Logo
Logo

सुतेको आशा


वसन्त लोहनी


प्रत्येक सुरुवात
टुङ्गिनै पर्छ
तर पनि
यात्राको क्रमबद्धता
जब भत्किन्छ
मन भित्रको धरातलबाट
आकाश र धरती छुने आवेग निस्कन्छ
उथलपुथल भएर, निसास्सिएर
हराएको बेला
सुनामी उठिरहेको हुन्छ
संरचनाहरू तहसनहस भएका हुन्छन्
बाँकी रहन्छ शून्यता मात्र
समयसँग आबद्ध
त्यो कहालीलाग्दो शून्यताभित्र
थाहा नभएको आशा
कुनै क्षण चलमलाउँदा
लाग्छ त्यो कुनै कुनामा सुतिरहेको छ
त्यो उठ्न सक्छ
त्यति वेला सायद लाग्न सक्छ
फेरि पनि यात्रा सुरु हुन सक्छ कि भनेर ?
तर अर्कै गोरेटो समातेर
अर्कै परिवेशमा आबद्ध भएर
यो सम्भावनाबाट उद्गम भएको यात्रा
एउटै सुरुवातको खण्ड हो
अन्ततः टुङ्गिनै पर्दछ
मञ्जिलमा पुगेर होस
या नहोस् ।

प्रतिक्रिया दिनुहोस्