मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् ।

मुख्यमन्त्री राईले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार, नेपालीको संस्कार’ नारासहित आज विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को उपलक्ष्यमा प्रदेश नं १ का महत्वपूर्ण पर्यटकीयस्थल समेटिएको पुस्तकको विमोचन कार्यक्रममा पर्यटन क्षेत्रमा हुने लगानीले छिट्टै प्रतिफलको रुपमा विदेशी पर्यटक आगमन वृद्धि भई विदेशी मुद्रा सञ्चित बढ्नुका साथै एवं रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गरे ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले यस क्षेत्रमा पर्यटक आगमन वृद्धि गर्न यहाँका नागरिकको मौलिक संस्कृतिको प्रवद्र्धन एवं पूर्वाधार विकासमा लगानी गर्ने धारणा राखे ।
उनले पर्यटक गन्तव्यस्थलको विकास गर्न ठोस् योजना र डिपिआर तयार गर्ने कार्य सरकारले गरिरहेको जानकारी दिनुहुदै पर्यटन प्रवद्र्धनमा घरबास, होटल तथा पर्यटन व्यवसायी तथा एजेन्सीलाई कामगर्दा आइपर्ने बाधा एवं अवरोध हटाउन आवश्यक ऐन कानुनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।











