Logo
Logo

पूरा हुँदै पोखरेलीको पानी पिउने सपना


819
Shares

गण्डकी । पर्यटकीय नगर पोखरा सहरका बासिन्दाले शुद्ध खानेपानीको उपयोग गर्न पाउने भएका छन् । बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनामार्पmत पोखरेली उपभोक्ताको घरघरमा शुद्ध खानेपानीको सुविधा पुग्ने भएको हो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु चार अर्ब ८१ करोडको अनुदान सहयोगमा विसं २०७६ देखि सञ्चालित सो आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै पोखरेली उपभोक्ताको शुद्ध खानेपानीको सपना पूरा हुने भएको हो । हाज्मा एण्ड कर्पोरेशन जापानले आयोजना निर्माणको जिम्मा लिएको हो ।

मर्दीखोलाको धमिलो पानी प्रयोग गर्दै आएका पोखरेलीका लागि मुहानदेखि नै शुद्धीकरण गरेर धाराबाट सिधै पिउन सकिने पानी पु¥याउने आयोजनाको लक्ष्य छ । पानी शुद्धीकरणका लागि पाइपलाइन विस्तारसँगै मर्दी मुहानमा ग्रिड च्याम्बर, सेडिभेन्टेशन ट्याङ्की र स्लोस्यान्ड फिल्टर निर्माण गरिएको छ ।

सोको काम अन्तिम चरणमा पुगेको आयोजनाका इन्जिनियर सन्तोषकुमार दासले जानकारी दिए । ‘राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसार प्रशोधन गरिने आयोजनाअन्तर्गत पानीको मुहान मर्दीखोलाबाट ल्याइएको पानी पुरन्चौरमा निर्माण गरिएको ट्रिटमेण्ट प्लान्टमा शुद्धीकरण गरिनेछ’, उनले भने, ‘उक्त ट्रिटमेन्ट प्लान्टबाट प्रशोधित पानी पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्याङ्कीमा जडान गरिएको छ ।’

इन्जिनियर दासका अनुसार मुहान निकटमा ग्रिट च्याम्बर र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको सेडिमेन्टेशन ट्याङ्कीमा जडान गरिने पानीलाई नदीजन्य वस्तु (बालुवा, ढुङ्गा, लेदो, काठका टुक्रा, झारपात) लगायतका फोहर हटाएर शुद्धीकरण गरिएको पानी पुरुन्चौरमा निर्माण गरिएको फिल्टरमा लगिने छ । मुहानको पानी सिधै धारामा आउँदा उपभोक्ताको स्वास्थ्यमा समेत असर गर्ने र नदीजन्य वस्तु पाइपमा भरिनुका साथै फ्रेवलमा बुझिन जाँदा सडक खन्ने र खानेपानी संस्थानको गाडीमार्फत पाइप सफा गर्ने झन्झटबाट उपभोक्ताले मुक्ति पाउने छन् ।

उक्त स्थानमा थप पानी छान्ने फिल्टर, दुईवटा सफा पानी सङ्कलन ट्याङ्की र क्लोरिनेसन प्लान्ट निर्माण गरिएको छ । पानीको मुहान मर्दीबाँधदेखि विन्दवासिनी सङ्कलन ट्याङ्कीसम्म साढे एघार किमीको दूरीमा छ । जुन मदी मुहानबाट २० इञ्चीको पाइप ल्याइएको छ भने अर्को १६ इञ्चीको पाइप साढे पाँच किलोमिटरको दूरीमा अमला बिसौनीको ट्याङ्कीमा सङ्कलन गरिएको छ ।

शुद्धीकरण गरिएको पानी जम्मा गर्न पोखरा–११ फूलबारी, वडा नं ५ पस्र्याङ र वडा नं १५ कोलपाटनमा २०/२० लाख लिटर क्षमताका तीन वटा रिजर्भवायर ट्यांकी निर्माण गरिएको छ । फूलबारी र पस्र्याङको रिजर्भवायर ट्याङ्की निर्माण सम्पन्न भइसकेका छन् भने प्राविधिक कारणले कोलपाटनको ट्यांकी रोकिएको इन्जिनियर दासको भनाइ छ । हालसम्म आयोजनाको ८८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । वर्षाका कारण केही समय निर्माण कार्य रोकिए पनि हाल निर्माणले गति लिएको छ । सन् २०२२ डिसेम्बरसम्ममा आयोजना सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।

आयोजनाको सम्झौताअनुसार बजार क्षेत्रको सय किलोमिटर पाइप लाइन विस्तार कार्यमध्ये ८५ किमीभन्दा बढी विस्तार भइरहेको छ भने बाँकी १५ किमी सडक कार्यालय र महानगरअन्तर्गतको सडक खन्ने अनुमतिको पर्खाइमा रहेको उनको भनाइ छ । प्राविधिक समस्याले रोकिएका बाहेक आयोजनाका अन्य काम अन्तिम चरणमा छन् । आयोजना सम्पन्न भएपछि वितरण प्रणालीमा सुधार हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘शुद्ध पानी उपभोक्ताका घरघरमा पुग्नेछ, पाइप विस्तारका लागि सडक खन्ने समस्या देखिएका स्थानमा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । अनुमति प्राप्त भएसँगै आयोजना सम्पन हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्