Logo
Logo

गृहजिल्लामा सक्रिय गृहमन्त्री, कर्मचारी भर्ना गर्दा स्थानीयवासीलाई प्राथमिकता


1.6k
Shares

भैरहवा । नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनलाई लक्षित गरी गृहजिल्ला रुपन्देहीमा सक्रियता बताएका छन् ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा खाणले रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । सोही लक्षित उनले अहिले निर्वाचन क्षेत्रमा प्रचारप्रसार कार्यालयहरूको उद्घाटन, कार्यकर्ता भेटघाट एवं सभाहरूमा सक्रियता बताएका छन् ।

यसैबीच उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयवासीलाई प्राथमिकता दिइने बताएका छन् । उनले विमानस्थलमा नयाँ रोजगारी खुल्दा र अन्य अवसरमासमेत स्थानीयवासीले प्राथमिकता पाउने भन्दै त्यसतर्फ आफूले पहल गर्ने प्रतिबद्धता गरे ।

गृहमन्त्री खाणले शनिबार भैरहवामा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै स्थानीयवासीले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण सम्पन्न भएकाले नयाँ रोजगारी खुल्दा स्थानीयवासीलाई योग्यताअनुसारको रोजगारीमा प्राथमिकता पाउने बताए ।

‘स्थानीयवासीले जमिन नदिएको भए विमानस्थल बनाउन कठिन हुन्थ्यो, त्यसैले विमानस्थल निमार्णका लागि पुस्तौँदेखि बस्दै आएको जग्गा दिएर योगदान पुर्याएकाहरूले नै हरेक अवसरमा पहिलो प्राथमिकता पाउनुुपर्छ’, उनले भने, ‘स्थानीयवासीले मुआब्जा लिएर भए पनि विमानस्थल बनाउन गरेको सहयोग सरकार र कसैले पनि बिर्सिनुहुँदैन ।’

उनले विमानस्थलले यस क्षेत्रको आर्थिक समृद्धिको ढोका खोलेको जनाउँदै यहाँ हुने हरेक गतिविधिसँग स्थानीयवासीलाई जोडेर आत्मनिर्भर र रोजगाररत बनाउनु आफूहरुको पहिलो प्राथमिकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्