Logo
Logo
दस्तावेज

समाजवादी क्रान्तिको युग सुरु भयो- झलनाथ खनाल


झलनाथ खनाल


हामीले नेकपा (एमाले) को नेतृत्वमा रहेको ओली गुटका दक्षिणपन्थी अवसरवादी कार्यदिशा, विचार, नीति र व्यवहारका विरुद्ध विद्रोह गरेको एक वर्ष पुगेको छ । यो एक वर्ष नेपालको कम्युनिष्ट आन्दोलनको विकास र विस्तारको बाटोमा एउटा विशिष्ट वर्षका रुपमा रहेको छ । जतिवेला हामीले ओली गुटका विरुद्ध विद्रोह गर्यौँ, त्योभन्दा अघि नेपालको कम्युनिष्ट आन्दोलन आफ्नो विकासको सर्वोच्च उचाइमा पुगेको थियो ।

०६२ ‐०६३ को जनक्रान्ति पछि हामीले १० वर्ष लगाएर नयाँ संविधान बनाएका थियौं । त्यो संविधान निर्माण गर्न कम्युनिष्ट आन्दोलनकै निर्णायक भूमिका रहेको थियो । उक्त संविधान घोषणा भएपछि आयोजना भएको तीन वटै तहको पहिलो निर्वाचनमा नेपाली कम्युनिष्ट आन्दोलनले आशातित सफलता हासिल गरेको थियो ।

संघीय संसदमा नेकपाको करिब दुईतिहाइ बहुमत, ६ वटा प्रदेश सभामा नेकपाकै बहुमतको सरकार र स्थानीय तहमा ६० प्रतिशतभन्दा बढी नेकपाको प्रतिनिधिहरूको विजय वास्तवमा नेपाली कम्युनिष्ट आन्दोलनको अभूतपूर्व विजय थियो, असाधारण विजय थियो र नेपाली जनताले कम्युनिष्ट पार्टीप्रति गरेको अगाध विश्वासको अनुपम उदाहरण पनि थियो ।

त्यस्तो विजयपछि बनेको सरकारको नेतृत्व गर्ने अवसर एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई प्राप्त भएको थियो । त्यो असाधारण अभूतपूर्व अवसर थियो । त्यो सरकारले नेपाली कम्युनिष्ट आन्दोलनले सन् १९५० देखि नै उठाउँदै आएका जनता र राष्ट्रका आधारभूत महत्वका सवालहरुलाई केन्द्रबिन्दुमा राखेर मुलुकको सामाजिक‐आर्थिक रुपान्तरणको प्रक्रियालाई अघि बढाउन जरुरी थियो ।

मुलुकलाई पार्टीको लक्ष्य अनुरूप समाजवादको दिशामा अघि बढाउन सकिन्थ्यो । तर, पहिलेदेखि नै दक्षिणपन्थी अवसरवादतिर उन्मुख ओलीको सरकार एकलौटी सत्ता प्राप्त भएपछि दक्षिणपन्थी अवसरवादको दलदलतिर भासिदै गयो । त्यसको परिणामस्वरूप हामीले ऐतिहासिक विद्रोह गर्नुपर्यो । हामीले उक्त विद्रोह गरेर एक वर्ष अघि ०९ भदौ २०७८ मा पार्टी पुनर्गठन गरेका थियौँ ।

एक वर्षको समीक्षा
हामीले दक्षिणपन्थी अवसरवादी र नेतृत्वविरुद्ध विद्रोह गर्ने आँट गर्यौँँ । त्यो एउटा महत्वपूर्ण पहलकदमी थियो । हामीले स्वतन्त्र रुपले पाटी निर्माण गर्ने पहलकदमी लियौं र एउटा नयाँ क्रान्तिकारी कम्युनिष्ट पार्टी स्थापना गर्ने ऐतिहासिक प्रकृयालाई अघि बढायौँ । हामीले जनवादी क्रान्ति सम्पन्न भएर देश समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगमा प्रवेश गरेको कुरालाई सिंगो राष्ट्रले थाहा पाउने गरी घोषित गर्यौँँ ।

हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य, बाटो र बिधि विधानहरुलाई क्रमशः व्यवस्थित गर्दै ल्याएका छौँ । र, त्यस बारेमा क्रान्तिकारीहरूको बढ्दो पंक्ति स्पष्ट हुँदै गएको छ । हामीले उक्त कार्यदिशा, नीति र सिद्धान्तका आधारमा नयाँ क्रान्तिकारी पार्टी संगठनलाई देशव्यापी र प्रवासमा समेत फैलाउदै लगेका छौँ । र, एउटा नयाँ क्रान्तिकारी शक्तिको विकास भइरहेको छ ।

एकीकृत समाजवादीलाई वर्ग आधारित र जनआधारित पार्टीका रmपमा र एउटा सच्चा क्रान्तिकारी पार्टीका रुपमा विकास गर्ने, वैचारिक, सैद्धान्तिक र राजनीतिक आधारहरू निर्माण गर्दै लगेका छौं ।

आजको पुँजीवादी समाजमा दलाल पुँजीपति वर्ग, राष्ट्रिय पुँजीपति वर्ग, निम्न पूँजीपति वर्ग, किसान जन समुदाय र आधुनिक श्रमिक वर्ग जस्ता पाँच वटा प्रमुख सामाजिक–आर्थिक वर्गहरू रहेका छन भन्ने विश्लेषणलाई प्रष्ट रूपले अघि सारेका छौं । र, हामीले वर्तमान नेपाली समाजको वर्गीय संरचनाको प्रष्ट चित्र अघि सार्न सकेका छौँ ।

ती वर्गहरू मध्ये यतिबेला दलाल पुँजीवासँग अन्य सबै वर्गहरू तथा व्यापक जनसमुदायको वर्गीय अन्तरविरोध नेपाली समाजको प्रधान अन्तर्विरोध हो भन्ने कुरालाई हामीले किटानीसाथ अघि सारेका छौँ ।

नेपाली समाजमा पुँजीवादी जनवादी क्रान्तिको युग सिद्धियो । पुँजीवादी जनवादी कार्यक्रमहरूको युग पनि सिद्धियो । तदनुरुप ऐतिहासिक कार्यक्रमहरू नयाँ जनवाद, जनताको जनवाद, राष्ट्रिय जनवाद, नौलो जनवाद र जनताको बहुदलीय जनवादको युग पनि सद्धियो ।

अब हामी समाजवादी क्रान्तिको युगमा प्रवेश गरेको हुनाले हाम्रो अबको कार्यक्रम एकमात्र समाजवादी कार्यक्रम हो भन्ने कुरालाई पनि प्रष्ट रूपमा अघि सारेका छौं । नेपालमा स्थापना हुने समाजवादको आफ्नै बिशिष्ठता हुनेछ । हामीले स्थापना गर्ने समाजवाद नेपाली विशेषता अनुरुपको समाजवाद हुनेछ र त्यसले नेपाली जनता र राष्ट्रलाई सुख र समृद्धितिर लानेछ भन्ने कुरालाई पनि सिद्धान्ततः हामीले प्रष्ट रुपले अघि सारेका छौं ।

नेपाली समाजवादले आजको पुँजीवादी जनवादलाई ऐतिहासिक रुपले विस्तापित गर्नेछ र मुलुकमा लोकतन्त्रको सर्वोच्च रुप समाजवादी लोकतन्त्रको स्थापना गर्नेछ भन्ने कुरालाई पनि हामीले प्रष्ट रुपले अघि सारेका छौँ । त्यो समाजवादी लोकतन्त्र आजको पुँजीवादी लोकतन्त्र भन्दा हर मानेमा समुन्नत र श्रेष्ठ हुनेछ ।

त्यसले आम श्रमिक जनतालाई राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक, मौलिक र बालिक मताधिकारसहित सबै प्रकारका हक र अधिकारले सुसज्जित गर्नेछ । त्यो समस्त श्रमिक जनताको लोकतन्त्रका रुपमा तथा समाजवादी लोकतन्त्रका रुपमा नेपाली समाजमा स्थापित हुनेछ ।

