Logo
Logo

एनआरएनए यूके कोषाध्यक्ष फरार



लन्डन । एनआरएनए यूके कोषाध्यक्ष विष्णु खरेलले पैसा निकासा नगरिदिंदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली काटिएको छ । कोषाध्यक्ष खरेलले बील नतिरिदिंदा गत जुलाईदेखि अफिसमा बिजुली काटिएको हो ।

संघले झण्डै २५ सय पाउण्ड बील तिर्न बाँकी छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरलाई असफल तुल्याउन नियोजित तरिकाले संस्थाको पैसा ‘होल्ड’ गरिएको सुत्रको दावी छ ।

‘कोषाध्यक्ष संघको बैंक अकाउन्ट आफ्नै झैं गोजीमा राखेर गायब छ, यता अफिसमा पैसा नतिरेर बिजुली काटिएको छ’, एनआरएनए यूके अध्यक्ष गाहामगरले भने, ‘यस्तो लाजमर्दो स्थिति छ कि बेलायत जस्तो ठाउंमा बत्ति छैन् । मैले अहिले साथीको घरबाट एक्सटेन्सनमार्फत बत्ति ल्याएर काम गरिरहेको छु ।’

अध्यक्ष प्रेम गाहामगरले नेतृत्व सम्हालेको गत ६ अगष्टमा एक वर्ष पुरा भइ वार्षिक साधारणसभा समेत सम्पन्न भएको छ । एनआरएनए यूकेको विधान बमोजिम कोषाध्यक्षले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुपर्नेमा विष्णु खरेल उपस्थित भएनन् । उनले विधान विपरित विगत एक बर्षमा अहिलेसम्म एकपटक पनि संघको हिसावकिताव देखाएका छैनन् । बैंकको ठेगाना उनले आफ्नै घरको प्रयोग गरेका छन् ।

२५ जुन, २४ जुलाइ र ४ अगष्ट, २०२२ मा सम्पन्न संघको कार्यसमिति बैठकमा जिम्मेवारी प्रदान गरि ‘फलोअप’ हुंदा कोषाध्यक्ष खरेलले साधारणसभामा आयव्यय विवरण प्रस्तुत गर्ने वाचा गरेका थिए ।

उनले साधारणसभा हुने स्थान अल्डरसटस्थित एम्पायर हलका मालिक पुरन गिरीलाई फोन गरि आफ्नो सुरक्षाका लागि सेक्यूरिटी गार्ड राखिदिन अनुरोध गरेपछि ६३० पाउण्ड तिरेर ४ जना सेक्युरिटी गार्ड समेत हायर गरिएको थियो । तर, अन्तिम घडीमा उपाध्यक्ष नारायण कंडेलको उक्साहटमा विद्रोह गरि खरेल साधारणसभामा उपस्थित नै भएनन् ।

४ पटकका बैठकमा सहमति जनाएर पनि साधारणसभामा नआउने, प्रायोजकले दिएको ३७०० पाउन्ड समेत आँफैँ राख्ने अनि साधारणसभामा भएको खर्च पनि नतिरेर खरेलले गैर जिम्मेवारीपूर्ण काम गरेको एकजना एनआरएनए यूके पदाधिकारीले बताए ।

खरेलले च्यारिटी कमिसनको ‘कोड अफ कन्डक्ट’ विपरित र अध्यक्ष गाहामगरको जानकारी बिना विधानको धारा ३३ को उपधारा ३ विपरित एनआरएनए आइसीसीको नाममा ३९ हजार २८५ पाउण्ड ७३ पेन्स रकम नेपाल पठाएका थिए ।

बेलायतका पञ्जीकृत सदस्यहरुबाट संकलित रकम बिना सल्लाह नेपाल पठाएको, संघको आर्थिक हिसावकिताव पारदर्शी ढंगले नराखेको, अहिलेसम्म आयव्यय विवरण प्रस्तुत नगरेको र पदको दुरुपयोग गरि संघको बैंक खाता व्यक्तिगत रुपले प्रयोग गरिरहेको भन्दै साधारणसभाले कोषाध्यक्ष खरेललाई निलम्बन गरि नेपाल पठाएको पब्लिक फण्ड २८ दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ । उक्त रकम फिर्ता नभए कानूनी कारवाही गर्ने चेतावनी पनि संघको छ ।

आफूलाई बेलायतको अध्यागमन सल्लाहकार बताउने खरेलको विगत पृष्ठभूमि पनि आलोचित छ । उनीमाथि विगतमा वर्क परमिट मिलाइ दिने आश्वासन दिएर विद्यार्थी तथा डिपेन्डेन्टबाट मोटो रकम असुलेको तर काम नगरिदिएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्