Logo
Logo

दशैँको मुखमा तस्करी



काठमाडौं । गृह मन्त्रालयबाटै ‘ग्रिन सिग्नल’ पाएपछि तराईका जिल्लाहरूमा तस्करीका लाइन खुलेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीहरू चुनावको मुखमा कांग्रेस नेतासँग मिलेर लाइन खुलाउन व्यस्त छन् ।

पर्सा, रुपन्देही, बाँके, नवलपरासी, सिराहा, सप्तरी, कपिलवस्तु, कैलालीलगायतका जिल्लामा सुरक्षा निकायको सेटिङमै तस्करीको लाइन खुलेको हो । जसमध्ये पर्सा, रुपन्देही र बाँकेमा ठूलो मात्रामा तस्करी भइरहेको र त्यसमा ठुलै तस्कर व्यापारीको संलग्नता रहेको स्रोत बताउँछ ।

पर्साका एसपी रमेश बस्नेत, बाँकेका श्यामकृष्ण अधिकारीको गृह मन्त्रालयसँग निकटता छ । सोही निकटताको प्रयोग गरी रातको समयमा उनीहरुले लाइन खोलेको स्रोतले बताएको छ । जसमा सशस्त्र प्रहरीलाई पनि सेटिङ मिलाइएको छ ।

यसरी ठूला जिल्लाबाट लाइन खुलेको थाहा पाएपछि अन्य जिल्लामा पनि विस्तारै मिलेमतोमा तस्करी सुरु हुन थालेको छ । दशैैंको मुखमा तराईमा यस्तो तस्करी हुने गरेको छ । अझै यो वर्ष चुनाव खर्च जुटाउन भन्दै कांग्रेस नेताहरू गृह मन्त्रालयलाई समेत दुरुपयोग गरी यस्तो धन्दामा लागेका छन् । जसकारण तराईका नाकाहरूमा प्रहरी मालामाल भएका छन् । यसमा प्रहरी नेतृत्वसमेत मुकदर्शक देखिएको छ ।

कैलालीका एसपी सोमेन्द्रसिंह राठौर पनि पछिल्लो समय विवादमा तानिएका छन् । सामान्य घटनामा सुन व्यापारीलाई विमानबाट पक्राउ गरी केही दिनमै छाडेको घटनाले पनि उनी विवादमा तानिएका हुन् । पर्सा, मकवानपुर हुँदै राठौर कांग्रेस नेताहरूको सेटिङमा कैलाली पुगेका हुन् । जसकारण कांग्रेस नेताहरूकै निर्देशनमा उनले तस्करीलगायत अवैध गतिविधिमा साथ दिएको आरोप लागेको छ ।

उता, पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेल जागिर जोगाउन शक्तिकेन्द्र धाइरहेका छन् । पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताको स्वार्थमा कवाडी व्यवसायीलाई लागुऔषध मुद्दामा फसाएको पुष्टि भएपछि उनको जागिर जाने सम्भावना देखिएको छ । तर, घटनामा संलग्न दुई जनालाई फरार बनाएर उनी अझै जिल्लामा बसिरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमार्फत आइजिपीलाई दबाब दिएर उनी कारबाहीबाट जोगिन खोजेको स्रोत बताउँछ । गाउँपालिका अध्यक्ष गुप्ताको प्रचण्डसँग निकटता भएकाले त्यही सम्बन्ध प्रयोग गरी यतीठूलो घटनालाई डिसमिस गराउन लागिएको हो । जसकारण यो घटनाले प्रहरीमा अब जे गर्दा पनि कारबाही हुँदैन भन्ने सन्देश गएको छ ।

यता, मोरङ र झापामा पनि सुपारी तस्करी सुरु भएको छ । सरकार नै यसमा मिलेकाले मोरङका एसपी शान्तिराज कोइराला तथा झापाका विश्वमणि पोखरेल सुपारी व्यापारीको प्रभावमा परेका छन् । यतिबेला तराईका सबैजसो जिल्लाका एसपीहरू रातारात करोडपति हुने धन्दामा लागेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । त्यसमा डिआइजीहरू सुदीप गिरी, मसउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहन आचार्य पनि यही मौकामा पैसा कमाएर सकेसम्म एआइजी हुने दाउमा लागेका छन् ।

तराईमा वर्षाैपछि सरकारकै मिलेमतोमा यसरी तस्करीको लाइन खुलेपछि भ्रष्ट प्रहरीमा खुशीयाली छाएको छ भने प्रहरीमा भ्रष्टाचार संस्थागत हुने जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्