Logo
Logo
सत्तारुढ गठबन्धनको बैठक

सिट संख्यामा जुट्यो सहमति, दोहोरो दाबी मिलाइँदै



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरूको जारी बैठकले सिट बाँडफाँट टुङ्गो लगाउने बताइएको छ ।

गठबन्धनमा आवद्ध दलहरुबीच करिबकरिब सहमति जुटिसकेको भए पनि तराईका केही निर्वाचन क्षेत्रमा दोहोरो दाबीका कारण बैठक लम्बिएको एक नेताले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार तराईका केही निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को दोहोरो दाबी रहेका कारण बैठक लम्बिएको हो । 

उनले भने– ‘कुन दलले कति सिट पाउने भन्नेमा लगभग कुरा मिलिसकेको छ । तराईका केही जिल्लाका कुन क्षेत्र कुन पार्टीले लिने भन्नेमा सहमति जुट्न सकेको छैन । तराईका केही निर्वाचन क्षेत्रमा दोहोरो दाबी छ । बाँकी कुरा मिलिसक्यो । ७५ प्रतिशत सहमति भइसक्यो भन्दा हुन्छ ।’  

बैठकमा कुन पार्टीले कति सिट पाउने भन्नेमा दलहरूबीच लगभग सहमति जुटिसकेको छ । जसअनुसार नेपाली कांग्रेसले धेरैमा ८५ र नेकपा माओवादी केन्द्रले धेरैमा ५५ सिटसम्म पाउने भएको छ । माओवादीले बाबुराम भट्टराई र वामदेव गौतम समूहको भागसहित ५५ सिटसम्म पाउन सक्ने विषयमा गठबन्धन आवद्ध दलहरू आधारभूत रुपमा सहमत देखिएका छन् ।

जारी छलफल अनुसार नेकपा एकीकृत समाजवादीले धेरैमा १५ र जसपाले कम्तिमा १० सिट पाउने बुझिएको छ । त्यसमा राष्ट्रिय जनमोर्चालाई पनि समेट्नुपर्ने गठबन्धनलाई बाध्यता छ । तर, एकीकृत समाजवादी र जसपाले भने चित्त बुझाउन सकैका छैनन् ।

दलहरूबीच आधारभूत रुपमा सहमति जुटे पनि अन्तिम निर्णय भने भइसकेको छैन । तराईका केही क्षेत्रमा गरिएको दोहोरो बादीको विषयमा गठबन्धन बैठकमा छलफल चलिरहेको छ । दोहोरो दाबीको विवाद मिलेमा गठबन्धनले आजै सिट बाँडफाँट टुङ्ग्याउने बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्