Logo
Logo

‘सन्तापको धून’ को परिचर्चा पोखरामा



गण्डकी । कथाकार डा. अशोक थापाको कथा सङ्ग्रह ‘सन्तापको धून’ को पोखरामा परिचर्चा गरिएको छ । पोखरेली साहित्यकारको संस्था पुछारसिटे अभियानद्वारा आयोजित परिचर्चाका सहभागीले सन्तापको धूनमा सङ्गृहीत कथाले नेपाली समाजको चित्रण गरेको बताए ।

साहित्यकार सरुभक्तले कुनै पनि साहित्यकारको कृति प्रकाशित भइसकेपछि उक्त लेखक अभियुक्तका रूपमा उभिने, अधिवक्ताका रूपमा पाठकले विभिन्न बहस गर्ने र समालोचकले फैसला गर्ने बताए ।

समालोचकले नजिक र टाढाको लेखकलाई हेरेर कसैलाई गाली बर्साउने त कसैलाई देवत्वकरण गर्ने गरेको वर्तमानलाई संकेत गर्दै उनले समालोचकले पछिल्लो समय न्यायाधीशको झैँ निष्पक्ष भूमिका निर्वाह गर्न नसकेकोमा चिन्ता व्यक्त गरे । समालोचकले आफ्नो कार्यमाथि पनि समालोचना हुन्छ भन्ने सत्यलाई सधैँ आत्मसात् गर्दै कृतिमाथि निष्पक्ष दृष्टिकोण प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए ।

पुस्तकमाथि समीक्षा गर्दै प्रा। डा रामचन्द्र पोखरेलले लेखकले नेपाली समाजको आफ्नो युगको यथार्थ चित्र प्रभावकारी ढङ्गबाट प्रस्तुत गरेको बताए । पुस्तकले मानवीय संवेदनालाई स्पर्श गर्दै नवीनता पस्कन सकेको भन्दै उहाँले प्रशंसा गरे ।

आख्यानकार गनेस पौडेलले लेखनशैलीले आफूलाई प्रभावित तुल्याएको कृतिमा नेपाली कथाको किस्सा शैलीलाई कलात्मकरूपमा प्रस्तुत गरिएको बताए । कथामा समालोचकीय व्यक्तित्वको प्रभावले कथानकमा असर परेको भन्दै उनले आगामी कृतिमा त्यसलाई कम गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्