Logo
Logo

बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने


1.3k
Shares

एजेन्सी । बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । भारत सरकारले आगामी सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय शुक्रबार गरेको अधिकारीहरुले जनाएका छन् ।

‘उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ’, भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

शोक मनाउने दिन भारतभर र विदेशस्थीत भारतीय कार्यालयहरुमा भारतीय झण्डा आधा झुकाउने र त्यस दिन कुनै सरकारी कार्यालयको काम नगर्ने मन्त्रालयले जनाएको छ ।

भारतका प्रधानमन्त्री र विदेश मन्त्रीले भने उनको निधनप्रति यसअघि नै शोक वक्तव्य प्रकाशित गरेका थिए । प्रधानमन्त्री मोदीले बेलायती महारानीलाई प्रेरणादायी नेतृत्वको रुपमा स्मरण गरेका छन् । उनले प्रकाशित गरेको शोक वक्तव्यमा महारानीको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूति व्यक्त गरिएको छ ।

सन् २०१५ र सन् २०१८ मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजाबेथ द्वितीयलाई भेटेको स्मरण पनि उनले गरेका छन् । ‘उहाँको त्यो आत्मियता, स्नेह र अभिभावकत्व मैले कहिले भुल्न सक्दिन’, प्रधानमन्त्री मोदीले लेखेका छन् ।

उनको निधनप्रति विश्वका अन्य देशका नेताहरुले पनि शोक व्यक्त गर्नुभएको छ भने अन्य देशहरुले पनि शोक मनाउने निर्णय गरेका छन् ।

बेलायतको इतिहासमा सबैभन्दा धेरै समय राजगद्दीमा रहनुभएकी महारानी एलिजाबेथ द्वितीयको गत बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो । उनले बेलायतको रानीको रुपमा ७० बर्षभन्दा बढी समय भूमिका निर्वाह गरेका थिए । उनको निधनसँगै उनका छोरा चार्ज तृतीय बेलायतको राजा बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्