Logo
Logo

समानुपातिक सूची संशोधन गर्न माग गर्दै सानेपामा धर्ना



काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समूह समानुपातिक सूची संशोधन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

संस्थापन पक्षले समानुपातिक सूचीमा एकलौटी निर्णय गरेको भन्दै इतर समूह आन्दोलनमा उत्रिएका हुन् । बुधबार दिउँसो १ बजेदेखि सुरु गरिएको धर्ना २ बजेसम्म चल्ने उनीहरुले बताएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउँदा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गरेको आरोपसहित सूची सच्याउन उनीहरुले माग गरेका छन् ।

उनीहरूले असोज १४ भित्र समानुपातिक उम्मेदवार सूची सच्याउन सभापति देउवासँग माग गरेका छन् । सभापति देउवाले समानुपातिक उम्मेदवार सूची केही संशोधन गर्न सकिने बताइसकेका छन् । यसका लागि मंगलबार र बुधबार पनि बालुवाटारमा शीर्ष नेताहरूसँग देउवाले छलफल गरेका थिए ।

पार्टीभित्र समानुपातिकमा नेताहरूले श्रीमती र भाइभतिजालाई राखेकोमा संस्थापनइतरका नेताहरु असन्तुष्टि छन् । केन्द्रीय सदस्य आरजु देउवा, मञ्जु खाणलगायत समानुपातिक सूचीमा छन् ।

धर्ना कार्यक्रम सुरू गर्दा असन्तुष्ट समूहले कसैका श्रीमती र भाइभतिजालाई राख्न समानुपातिक सूचीको परिकल्पना नगरिएको बताएका थिए । पार्टीका लागि काम गरेको, रगत र पसिना बगाएकाहरूलाई उम्मेदवार बनाउनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्