एमालेसँगको विद्रोह अहिले पनि जारी छ । भर्खरै पाल्पामा कमरेड अशोक शाहीको नेतृत्वमा भएको विद्रोह त्यसैको पछिल्लो कडी हो । देशभरि यस्ता विद्रोहहरू भइरहेका छन् । अझै विद्रोहहरू हुँदै जानेछन् ।

नेपालका हामी कम्युनिष्टहरूले पुँजीवादी जनवादी क्रान्ति सफलतापूर्वक सम्पन्न गरेका छौं । तर, अब समाजवादी क्रान्तिलाई अघि बढाउने बाटो के हो ? त्यसका लागि हामीले अवलम्बन गर्नुपर्ने सहि कार्यदिशा, नीति र सिद्धान्त के हुन ? अब हामी त्यता लाग्नुपर्छ ।

एमाले नेतृत्वमा रहेको ओली गुटमा दक्षिणपन्थी अवरवाद झनझन घनीभूत भइरहेको छ । त्यसले समाजवादी क्रान्तिको बाटोमा ठूला भ्रम सिर्जना गरिरहेको छ । त्यो भ्रमलाई वैचारिक, राजनीतिक र सैद्धान्तिक रुपले जति गहिरो र धारिलो ढंगले चिर्न सकिन्छ । एमालेभित्र विद्रोह त्यति नै विस्तृत र व्यापक बन्दै जान्छ । यो वैचारिक पुर्नगठन र रूपान्तरणको प्रक्रिया हो । यसलाइ कसैले पनि रोक्न सक्दैन ।

हामीले के कुरा बुझ्नुपर्छ भने, कम्युनिष्ट आन्दोलन भित्रको वैचारिक संघर्ष भनेको समाजमा चलिरहेको वर्गसंघर्षको सोझो प्रतिबिम्ब हो । यतिबेला ओली गुटका विरुद्ध चलिरहेको दक्षिणपन्थी अवसरवाद विरोधी संघर्ष भनेको समाजमा दलाल पुँजीवादका विरुद्ध चलिरहेको जनताको संघर्षको प्रतिबिम्ब हो । त्यसैले आजको दक्षिणपन्थी अवसरवाद विरोधी सर्घष सोझै दलाल पुँजीवाद विरोधी, सम्राज्यवाद, प्रभुत्ववाद विरोधी सघर्षसँग जोडिएको छ ।

त्यो संघर्षलाई हामीले बडो जिम्मेवारीपूर्वक सञ्चालन गर्न सक्नुपर्छ । त्यसका निम्ति हामीले गाली‐गलौजमा उत्रेर होइन, नीतिहिन आलोचना गरेर पनि होइन, व्यक्तिगत वा समूहगत आरोप–प्रत्यारोप गरेर पनि होइन, पानी बाराबारको नीति लिएर पनि होइन, बदलाको भावना लिएर त झनै होइन । कम्युनिष्ट आन्दोलनभित्र चल्ने बहस, विवाद, वैचारिक, सैद्धान्तिक, संघर्षहरू जहिले पनि नीतिनिष्ट, सिद्धान्तनिष्ठ र विधिनिष्ट ढंगले सञ्चालन गर्नुपर्छ । तर, त्यो संघर्षलाई अत्यन्त दृढतापूर्वक र धारिलो ढंगले सञ्चालन गर्नुपर्छ । हामीले दक्षिणपन्थी अवसरवादलाई वैचारिक रुपले, राजनीतिक रुपले, सैद्धान्तिक रुपले, दार्शनिक रुपले, सांस्कृतिक रुपले, ऐतिहासिक रुपले र हर दृष्टिले खण्डन गर्न सक्नुपर्छ ।

त्यो खण्डन शत्रुतापूर्ण वा व्यक्तिलाई वा समूहलाई निषेध गर्ने ढंगले होइन दक्षिणपन्थी अवसरवादलाई निषेध गर्ने तर, व्यक्ति वा समूहलाई रुपान्तरण गर्ने उद्देश्यबाट सञ्चालन गर्न सक्नुपर्छ । तब मात्र बैचारिक संघर्ष, विद्रोह आदिले अपेक्षित नतिजा प्राप्त गर्न वा वैचारिक रुपान्तरण सिर्जना गर्न सक्छ ।

