Logo
Logo

जनताप्रति उत्तरदायी भएर काम गर्ने सही पात्र देशले खोजिरहेको छ : ज्ञानेन्द्र शाह


378
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरु पदलोभ, सत्तास्वार्थ र भागबन्डामा केन्द्रित भएकाले देशको अवस्था विग्रँदै गएको र जनताले दुःख पाइरहेको बताएका छन् ।

दसैँको शुभकामना सन्देश दिँदै ज्ञानेन्द्रले नेताहरु आफ्नै सुविधा भोगका लागि राजनीति केन्द्रित हुँदै गएको समेत आरोप लगाएका छन् । उनले भािडयो सन्देशमा भनेका छन्, ‘पदलोभ, सत्तास्वार्थ र भागबन्डा गरेर आफ्नै सुविधा भोगका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ ?’

पछिल्लो देशको राजनीत अवस्थाबारे उनले नेपालको विद्यमान संविधान र व्यवस्थामाथि नै प्रश्न उठाउँदै मौलिकता, राष्ट्रियता, नागरिकता, परराष्ट्र नीति, भागबन्डा केन्द्रित राजनीति र भ्रष्टाचारबारे धारणा व्यक्त गरेका हुन् । ज्ञानेन्द्रले भिडिओ सन्देशमार्फत नेपाली जनताले अभिभावकीय भूमिका खोजिरहेको दाबीसमेत गरेका छन् ।

उनले भनेका छन्, ‘विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौं– हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन । राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् ।’

देशभित्र र बाहिर रहेका नेपालीलाई दसैंको शुभकामना दिँदै उनले अहिलेको समय देशभक्त नेपालीका लागि सजिलो नभएको बताउँदै उनले भनेका छन्, ‘दलहरू आस्था, सिद्धान्त र जनविश्वासका दृष्टिले कति निष्ठावान् र जनउत्तरदायी रहने भन्ने आजकल जल्दोबल्दो प्रश्न बनेको छ ।’

आफ्ना सहयोगी फणिराज पाठकमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद विग्रह र विकृति आजको स्थितिले सर्वत्र प्रश्न उठेको समेत बताएका छन् । उनले अहिले जनतामा उत्साह नभएको बताउँदै भनेका छन्, ‘देशप्रति बफादारी र जनताकाप्रति उत्तरदायी भएर काम गर्ने विधि, व्यवस्था, संगठन र प्रतिनिधित्वको सही पात्र देशले खोजिरहेको छ ।’

ज्ञानेन्द्रले युवायुवती वैदेशिक रोजगारीमा जानेक्रम नरोकिएको पनि बताए । उनले भने, ‘देशमा रोजगार नभएर होकि देशका युवाहरु विदेशमा हजारौँ गएका छन् ।’

उनले नागरिकता विधेयकप्रति पनि विरोध गर्दै भनेका छन्, ‘बाहिरियाहरूलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्