Logo
Logo

समानुपातिक सूचीमा शेखर पक्षका नेता राख्ने सहमति



काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूची परिवर्तन हुने भएको छ ।

आज बसेको पार्टी पदाधिकारीको बैठकमा समानुपातिक सूचीमा शेखर कोइराला पक्षका केही नेतालाई राख्ने सहमति भएको हो । शेखर कोइराला र गगन थापाको समूहले छुट्टै भेला–सभा गर्नुका साथै निर्वाचनमा विद्रोह गर्ने चेतावनी दिएपछि देउवा निर्वाचन आयोगमा असोज ३ मै बुझाइएको प्रारम्भिक सूची हेरफेर गर्न तयार भएका हुन्  ।

पार्टीको सानो कार्यदल बनाएरै समानुपातिक सूची परिमार्जन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । निर्वाचन आयोगले दलहरुले पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा हेरफेर गर्न असोज १४ गते सम्मको समय निर्धारण गरेको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार प्रदेशको टुंगो लागेको छैन । उनले भने, ‘केन्द्रको करिब करिब टुंगिएको छ । भोलिसम्म प्रदेशको टुंगिन्छ ।’

एकपक्षीय र प्राथमिकताबाहिरका नाम समानुपातिक उम्मेदवारको सूचीमा राखिएको शेखर–गगन समूहको गुनासो छ । उनीहरूले पार्टी महाधिवेशनमा कोइरालालाई प्राप्त मतका आधारमा समानुपातिक उम्मेदवारमा ४० प्रतिशत हिस्सा दाबी गर्दै आएका छन् ।

उनीहरूको असन्तुष्टिलाई सत्ता गठबन्धनका अन्य दलले पनि चासो दिइरहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको सिट बाँडफाँट मिलाउन बालुवाटारमा निरन्तर बसिरहेको सत्ता गठबन्धन बैठकमा उनीहरूले चुनावी परिणाममा असर पर्न सक्ने भन्दै बारम्बार चासो प्रकट गरेपछि देउवा आन्तरिक विवाद मिलाउन थप दबाबमा परेका हुन् ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा संस्थापन पक्षले एक्लौटी गरेको आरोप लगाउँदै शेखर पक्षले विद्रोहको चेतावनी दिएको थियो । आफूहरूले सम्मानजनक संख्यामा सिट नपाए गठबनन्धविरुद्ध नै अभियान चलाउने उनीहरूको धम्की थियो ।

प्रतिक्रिया दिनुहोस्