पुनर्गठनको दोस्रो वर्षमा के गर्ने ?
हामीले विगत एक वर्षमा पार्टी निर्माण, विकास, विस्तार र समुन्नतिका क्षेत्रमा प्राप्त भएका अनुभवहरूको समग्र रूपमा समीक्षा गर्नुपर्छ । र, त्यसभित्रका नकारात्मक पक्षहरूबाट शिक्षा लिनुपर्छ र सकारात्मक अनुभवहरुलाई अझ सशक्त रुपले अघि बढाउनुपर्छ ।

हामीले पुँजीवादी‐जनवादी क्रान्ति सम्पन्न भएपछि मुलुकमा विकसित भएको ठोस सामाजिक–आर्थिक परिस्थिति, बदलिएको समाजको वर्गीय स्थिति, अन्तरविरोधहरूको स्थिति र समाजवादी क्रान्तिको प्रकृयाका बारेमा हाम्रो अध्ययनलाई अझ गहन र गहिरो बनाउनुपर्छ ।

अध्ययनसँग माक्र्सवाद‐लेनिनवादका आधारभुत सिद्धान्तहरूलाई गाँस्दै नेपाली समाजवादी क्रान्ति र रूपान्तरणका क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य, बाटो र बिधि बिधानहरू सिर्जनात्मक रुपले अझ विकास, व्यवस्थित र समृद्ध बनाउनुपर्छ ।

पार्टीको संगठनात्मक सञ्जाललाई देशव्यापी रुपमा र प्रवासमा अझ ठोस योजनाका साथ विस्तार गर्नुपर्छ । त्यसलाई देशका सबै प्रदेश र जिल्लामा मात्र होइन प्रत्येक पालिका, वडा, गाउँ, टोल र बस्तीहरुमा समेत विस्तार गर्नुपर्छ । पार्टीलाई बिस्तार गर्ने काममा पार्टी केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका सम्पूर्ण सदस्यहरू आ–आफ्नो भूगोलमा सक्रियताका साथ अघि बढ्नुपर्छ ।

प्रत्येक सदस्यले सक्रियता देखाउनुपर्छ । जनताका बीचमा योजनाबद्ध रूपले जानुपर्छ, जनतासँगका सम्बन्धहरूलाई घनिष्ठ बनाउनुपर्छ, जनआधारलाई फराकिलो बनाउनु पर्छ । र, जन आधारित क्रान्तिकारी पार्टीलाई तिब्रताका साथ विस्तार गर्नुपर्छ ।

पार्टी संगठनको विकासलाई हरेक प्रकारले वर्ग आधारित बनाउँदै लानुपर्छ । हामीले सहरी क्षेत्रमा श्रमजीवि वर्ग, निम्न पुँजीपति वर्गका व्यापक जनसमुदाय भित्र केन्द्रित गर्नुपर्छ भने ग्रामीण किसान जनताका बीचमा विशेष गरेर भूमिहीन र गरिब किसान, मध्यम किसानका विचमा पार्टी निर्माण प्रक्रियालाई केन्द्रित गर्नुपर्छ ।

शहरी क्षेत्र र ग्रामीण क्षेत्र बीचको काममा पनि हामीले ग्रामीण जनताबीचको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ । तब मात्र एउटा वर्ग आधारित क्रान्तिकारी कम्युनिष्ट पार्टीको विकास अनिवार्य हुन्छ ।

