Logo
Logo

‘तेप्लायु’ लाई विमल गुरुङ कृति पुरस्कार



सुनसरी । धरानस्थित कवि विमल गुरुङ पुस्तकालयले ‘कवि विमल गुरुङ कृति पुरस्कार’ कवि काङमाङ नरेश राईको कविता संग्रह ‘तेप्लायु’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुस्तकालय सञ्चालक समितिको बिहीबार बसेको बैठकले कविता संग्रह ‘तेप्लायु’ लाई कवि विमल कृति पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार राशि २ लाख ५१ रुपैयाँ र ताम्रपत्र रहेको छ ।

पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार विमल कृति पुरस्कार ०७८ का लागि आह्वान गर्दा स्वदेश र विदेशमा रहेका नेपालीभाषी लेखक कवि साहित्यकारहरूले विभिन्न विद्याका ४२ थान पुस्तक दर्ता गरेकोमध्ये तेप्लायुलाई श्रेष्ठ ठहर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

यसअघि पुस्तक छनौट समितिले पुरस्कारका लागि पुस्तकालयमा दर्ता भएकामध्ये श्रेष्ठ १० पुस्तकको सूची सार्वजनिक गरिएको थियो । सोही १० श्रेष्ठमध्ये तेप्लायु अब्बल ठहर भएको निर्णायक समितिले सिफारिस गरेको आधारमा तेप्लायुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

अन्तिम १० को सूचीमा काङमाङ नरेश राईको कविता संग्रह ‘तेप्लायु’, सहित प्रणय शंकरको कविता संग्रह ‘कांसभांडा’, कविता राईको उपन्यास ‘गुरु’, निर्मल तामाङको कविता संग्रह ‘जव हावा चल्छ’, दिलिप बान्तवाको कथा संग्रह ‘ताल्चा’, सुनिता राई कन्दङ्वाको कथा संग्रह ‘तिउरी’, विशाल विश्वकर्माको उपन्यास ‘दार्जीलिङ भर्सेस दार्जीलिङ’, बसन्त बस्नेतको उपन्यास ‘महाभारा’, दीपा मेवाहाङ राईको कविता संग्रह ‘यादको सन्दुक’ र अर्जुनबाबु माबुहाङ र अमित थेवे मिहाङको इतिहास पुस्तक ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंहका लेखोट’ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्