
१. मिटरब्याज पीडित धेरै परिवारले वैदेशिक रोजगारीका लागि चर्को व्याजमा ऋण लिने गरेको गृह मन्त्रालयले गठन गरेको मिटरब्याजी अपराध नियन्त्रण कार्यदलको निष्कर्ष, वैदेशिक रोजगारीमा जानका लागि रकम चाहिएको र बैंक तथा वित्तीय संस्थाले मासिक आम्दानी खोज्ने भएकाले ऋण लिन मिटरब्याजी कहाँ पुग्नु परेको प्रतिवेदन, विदेश जानेहरूलाई सरकारले नै सहुलियतपूर्ण ऋण दिनुपर्ने कार्यदलको सुझाव ।
२. डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि सबै क्षेत्रका कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह, बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने हुनाले जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न सुझाव, लामखुट्टेको टोकाइबाट जोगिनु नै डेङ्गु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय रहेको मन्त्रालयको भनाइ ।
३. चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सु नेपालको औपचारिक भ्रमणमा, भ्रमणको पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता, नेपालको संघीय संसद् र चीनको राष्ट्रिय जनकंग्रेसबीच द्विपक्षीय सहकार्य गर्ने विषयमा सम्झौता, तीन दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री तथा राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम ।
४. सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको अस्वभाविक अडानका कारण सिट बाँडफाँट अझै अन्योलमा, सिट बाँडफाँटका लागि आइतबार दिनभर छलफल भएतापनि सहमति जुट्न सकेन, सोमबार बस्ने बैठकले सिट बाँडफाँट टुङ्गो लगाउनेमा नेताहरू विश्वस्त ।
५. निर्वाचन आचारसंहितालाई सत्तामा हुँदा एउटा नहुँदा अर्काे ढङ्गले नबुझिदिन राजनीतिक दलका नेतासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको आग्रह, निर्वाचन आचारसंहिताको प्रावधान सत्तामा हुँदा र नहुँदा बुझाइ र कार्यान्वयनमा एकै खाले अडान हुनुपर्नेमा जोड, राजनीतिक दलले इमानदारीपूर्वक आचारसंहिता पालना गरे शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास ।
६. आगामी निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दाबी, आफ्नो नेतृत्वमा नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने आश्वासन, मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेले अत्यधिक बहुमत ल्याउने विश्वास ।
७. नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार प्लान्टबाट २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो, विभिन्न सात ब्लकमा स्थापना गरिएका सौर्य प्लान्टबाट सुरु भएको परीक्षण उत्पादन सफल ठहरियो, मौसम अनुकूल भएको समयमा २५ मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुँदै ।
८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको ओरालो यात्रा जारी, नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५४ अङ्कले ओरालो लागेर १ हजार ९ सय १२ दशमलव ७४ अंकमा सीमित, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ३९ अङ्कले ओरालो लागेर ३ सय ७२ दशमलव ३४ अङ्क कायम ।
९. महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालको लगातार दोस्रो जित, श्रीलंकालाई ६–० गोलअन्तर पराजित गर्दै सेमिफाइनल प्रवेश, भारत र बंगलादेशबीच हुने समूह चरणको खेलको नजितापछि मात्र नेपाल र भुटानका सेमिफाइनलका प्रतिद्वन्द्वी टिम टुंगो लाग्ने ।
१०. श्रीलङ्का सरकारले डुङ्गामार्फत अवैध रूपमा मानिसहरूलाई विदेश पठाउने मानव तस्करहरूमाथि कडा कारबाही थाल्यो, डुङ्गामार्फत अवैध रूपमा अष्ट्रेलियामा मानव तस्करी गर्ने पाँच जना पक्राउ, प्रारम्भिक अनुसन्धानमा उनीहरूले डुङ्गाबाट अवैध रूपमा अस्ट्रेलिया लगेबापत प्रतिव्यक्ति करिब ४ हजार २०० अमेरिकी डलर लिने गरेको खुलासा ।