Logo
Logo

मिथिला क्षेत्रमा चौरचन पर्व मनाइँदै



जनकपुरधाम । मिथिला क्षेत्रमा अत्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन (चौरचण्ठ) पर्व आज मनाइँदैछ । भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले बिशेष महत्वका साथ उक्त पर्व मनाउने गर्दछन् । यस वर्ष तिथि फरक भएपनि हरितालिका तीज र चौठचन पर्व आज एकै दिन परेको छ ।

सो पर्वका दिन पूजामा सहभागी हुने परिवारका एक जना महिला सदस्य दिनभरी उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको मैथिली अभियानी करुणा झाले जानकारी दिइन् । यस पर्वमा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा द्विप प्रज्ज्वलन गर्दै उपवास बसेको ब्रतालुले फलफूल र मिष्टानको परिकारलाई प्रसादको रुपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा छ ।

चन्द्रमाको पूजा हुने सो पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादको रुपमा राखेर चन्द्रमालाई पुजा गर्ने गरिन्छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यहरु प्रसाद ग्रहण गर्ने परम्परा रहेको अभियानी झाको भनाइ छ ।

तीज पर्व सम्पन्न भएसँगै शुरु हुने यस पर्वलाई मिथिलामा निकै आस्थाका रुपमा लिइन्छ । कृष्णजन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ । छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने यस पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने गरिन्छ ।

यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा (पिरुकिया) र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घारीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा रहेको मिथिला संस्कृतिका जानकार रामभरोसी कापडीले बताए ।

उनका अनुसार चौरचन पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व हो । ‘चौरचन पर्वमा न त कुनै भेदभाव हुन्छ, न त कुनै तामझाम हुन्छ’, उनले भने,‘यस पर्वमा स्थानीयस्तरमा उत्पादन हुने अधिकांश कृषिजन्य सामग्रीहरुको प्रयोग हुने गर्दछन् ।’

यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलंक (अपयश) लाग्ने हुनाले पूजा गरी अर्थात खाद्यान्न, फलफूल, दही आदिको अर्घय दिएर चन्द्रमाको त्यो अपयशबाट बच्न सकिने धार्मिक मान्यता रहेको छ ।

भगवान श्रीकृष्णलाई आजकै दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङक छुटेकोले यस पर्वको पौराणिक महत्व स्थापित भएको मिथिला संस्कृतिका जानकार पण्डित रामकुमार शास्त्रीले बताए । उनका अनुसार द्वापरयुगमा द्वारिकापुरीमा सत्रजित नामका व्यक्तिले भगवान सूर्यको आराधना गरी निकै उत्कृष्ट स्यमन्तक मणि प्राप्त गरेको कथा श्रीमद्भागवात पुराणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्