पार्टी निर्माणको प्रक्रियालाई अघि बढाइरहँदा दक्षिणपन्थी अवसरवाद विरोधी संघर्षलाई अझ गहिरो र सशक्त बनाउनुपर्छ । ओली गुटको दक्षिणपन्थी अवसरवाद भनेको के हो ? त्यसको उत्पत्तिका कारण के हुन् ? त्यसका ठोस अभिव्यक्तिहरू कस्ता छन् ? त्यसले ल्याउने परिणाम के हुनेछन ? भन्ने बारेमा गहन विश्लेषण गर्नुपर्छ । र, दक्षिणपन्थी अवसरवादलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठानात्मक, दार्शनिक, सांस्कृतिक र ऐतिहासिक हर हिसाबले गहिरो खण्डन र आलोचना गर्नुपर्छ । कम्युनिष्ट आन्दोलनलाई त्यो दक्षिणपन्थी अवसरवादका सम्पूर्ण तुषहरूबाट समेत मुक्त पार्नुपर्छ ।

चुनावी अभियानमा के–के गर्ने ?
प्रथमतः हाम्रो पार्टीले गरेको विद्रोहको आवश्यकता र औचित्यलाइ अझ उचाइ र व्यापक परिधिबाट पुष्टि गर्ने ।
दोस्रो, हाम्रो पार्टीका क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तहरुको व्यापक रुपले प्रचारप्रसार गर्ने ।

तेस्रो, हाम्रो पार्टीका झण्डा र चुनावचिन्ह कलमलाई देशव्यापी रुपमा लोकप्रिय बनाउने ।

चौथो, यहि अभियानका दौरानमा पार्टीका संगठानात्मक इकाईहरूलाई प्रत्येक पालिका, वडाहरू, टोलहरू, गाउँहरू र बस्तीहरूसम्म व्यापक बनाउने ।

पाचौं, पार्टीका वरिपरि रहेका जनवर्गीय संगठनका इकाईहरूलाई पनि देशव्यापी रुपमा विस्तार गर्ने ।

छैटौँ, पार्टीका वरिपरि समाजवादका पक्षमा लाखौँलाख जनताको क्रान्तिकारी जनमत निर्माण गर्ने ।

सातौं, हाम्रो पार्टीका पक्षमा सबै संघीय र प्रादेशिक निर्वाचन क्षेत्रहरूमा बलियो जनआधार निर्माण गर्ने र पार्टी पक्षधर उम्मेदवारहरूको पंक्ति निर्माण गर्ने ।

आठौं, आउने चुनावमा पार्टी र क्रान्तिको हित अनुरुप संघीय र प्रादेशिक संसदमा हाम्रो पार्टीका क्रान्तिकारी समाजवादी सांसद्हरूको बलियो समूह विकास गर्ने ।

नवौँ, त्यो समूहमार्फत संसदीय संघर्षलाई समाजवादको निम्ति वैचारिक‐राजनीतिक आधार तयार पार्ने र विकास निर्माणलाई जनता र राष्ट्रको हित अनुकूल अघि बढाउने ।

चुनावी अभियानलाई सफल पार्न पार्टी शक्तिलाई राष्ट्रव्यापी रुपमा परिचालन गर्नुपर्छ । ती उद्देश्य प्राप्तिका निम्ति पार्टीको हितलाई सर्वोपरि राखेर अन्य राजनीतिक पार्टीहरूसँग तालमेलका कामहरूलाई अघि बढाउनुपर्छ । यतिबेला सबै पार्टीहरू तालमेलका पक्षमा छन् । उनीहरू सबै एक वा अर्को रूपमा तालमेल गर्न प्रयत्नशिल छन् ।

हाम्रो पार्टीले देश, जनता र राष्ट्रको हित तथा समाजवादी क्रान्ति र रुपान्तरणको हितलाई ध्यानमा राखेर तालमेलका कार्यलाई अघि बढाउनुपर्छ र संघीय तथा प्रादेशिक संसदमा पार्टीको सशक्त विजयलाई सुनिश्चित गर्नुपर्छ ।

हामी के कुरामा स्पष्ट हुनुपर्छ भने चुनावी अभियान मुलुकमा आवधिक रुपले आइरहने अस्थायी परिघटनाहरू हुन् । ती प्रक्रियाहरुलाई क्रान्तिकारी ढंगले उपयोग गर्दै आफ्ना कार्यनीतिक लक्ष्यहरू प्राप्त गर्नुपर्छ । र, आम रूपले ती कार्यनीतिक लक्ष्यहरूलाई पनि पार्टी र क्रान्तिको रणनीति लक्ष्य‐समाजवाद प्राप्त गर्ने दिशातिर अग्रसर बनाउनुपर्छ ।

