपनि काठमाडौंको फोहोर समस्याले चाँडै पार पाउने देखिँदैन । बञ्चरेडाँडाको डम्पिङ साइट पूरा हुन धेरै समय नलागेपनि स्थानीय असन्तुष्ट छन् ।

गत जेठ १० र ११ गते प्रहरी परिचालन गरेर जबर्जस्ती फोहोर फाल्नले पनि विश्वास भताभुंग भएको छ । बञ्चरेडाँडा पनि सिसडोल जस्तै हुने हो कि भनेर स्थानीय सशंकित छन् ।

कयौंपटक फोहोर व्यवस्थापन बहसको विषय बन्यो । नियमहरू थुप्रै बनाइयो । तर, प्रभावकारी भएन । अहिले पनि काठमाडौंमा फोहोर व्यवस्थापन जटिल बनिरहेको छ ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने डेढ दशकअघिको योजना अलपत्र छ  । वि.स. २०६६ सालमा फोहोर उठाउने, प्रशोधन गर्ने, विद्युत्, निकाल्ने र सरकारलाई रोयल्टीसमेत तिर्ने गरी निजी क्षेत्र ल्याउन खोजिएको परियोजना अझै सम्झौता हुन सकेको छैन ।

फोहोरमैला सहरी जीवनशैलीको उपज हो । जताततै फोहोर थुप्रिएकाले संक्रामक रोग फैलन सक्छ । फोहोरको लिच्चड केहीगरी खानेपानीका पाइपमा पस्यो भने झाडापखला र हैजा फैलन सक्छ ।

अहिले धेरै देशले फोहोरलाई मोहर बनाइ रहेका छन् । नेपालमा पनि फोहोरलाई मोहर बनाउने भन्ने बहस भने नचलेको होइन । तर, यसले सार्थकता पाउन सकेको छैन ।

युरोपेली मुलुकहरूमा सकेसम्म कम फोहोर उत्पादन गर्ने र त्यो फोहोरलाई पुनः प्रयोग गर्ने विधि अपनाएको छ । तर, फेसन कपी गरेजस्तै उक्त संस्कार भने नेपालीले कपी गर्न सकेका छैनन् ।

फोहोर व्यवस्थापका लागि नागरिकले युरोपेली मुलुकमा जस्तै त्यसलाई आम्दानीको स्रोत बनाउन सके सबैभन्दा उत्तम हुने देखिन्छ । हामीले पनि यस्ता प्रयासहरू अनुशरण गर्नु जरुरी छ  ।

फोहोर व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी महानगरको मात्र होइन । हरेक नागरिकले यसका लागि आ–आफ्नोतर्फबाट जिम्मेवारीका साथ काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्