Logo
Logo

एमालेमा विद्रोह हुनसक्ने पूर्वमाओवादी नेताहरुकाे चेतावनी



काठमाडौं । नेकपा एमालेले निर्वाचनमा आयोगमा बुझाएको समानुपातिक सूचीलाई लिएर पार्टीभित्र असन्तुष्टि बढेको छ ।
पार्टी अध्यक्ष केपी ओलीले आफ्नो गुटका नेताहरुसँग मात्रै छलफल गरेर सूची पठाएपछि माओवादी समूहका नेताहरुले खुला रुपमै असन्तुष्टि पोख्न थालेका छन् ।

ओलीले परामर्श नै नगरी समानुपातिक सूची बनाएको भन्दै पूर्वमाओवादी नेताहरुले असन्तुष्टि जनाएका हुन् । उनीहरुले आफूहरुसँग सल्लाह नै नगरी अध्यक्ष ओलीले आफ्नो पोल्टाका मान्छेलाई सूचीमा राखेको भन्दै रुष्ट बनेका छन् ।

एक पूर्वमाओवादी पदाधिकारीले भने, ‘समानुपातिकको सूची बनाउँदा अध्यक्षले हामीसँग परामर्श नै गर्नु भएन । उहाँले आफ्नो खल्तीका मान्छेहरु मात्र सूचीमा राख्नुभएको छ ।’ ओलीले निर्वाचन आयोगमा समानुपातिकको सूची बनाउनअघि परामर्श गर्नु परको कुरा भएको भन्दै एक शब्दसमेत नसोधेको उनको भनाइ छ ।

पार्टीको केन्द्रीय पदाधिकारीमा रहेकाहरुसँग समेत एक शब्द नसोधी सूची तयार पार्दा आफूहरु मर्कामा परेको उनले बताएका छन् । यसअघि माओवादी अध्यक्ष प्रचण्डले कुनै पनि निर्णय गर्नुअघि पार्टीका नेताहरुसँग छलफल र परामर्श गर्ने गरेको स्मरण गर्दै उनले भने, ‘तर, अध्यक्ष ओलीको सोच नै बुझ्न सकिएन ।

एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक स्ची सार्वजनिक भएपछि पूर्वमाओवादी नेताहरुलाई नसमेटेमा आक्रोशित भएका हुन् । उनीहरुले सूची नसच्चाए विद्रोह हुन सक्नेसमेत चेतावनी दिएका छन् ।

ती नेताले माओवादीमा हुँदा सांसद पद गुमाएर केपी ओलीलाई समर्थन गरेको भन्दै प्रत्यक्षमा नसमेटेका नेतालाई समानुपातिकमा समेट्नुपर्ने बताए । यदी नसमेटेमा पार्टीमा विद्रोह हुनसक्ने उनको भनाइ छ ।

राष्ट्रियसभा सदस्य रामबहादुर थापासहित प्रतिनिधिसभामा चार जनाले एमालेलाई समर्थन गरेका थिए । यस्तै, सातै प्रदेशबाट १४ जना प्रदेशसभा सदस्य एमाले प्रवेश गरेका थिए । उनीहरुलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रत्यक्ष वा समानुपातिक सांसद बनाउने ओलीले बचन दिएका छन् । तर, अहिले आएर ओलीले धोका दिएको भन्दै पूर्वमाओवादी नेताहरु आक्रोशित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्