Logo
Logo

आस्था र आदर्श कसरी बाँकी रहलान् अब ?



ढुंगाको तकिया लगाएर रात काटेको कथा आमालाई पछिसम्म नै भन्ने आँट गरिन । अझै पनि म बेलाबेला सोंच्छु– त्यो रात कसरी झ्यालमा बसेर छोरीको बाटो हेर्दै रात काट्नु भयो होला आमाले ! कहिल्यै सोध्ने आँटसम्म गरिन ।

‘परिवर्तन’का निम्ति भनेर कति असल सन्तानहरूले आमा बुबाको चित्त दुखाएर शहीद नै भएका छन् । तिनका बलिदानका कथाहरू सम्झेर मात्र आफुलाई चित्त बुझाउनु बाहेक अरू उपाय पनि थिएन । ‘गलत बाटोमा त हिंडेको होइन नि !’ भनेर सुम्सुम्याइरहेँ आफैलाई । अब त आमासँग खुलेर कुरा गर्ने र युवावयको त्यो साहस र सपना मिस्सिएको आफ्नो धृष्टताका निम्ति क्षमा माग्ने सम्भावना पनि रहेन– आमाले यो संसार नै छोडिसक्नुभयो ।

आफैं काँढाको बाटो रोजेर हिँड्नेलाई कसैले रोकेर पनि रोक्न नसक्ने रहेछ । उमेरको उत्साह, सुन्दर सपना, आदर्श, आस्था, उत्तरदायित्वबोध, आदि सबैको भूमिका थियो । आफैभित्र बढिरहेको ‘गर्छु या मर्छु’ भन्ने दृढताको कारणले मात्र यी सब सम्भव भएको पनि हो मेरो निम्ति । अहिले त न त्यो उमेर छ, न त्यो आँट र जाँगर नै ।

केही सचेत मजदूरहरूले उठाएको स्वतःस्फूर्त आवाजबाट सुरू भएको त्यो धर्ना महिनौंदिनसम्म लम्बिएला भनेर कसैले अनुमान पनि गरेका थिएनन् । मजदूरहरू पहिलेझैँ सिधासाधा भएर थोरै पैसाका निम्ति मालिकहरूको आदेशनानुसार काम गरि नै रहन्छन् भन्ने कुरालाई त्यो आन्दोलनले गलत सावित गरिदियो । पहिले कहिल्यै नभएको मजदूर एकता यहिबेला स्थापित भयो । अन्य कारखानाका मजदूरहरू पनि आफै अगाडि बढेर आ–आफ्नो हक अधिकारको निम्ति आन्दोलनमा सम्मिलित हुनथाले ।

कति रात त्यसरी बस्नुपरेको थियो भन्ने कुरा म स्वयंले पनि बिर्सिसकेकी थिएँ । भर्खरै मात्र नृपेन्द्र मास्केसँग फोनमा सोधेर थाहा पाएँ– ३१ दिनसम्म नै पालभित्रै धर्नामा रात काट्नु परेको रहेछ ! आन्दोलन भरी म घर फर्कन सकिनँ । मजदूरको शक्ति एकताको पहिलो र ठूलो प्रदर्शन पनि थियो त्यो ।

भोलिपल्ट नै पुलिस भ्यान आएर कुराकानी गर्ने भनेर नृपेन्द्र मास्के र पूर्णमान नामका मजदुरलाई भ्यानमा कोचेर लग्यो । उनीहरू अलि बोल्ने र लडाकु जस्तो देखिने भएर पनि होला । केही नेताहरूलाई जेल लगे पछि त्यो आन्दोलन त्यसै सेलाउँछ भन्ने लागेको थियो होला प्रशासनलाई । तर यसले त झन् आगोमा घ्यू थपे झैँ भयो । दुई मजदूर नेतालाई तुरून्त रिहाइ गर्ने थप माग राख्दै नारा लगाउन थाले मजदूरहरू ।

मजदूर आन्दोलनको रूप फेरिंदै गयो । बालाजु औद्योगिक क्षेत्रका अन्य कारखानाका मजदूरहरू मात्र नभएर बाहिरका बुद्धिजीविहरू, विद्यार्थीहरू पनि समर्थनमा आउने क्रम झन् बढ्दै गयो । विभिन्न राजनीतिक संगठनका नेताहरूलाई पनि त्यहाँ पस्ने बाटो खुल्दै गयो । कोही आँटै गरेर प्रत्यक्ष रूपमै सहयोग गर्न थाले ।

यो आन्दोलन हुनुभन्दा केही समय अगाडि मात्र मेरो घरमा रामेश दाइ र रघुजी पन्त पुग्नु भएको थियो– कवि रामचन्द्र भट्टराईसँगै । उहाँहरूको उद्देश्य थियो– हाम्रो सिङ्गै पुरानो समुहलाई नै नेकपा (माले)मा सामेल गराउने । कसैको कुरा नसुनी हिंडिरहेका हामी, जो पायो त्यसलाई विश्वास गरिहाल्दैनथियौँ । उहाँहरू मेरो घरसम्मै पुगेर कुरा गर्दा पनि राम्रोसँग कुरा नसुने जस्तो लागेर होला, रामेश दाइले त झण्डै गाली गरेजस्तै गरि भन्नुभयो– ‘अब पनि हामीसँग नमिल्ने हो भने तपाईँहरूको जिन्दगी नै खेर जान्छ…।’

