
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले संविधानलाई आवश्यकताका आधारमा संशोधन गर्दै सर्वसम्मत बनाउनुपर्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले संविधानसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेतृत्वले संविधान जारी गर्ने बेलामा यसलाई संशोधन गर्दै सर्वसम्मत बनाउने भद्र सहमति गरेको स्मरण गरे ।
तर, आवश्यकता र औचित्य हुँदा पनि संशोधन गर्न राजनीतिक दलका नेतृत्व तयार नहुँदा विस्तारै संविधानप्रति जनताको भरोसा खण्डित हुँदै गएको अनुभूति भइरहेको उनको भनाइ छ । ‘संविधानका मौलिक हकलाई कार्यान्वयन गर्न सकिएको छैन,’ उनले भने, ‘परिणामतः जनताले भरोसा गर्दागर्दै संविधानप्रति विस्तारै भरोसा खण्डित हुँदै गएको अनुभूति भइरहेको छ ।’
उनले संविधानलाई सर्वसम्मत बनाएर नेपालीको मौलिक कानुनी दस्तावेज बनाउनु अनिवार्य रहेको उल्लेख गरे । संविधान जारी भएको सातौं वर्ष बित्दासम्म संघमै प्रशासनिक सञ्चालनसम्बन्धी ऐन नबन्दा त्यसअनुसार प्रदेश र स्थानीय तहमा पनि प्रशासनिकतर्फबाट गरिने काम सशक्त नभएको बताए ।