त्यसरी मात्र हामीहरू क्रान्तिकारी संसदवादको कार्यनीति प्रयोग गर्दै समाजवाद प्राप्तीको दिशातिर तथा आम जनता र राष्ट्रलाई अगुवाई गर्न सक्छौं ।

एकीकरण र सुदृढीकरण अभियान
हामी हाम्रो पार्टीलाई एउटा क्रान्तिकारी माक्र्सवादी‐लेनिनवादी पार्टीका रुपमा विकास, विस्तार, एकीकरण र सुदृढीकरण गर्न प्रयत्नशील छौँ । पार्टी निर्माणको मुख्य कडी भनेको विचारधारात्मक रुपान्तरण हो । मुलुकमा वैचारिक रुपान्तरणको लहर सिर्जना नगरी पार्टी निर्माणमा गति पैदा हुँदैन ।

त्यसका निम्ति हाम्रो पार्टीले नेपाली कम्युनिष्ट आन्दोलनमा अझै पनि जमेर बसेको दक्षिणपन्थी अवसरवादका विरुद्ध देशव्यापी रुपमा वैचारिक‐सैद्धान्तिक संघर्षको एउटा आधीबेहेरी सिर्जना गर्नुपर्छ । दक्षिणपन्थी अवसरवादले सिर्जना गरेको वैचारिक तुहालो छ्याल्लब्याल्ल पार्नुपर्छ र क्रान्तिकारी अग्रगतिको क्षितिजलाई उधाङ्गो र छ्याङ्ग बनाउनुपर्छ ।

तब मात्र दक्षिणपंथी अवसरवादले ग्रस्त गरेका अन्य समूहभित्र उथलपुथल मच्चिन्छ, बैचारिक रुपान्तरणको प्रक्रियाले गति लिन्छ, त्यहाँभित्र रहेका असल क्रान्तिकारीहरूका आँखा खुल्छन र उनीहरू एकपछि अर्को विद्रोहका श्रृंखलाहरू सृष्टि गर्दै पार्टी एकीकरणको दिशातिर अघि बढ्छन ।

यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन करिब एक दर्जन समूहमा विभाजित छ । ती प्रत्येक समूहका नेतृत्वमा एक वा अर्को वैचारिक समस्याहरू छन् । तर, ती सबैजसो समूहका आम कार्यकर्ताहरू सहि क्रान्तिकारी कार्यदिशाका आधारमा एकतावद्ध, सशक्त र एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्न चाहन्छन् । यो आम कम्युनिष्ट कार्यकर्ताहरूको चाहना हो । यो आम नेपाली जनताको पनि चाहना हो ।

आज जनता र आम कम्युनिष्ट कार्यकर्ताहरूको यो चाहनालाई अगुवाई गर्ने ऐतिहासिक जिम्मेवारी काँधमा लिन हाम्रो पार्टी तयार हुनुपर्छ । ठूलो सख्यामा कम्युनिष्ट क्रान्तिकारीहरू हाम्रो गतिविधि नियालिरहेका छन् । त्यसैले हामीले समाजवादी क्रान्ति र रूपान्तरणका सहि कार्यदिशा, नीति र सिद्धान्तका आधारमा वैचारिक‐सैद्धान्तिक संघर्षको आँधीबेहेरी सिर्जना गर्दै अघि बढ्नुपर्छ । त्यसले सिङ्गो कम्युनिष्ट आन्दोलनमा वैचारिक उथलपुथल, पुनर्गठन, पुनर्विचार, पुनः एकता, पुनः एकीकरण र एउटा एकीकृत सशक्त कम्युनिष्ट पार्टी निर्माणको दिशातिर हामी सबैलाई अग्रसर पार्नेछ ।

(पार्टी पुनर्गठन दिवसको अवसरमा सम्मानित नेता झलनाथ खनालद्वारा प्रस्तुत घारणा ।)

प्रतिक्रिया दिनुहोस्