Logo
Logo

भोलिदेखि रामपुर महोत्सव, रामपुर महोत्सवको तयारी पूरा



पाल्पा । भोलि शुक्रबारदेखि पाल्पाको रामपुरमा हुन लागेको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको मेलाको तयारीको काम सबै अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । सङ्घको भवन निर्माण, संस्थागत विकास, आर्थिक सहयोग सङ्कलन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । 

पाल्पाको रामपुरमा शुक्रबारदेखि शुरु हुने दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको पूर्वसन्ध्यामा बिहीबार महोत्सव परिसरमा सरसफाई गरिँदै । तस्बिर : रासस

मेलामा रामपुरलगायत कालीगण्डकी बेँसी क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार, स्थानीय उत्पादन, कृषि, घरेलु उत्पादनलाई प्राथमिकता दिने मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घ रामपुरका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिए ।

मेलाका अवधिभर राम्दीदेखि केलादीधाम र केलादीधामदेखि पुट्टारघाटसम्म कालीगण्डकीमा जलयात्रा, कालीगण्डकीसँग जोडिएका रानीमहल, केलादीधाम, पुर्कोट, सत्यवती, गह«ौसुर, रम्भादेवी मन्दिर, रामघाट, सीताकुण्ड, झिरुवासको कबुलियती वन, नवलपुरको डेढगाउँमा रहेको अकलादेवीको मन्दिरलगायत आसपासका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको हेलिकप्टरबाट अवलोकन गर्ने व्यवस्था, प्याराग्लाइडिङ् उडान मेलाका मुख्य आकर्षका रुपमा रहने अध्यक्ष ढकालले बताए । मेला अवधिभर दश करोडभन्दा बढी कारोवार गर्ने र तीन लाखभन्दा बढी दर्शक भित्र्याउने सङ्घको लक्ष्य रहेको छ । मेला माघ ८ गतेसम्म चल्नेछ ।

दलित, जनजाति बालबालिकालाई शैक्षिक सहयोग

पूर्वखोला गाउँपालिका–१ सिलुवा पाल्पाले वडामा रहेका दलित, जनजाति परिवारका बालबालिकालाई शैक्षिक सहयोग गरेको छ । पठनपाठनमा सहयोगस्वरुप वडाले वडाभित्र बसोबास गर्ने ७६ बालबालिकालाई छात्रवृत्ति, स्कुल पोशाक र झोला सहयोग गरेको हो । दलित, जनजाति बालबालिकालाई गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले छात्रवृत्ति, स्कुल पोशाक र झोला वितरण गर्दै नियमित विद्यालय जान बालबालिका र अभिभावकलाई अनुरोध गरे ।

आर्थिक अभावमा अझैपनि गाउँघरमा दलित, जनजाति परिवारका बालबालिका नियमित विद्यालय नगएको यदाकदा पाइने हुँदा उनीहरुलाई नियमित पठनपाठनका निम्ति विद्यालय जान प्रोत्साहन गराउन शैक्षिक पोशाक, झोला र छात्रबृत्ति रकम सहयोग गरेको वडा अध्यक्ष भोगबहादुर थापाले बताए । छात्रवृत्ति रकम, स्कुल पोशाक र झोला पाएपछि यहाँका बालबालिका र अभिभावक खुसी भएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्