Logo

फोहरशास्त्र


श्याम रिमाल


फोहर त हाम्रै आत्मा हो
ऊ हामीसँगै रम्न मन पराउँछ त के भो
किन हाम्रो दुश्मनी
र यसलाई
किन ओखरपौवा वा सिसडोल वा बञ्चरेडाँडा कटाउने ?
हरेक दिन-

दृष्टिमा फोहर नपरे आँखै तिर्मिराउँछ,
नाकमा गन्ध नआए सुगन्धै हराउँछ,
हाम्रो दृश्यशक्ति फोहरतुल्य छ र फोहरै खोज्छ
हाम्रो घ्राणशक्ति गन्धमैत्री छ र दुर्गन्धै रोज्छ
फोहर हाम्रो परिवार सदस्य,
फोहरका डङ्गुर हाम्रा छिमेकी,
र फोहर हाम्रो आफन्त अनि असल साथी
किन नाक खुम्च्याउने,
किन थुथु गर्ने र
किन वाकवाक गर्ने ?

हाम्रो जिउमा ढाडिएको मयलभन्दा कति पो मैला छ र यो डङ्गुर
गन्हाइरहेको काखीको पसिनाभन्दा त कमै पो होला यो फोहर
केही होइन हाम्रो गन्हाइरहेको मुखको सासका तुलनामा
वा असिनपसिन भएको मोजा र जुत्ता दाँज्दा

हाम्रा भुसुना जमेका विचार
कीरा परेका हात र औँसा परेका दृष्टि नै प्रशस्त छन्
यी पोकापोका परेका फोहरसँग लड्न

सलाम छ मानिसहरूको यो फोहरप्रेमलाई
शायद लेख्ने छन् एउटा गतिलै फोहरशास्त्र विद्वान्हरू मिलेर
र, कान्तिपुरको यो कान्ति जोगाउन
अब कुनै पारिजात रोप्नुपर्दैन, न पले, न त नस्वाँ नै
सधैँ लालायित छन् यी डङ्गुर
पर्यटकका क्यामरामा पस्न पनि
र मनुष्यहरू अझै तयार छन्
गलैँचाले छोपेर आनन्दले शयन गर्न
र फोहरलाई अझै चुलीचुली पारेर
अर्काे सगरमाथा बनाउन ।

-२०७९ भदौ ९

प्रतिक्रिया दिनुहोस्