सुर्खेत । ‘बैंकले ऋण दिएको छैन, महँगी आकासिँदा आधारभूत आवश्यकता पूर्ति गर्न नागरिकलाई हम्मेहम्मे परेको छ, यस्तोमा व्यापार हुने आशै छैन’, सुर्खेतको वीरेन्द्रनगरस्थित कालिका इम्पोरियमका सञ्चालक देवेन्द्र कोइरालाले भने, ‘विगतका दसैंमा राम्रै व्यापार हुन्थ्यो, यस वर्ष व्यापार छैन ।’

ठूला चाडपर्व सुरु भएसँगै व्यवसाय सुधार हुने कोइरालाको अपेक्षा थियो । ‘बरु गत वर्ष कोरोना महामारीमा पनि ग्राहकको योभन्दा धेरै चहल-पहल थियो । अहिले दसैँ सुरु भइसक्दा पनि खासै व्यापार भएको छैन’, उनले भने, ‘अहिले पनि बजार सुनसान छ, व्यापार व्यवसायले गति नलिँदा घाटा दिन दुई गुणा रात चौगुणाले बढेको बढ्यै छ ।’
न्यू सुशील इम्पोरियमका सञ्चालक अनिता कोइराला यसपटक झन् व्यापार घटेको बताउछन् । कोरोना सङ्क्रमणको समयमा राम्रो व्यापार भएको बताउँदै कोइरालाले भने, ‘अहिले त्यो भन्दा पनि व्यापार खस्केको छ, व्यापार बढ्ने अपेक्षा गरेका सबै व्यवसायी निराश हुनुपरेको छ । यसपटक व्यापारमा निकै मन्दी छाएको छ ।’
दैनिक बिक्रीको हिसाब हेर्दा पसल कबल भाडा तिर्न पनि कठिन पर्ने अवस्था आएको उनले बताए । विगत वर्षमा बजारमा लत्ताकपडा लगायत चाडपर्वका लागि अन्य सामान किन्ने उपभोक्ताको भीड हुन्थ्यो, फेन्सी तथा तयारी व्यवसायी दोब्बरभन्दा बढी कारोबार गर्थे । अहिले त्यस्तो अवस्था नरहेको कोइरालाले बताए ।
कपडाको व्यापार गर्ने कोइराला अघिल्ला वर्ष कोलिया र पेटीमा ग्राहकको भीड लाग्ने गरे पनि यसपटक पसल सुनसान हुने गरेको बताउछन् । बजारको माहोल बुझेर यसपटक उनले नयाँ सामान कम हालेका छन् । ‘महँगी अकासिँदा आधारभूत आवश्यकता पूर्ति गर्न नागरिकलाई हम्मेहम्मे परेको छ, यस्तोमा व्यापार हुने आशा नै छैन’, कोइराला भने ।
कोरोना सङ्क्रमण कम भएपछि व्यापारमा सुधार हुने अपेक्षा गरेका फेन्सी व्यवसायी अजयकुमार गुप्ता पनि अहिले किनमेल गर्ने घटेको बताउछन् । हालसम्म नयाँ सामान ल्याउन नसकेको उनले बताए ।’व्यापार पहिलेभन्दा पनि खस्केको छ’, गुप्ताले भने, ‘नयाँ सामान थप्न पैसा उठेकै छैन, बैंकमा जाउँ ऋण पाइँदैन ।’
व्यापार सुस्त बनेपछि गत वर्ष ल्याएका सामान बेच्न नसकेको उनले बताए । ‘बैंकले ऋण दिएको छैन । किराना व्यवसायीलाई केही सहज छ, अन्य व्यवसायीलाई समस्या छ । दैनिक उपभोग्य वस्तुको व्यापार भइरहने भएका कारण किराना व्यवसायीलाई त्यति अप्ठ्यारो नहोला । अन्य क्षेत्रको व्यापार भने निराशाजनक छ’, गुप्ताले भने ।
कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर बजारमा यस वर्ष अपेक्षित कारोबार नभएको व्यवसायी बताउँछन् । चाडपर्व सुरु भइसक्दा बजारमा किनमेल गर्नेको चहलपल कम छ । बजारको कारोबार सामान्य अवस्थाकै जस्तो छ । फुर्सद निकाल्नै हम्मेहम्मे हुनुपर्ने समयमा दसैँकै बेला सोचेजस्तो व्यापार नभएपछि यहाँका व्यवसायी निराश बनेका छन् ।
विगतका वर्षमा कोरोना महामारीका कारण थला परेको व्यवसाय यो वर्ष राम्रो हुने उनीहरूको आशा थियो । तर, बजारमा अन्य बेलामा जस्तै छिटफुट मात्र कारोबार भइरहेको छ । महँगी बढेकाले पनि ग्राहक कम आएको हुनसक्ने व्यवयासी बताउँछन् । व्यापार नै न्यून हुन थालेपछि व्यवसायीहरूलाई पसल कबल भाडा नै तिर्न हम्मेहम्मे पर्ने अवस्था छ ।
‘केही वर्ष पहिलेसम्म दसैँतिहारका समयमा व्यवसायीलाई ग्राहकको चापले सामान बेच्न भ्याइनभ्याइ हुन्थ्यो । खाना खाने फुर्सदसमेत हुँदैन्थ्यो’, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले भने, ‘व्यवसायी पसल कुरेर हाइ काढ्दै बसिरहेका भेटिन्छन् । चाडबाडका बेला व्यापार सुस्ताएपछि व्यवसायी मर्कामा परेका छन् ।’
उनका अनुसार व्यवसाय गरेर दिन बिताउनै गाह्रो हुन थालेको छ । आर्थिक मन्दीको असर सबैभन्दा बढी व्यापारमा परेको संघका अध्यक्ष कँडेलले बताए । ‘बैंकले व्यवसायीका लागि ऋण प्रवाह गरेका छैनन्’, सङ्घका अध्यक्ष कँडेलले भने, ‘बैंकले लगानी नगर्दा सामान थप्न पनि कठिनाइ छ ।’ विगतका दसैँमा दिनमै एक लाख हाराहारी हुने व्यापार यस पटक ३० हजारको हाराहारीमा खुम्चिएको छ । कर्णाली मलका व्यवस्थापक गणेश ढकालले पनि पर्व भित्रिसक्दा पनि बजारमा चहलपहल नबढेको बताउछन् ।
अहिले गत वर्षभन्दा २० प्रतिशत व्यापार कम भइरहेको जनाउँदै उनले भने, ‘हरेक क्षेत्रमा आर्थिक सङ्कट छ । व्यापारमा बैंक तथा वित्तीय संस्थाको लगानी छैन । बजार भाउ बढेको बढ्यै छ ।’ दशैँमा आफूहरूले १५ देखि २० प्रतिशत छुट दिँदा पनि व्यापार नबढेको उनको भनाइ छ । पहिलेजस्तो चाडपर्वको रौनक नहुँदा पनि व्यापार घटेको जानकारहरू बताउँछन् ।
वीरेन्द्रनगर–१२ का ६० वर्षीय लालवीर रावलले पहिलाको तुलनामा दसैँ तिहारको रौनक भने घटेको धारणा राख्छन् । ‘अहिले पैसा मात्र हुनुप¥यो जतिबेला जे किन्न पनि पाइन्छ । त्यसैले चाडपर्वमा किनमेल गर्नेको घुइँचो नलाग्ने गरेको हो’, उनले भने । कर्णालीकै प्रमुख व्यापारिक केन्द्र वीरेन्द्रनगरमा ठूला लगानीका व्यापार–व्यवसाय सञ्चालनमा छन् । चाडपर्वमा व्यवसायी उत्साहित छैनन् ।












