रामपुर (पाल्पा) । कृषि व्यवसाय भनेपछि अझै पनि गाउँघरमा राम्रो दृष्टिले हेरिन्न । त्यसैमाथि पशुपालन गर्नेलाई समाजले झट्ट राम्रो काम भन्न सक्दैन । कृषिप्रति अनिच्छा र उपेक्षा बढिरहेको अवस्थामा सबैका लागि अहिले अनुकरणीय बसेका छन्, पाल्पा रामपुरका नरनारायण अर्याल ।

रामपुर नगरपालिका–८ स्थित एक्लेटारमा सञ्चालित नागिनी एग्रो एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक अर्यालले पाल्पामा ठूलो भैँसीपालन व्यवसाय गरेका छन् । अहिले उनका व्यवसाय आयआर्जन गर्ने मात्रै नभई अन्यका लागि पशुपालन सिकाइ गर्ने थलो बनेको छ । यहाँ अवलोकन गर्न आउने जोकोहीले केही न केही नयाँ कुरा सिकेर फर्कने गर्दछन् ।
तीनवर्षदेखि व्यवसाय सुरु गर्नुभएका अर्यालको फार्ममा हाल ७० बढी भैँसी छन् । फार्मका २४ दुहुना भैँसीबाट तीन सय ३० लिटर दूध दैनिक प्रतिलिटर रु एक सय ३० का दरले बजारमा बिक्री गर्छन । हाल उनले मासिक खर्च कटाएर रु एक लाख ५० हजार आम्दानी गर्छन । ‘बिगतका भैँसीपालनको अनुभवले यस व्यवसायमा राम्रो आर्थिक उपार्जन गर्ने सम्भावना मैले देखेको छु, जस्तोसुकै संकट आइपरे पनि समाधान गर्न सकिने रहेछ’, उनले भने, ‘बजारीकरणमा सहज भएपछि दुध बिक्री गर्ने पिरलो भएन, अर्कोतर्फ निश्चित समयमा पशु सङ्ख्या थपघट गर्न सकिने रहेछ ।’
कालीगण्डकी करिडोर सडक आडैमा रहेको यस भैँसी फार्म व्यवस्थित संरचना भित्र सञ्चालित छ । स्नातक तहसम्म अर्थशास्त्र विषय लिएर अध्ययन गर्नुभएका अर्यालको पढेर जीवनमा ज्ञान, सीप लिने, समाजमा प्रतिष्ठा र आयस्रोतका लागि जागिरभन्दा व्यवसाय नै गर्ने इच्छाअनुसार भैँसीपालन व्यवसाय रोजाइमा प¥यो ।
अहिले भैँसीपालनबाट आफूले आत्मसन्तुष्टि पाएको उहाँ बताउनुहुन्छ । सडक नजिकै रहेको यहाँको फार्ममा विभिन्न क्षेत्रका व्यक्ति भैँसीपालनको अवस्था बुझ्न आउछन् । फार्ममा एक सय ५० माउ भैँसी पाल्ने लक्ष्य लिनुभएका अर्यालले भैसी रेखदेखका निम्ति हाल पाँच जनालाई रोजगार दिएका छन् । जग्गा प्रशस्त रहेकाले घाँसपातको समस्या छैन । तर दानाको महँगी बढ्दा खरिदमा साना तथा ठूला किसान मारमा परिरहेको गुनासो छ ।
भारत र मुलुकका विभिन्न स्थानमा पुगेर उन्नत जातका भैँसी खरिद गरी उनले व्यवसाय सुरु गरेका हुन् । फार्ममा सबैजसो भैँसी उन्नत जातका छन् । अर्यालले एक भैँसीको मूल्य रु एक लाख ३० हजारदेखि रु दुई लाख ५० हजारसम्ममा खरिद गरेर ल्याएक छन्। भैँसी खरिद र गोठ निर्माणमा हालसम्म करिब रु तीन करोड ५० लाख बराबरको लगानी परेको छ । उनले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण झिकेर व्यवसाय चलाएका छन् ।
अहिले ठूलो क्षमताको चारैतिर फराकिलो एउटा गोठमा दुई लाइनमा भैँसी बाँधेर पालिएको छ । सङ्ख्या थप्ने तयारीमा रहेका अर्यालले गोठको संरचना निर्माण गरेका छन् ।












