
कोहलपुर । खेलकुदमन्त्री महेश्वर गहतराजले ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरीएको बताएका छन् ।
खेलकुद मन्त्रालयले खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि लागु गर्न लागेको मन्त्री गहतराजले बताए । राष्ट्रिय तेक्वान्दो संघले बाँकेको कोहलपुरमा संचालन गरेको दुई दिने प्रशिक्षक अभिमुखिकरण कार्यक्रममा उनले पुरस्कार कार्यविधि मार्फत सरकारले खेलाडीको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताए ।
राष्ट्रका लागि आफ्नो जिवनको उर्जावान समय खर्च गर्ने खेलाडीलाई राज्यले उचित सम्मान दिन नसकेको महशुस गरेर नै पुरस्कार कार्यविधि लागु गर्न लागिएको उनको भनाइ छ । मन्त्री गहतराजले खेलाडीलाई थप हौसला तथा प्रोत्साहनको खाँचो रहेको उल्लेख गरे ।
नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरि तेक्वान्दो प्रशिक्षकलाई अन्तर्राष्ट्रिय नियममा भएका परिवर्तनका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरीएको राष्ट्रिय तेक्वान्दो संघका केन्द्रिय सदस्य बुद्धी थापाले बताए ।











