
काठमाडौं । नेकपा एमाले परित्याग गर्दै रूपन्देही बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले माओवादीका फौज मतले भरिएको बाकस बोकेर मात्र फर्किने बताएका छन् ।
शनिबार नेकपा माओवादी केन्द्रले रूपन्देहीमा आयोजना गरेको निर्वाचन केन्द्रिय कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले चुनावी मैदानमा होमिएका माओवादीका फौज मंसिर ४ गते मतले भरिएको भारी बाकस बोकेर मात्र फर्कने बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले भने– ‘नेकपा माओवादी केन्द्रको यो फौज यहाँबाट छुट्यो, अब यसले ४ गते मंसिरका दिन भरि भरि बाकस बोकेर मात्रै फर्किन्छ ।’
नेकपा एमालेले टिकट नदिएपछि एमाले परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका घनश्यामलाई माओवादीले समर्थन गरेको छ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट हुँदा रूपन्देही-१ माओवादीको भागमा परेको थियो ।
नेता भुसालले जनताको मतले भरिएको बाकस बोकेपछि मात्र माओवादी फौजलाई शान्ति मिल्ने र आराम गर्न पाउनेसमेत बताएका छन् ।