त्यो बेला भर्खरै जस्तो कोअर्डिनेशन कमिटीबाट नेकपा (माले) बनेको थियो सायद । उहाँहरूमा पनि जोश जाँगर बढ्दै थियो । हुन त कोअर्डिनेशन कमिटी छँदै पनि अरू युवानेताले हामीसँग एकता गर्न धेरै नै प्रयत्न नगरेका होइनन् ।

सत्यलाई नै नबोकेको इतिहास इतिहास हुँदैन, त्यसको कुनै अर्थ हुँदैन । अहिले त कैयौं समर्पित, सामाजिक न्याय र देशको सुन्दर भविष्यका निम्ति भनेर आफ्नो सबथोक दिएका देशका असल छोराछोरीको इतिहास नै ओझेल पर्दै गएको छ । लेख्न सकुन्जेल मैले पनि लेखिन भने अरू कसैलाई दोष दिनुको पनि के अर्थ रहला र ? म सँगसँगै हिँडेका मेरा केही सहयात्रीलाई त यो सब लेख्ने मात्र होइन सम्झिन पनि मन नभएजस्तो देख्छु ।

आन्दोलनको भोलिपल्ट नै त्यो बेलाकी मेरी अनन्य मित्र अष्टलक्ष्मी लगायत अरू पुराना साथीहरू भेट्न आएका थिए । उनीहरूलाई देख्दा मेरो मनोबल कस्तो थपिएको थियो ! आमालाई पु¥याउनुपर्ने सन्देश पनि उनीहरूले नै पु¥याइदिएका थिए । मेरो जीवनकै महत्त्वपूर्ण अंश हुन् अष्टलक्ष्मी । तर तिनै साथी पछि पार्टी र सरकारकी उच्च नेत्री पनि भैसकेपछि भने सबै बिर्सिछन् कि ? त्यो बेला म आफै मजदूर भएर त्यस्तो अग्निकुण्डमा फाल हान्नु भनेको अचानक निर्जन टापुमा पुगेजस्तो भएका हाम्रो सिङ्गै समुहका सबैको निम्ति बाटो खोज्नु पनि थियो ।

त्यसरी दुःखले खनेको बाटोबाटै उबेलाको ‘माले’सम्म पुग्ने पुल भेटिएको थियो । तर उनले यो सबै बिर्सिसकेजस्तो गरेको देख्दा कतै नमीठो गरी दुख्छ । कुनै बेला साँच्चै चासो राख्ने इतिहासप्रेमीले यो सन्दर्भ पनि पक्कै कोट्याउलान् ।

यसरी ‘ठूला नेता’ भइसकेका साथीहरूको मात्र होइन, सम्बन्धित पार्टी र संगठनहरूकै विस्मृतिमा हराउन थालेको मजदुर आन्दोलनको त्यो इतिहासलाई अभिलिखित गर्ने आशामा पुराना मित्र कवीन्द्र रिमालसँग मैले हालसालै मात्र कुरा गरेकी थिएँ । नेकपा (माले)बाट एमाले भइसकेपछि बनेको ‘जिफन्ट’ मा संलग्न छन्, उनी ।

मजदूर आन्दोलनका फोटो र अरू अभिलेख भएको एउटा फाइल नृपेन्द्र मास्केसँग थियो । इतिहासको महत्वपूर्ण कालखण्ड बोकेको अभिलेखको त्यो फाइललाई आफैँसँग राख्नुभन्दा पार्टीसँग आवद्ध जिफन्ट जस्तो यति ठूलो मजदुरहरूको संगठनमा दिनु नै उचित हुन्छ भनेर नृपेन्द्रले त्यो फाइल कवीन्द्रमार्फत सुम्पेका रहेछन् । त्यो थाह पाएपछि खुसी भएर कवीन्द्रलाई फोन गरेकी थिएँ । तर उनले त्यो फाइल जिफन्टको लाईब्रेरीबाट हराइसकेको कुरा सुनाए ।

म अवाक भएँ । लाग्यो– अहिलेका औपचारिक संस्थाहरूबाट सत्य इतिहासको रक्षा होला भनेर कसरी आशा गर्ने ? कवीन्द्र पनि त्यो बेला देखिकै एक समर्पित मिहिनेती साथी हुन् । उनीसँग कुनै गुनासो छैन । फोनमै उनलाई भनेँ–‘यसरी नै त्यो बेलाको इतिहास हराउँदै जाने हो भने, त्यो बेलाका युवाको समर्पणको कथा हराउँदै जाने हो भने, आस्था, आदर्श जस्ता कुरा कहाँ, कसरी बाँकी रहलान् अब ?’ उनी केही बोलेनन् । उनलाई पनि कतै दुखेको होला ।

प्रतिक्रिया दिनुहोस्