Logo
Logo

प्रहरी हेडक्वार्टरमा रुवावासी



काठमाडौं । प्रहरी प्रधान कार्यालयमा आरामको जागिर खाने कर्मचारीको रुवावासी सुरु भएको छ । यस्ता कर्मचारीलाई फिल्डमा खटाउन थालिएको छ ।

प्रधान कार्यालयमा पाँच सय भन्दा धेरै कर्मचारी अनावश्यक छन् । १०–५ को जागिरकै लागि उनीहरु पावर लगाएर त्यहाँ बस्दै आएका छन् । त्यस्ता कर्मचारीलाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले लखेट्न थालेका छन् । हालै डेढ सय भन्दा धेरै त्यस्ता कर्मचारीलाई फिल्डमा पठाइएको महानिरीक्षकको सचिवालय स्रोत बताउँछ ।

त्यसमध्ये कतिपय काज मिलाएर हेडक्वार्टर बसेका थिए । प्रहरीमा जागिर खाएर फिल्डमा काम नै गर्न नचाहने प्रवृत्तिका कर्मचारीले मुख्यालय रोज्ने गरेका छन् । जहाँ उनीहरुको काम नै हुँदैन । १० बजे आउने चिया खाने र ५ नबज्दै घर दौडने कर्मचारीहरुको अब रुवाबासी सुरु भएको छ ।

फिल्डमा खटिनेहरु दिनमा १५ घन्टासम्म खटिनुपर्ने अवस्था छ । तर, केही कर्मचारीहरु भने फौजमा भर्ना हुने, रासनभत्ता समेत बुझ्ने अनि निजामतीको भन्दा आरामको जागिर छान्ने गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा तल्लो तह मात्र होइन उच्च तहका केही दरबन्दी पनि अनावश्यक छन् । डिएसपीले गर्ने काममा केही डिआइजी कार्यरत छन् । तर, उच्च तहका पद भने कटौती हुन सकेको छैन ।

प्रहरी महानिरीक्षककै सचिवालयमा समेत एसएसपी लगायतका कर्मचारी काजमा छन् । त्यसकारण यस्तो नियम तलदेखि माथिसम्म लागु हुनुपर्ने माग पनि हेडक्वार्टरमा उठेको छ । ‘केही वर्षाेदेखि कप्र र आर्थिक प्रशासनमा राज गर्दै आएका छन्,’ एक प्रहरी भन्छन्,‘उनीहरुलाई सुरुमा हटाउनु जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्