Logo
Logo

सबैको प्रेरणाका स्रोत शताब्दी पुरुष



एउटा सत्य- न फूल दुईपटक फक्रन्छ, न मान्छे दुईपटक जन्मन्छ ! अर्को सत्य- पृथ्वीमा आउने सबै एकदिन यसैमा बिलाएर जान्छन् । ढिलोचाँडो मात्रै । मानव चोला पनि यही समाप्त हुन्छ । तर, कोही कर्मले अमर रहन्छन् ।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी भौतिकरुपमा हामी माझ रहेनन् । तर, कर्मले उनी जीवन्त रहिरहनेछन् ।

वि.सं.१९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका संस्कृतिविद्, साहित्यकार एवं शताब्दी पुरुष जोशीले गत आइतबार १०३ वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा अन्तिम प्राण त्यागे । लामो समयदेखि मुटु र प्रोष्टेटको समस्याले गलेपछि किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना भएका जोशीको त्यही नै बिदा भए ।

केही वर्षअघिदेखि उनको स्वास्थ्यमा निरन्तर समस्या देखिँदै आएको थियो । स्वास्थ्यमा समस्या देखिएता पनि उपचारपश्चात पुनः तङ्ग्रिन्थे । निरन्तर सक्रिय रहन्थे । बुढ्यौली लाग्यो भनेर उनी कहिल्यै चुप बसेनन् । सार्वजनिक समारोहमा जान्थे । तर, यसपटक भने उनी फर्किएनन् । र, अब कहिल्यै सार्वजनिक समारोहमा भेटिने छैनन् । यसले नेपाली साहित्य र सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

यो शाश्वत सत्य हो– शताब्दी पुरुष भौतिक रुपमा हामी माझ छैनन् । तर इतिहास, भाषा, मुद्रा, संस्कृति, कला, पुरातत्व, साहित्य, रंगमञ्चमा गरेका अनेक विशिष्ट योगदानले उनलाई सधैं जीवित बनाइराख्ने छ । र, सम्झनामा उनी बाँचिरहनेछन् ।

यो शाश्वत सत्य हो– शताब्दी पुरुष भौतिक रुपमा हामी माझ छैनन् । तर, उनले इतिहास, भाषा, मुद्रा, संस्कृति, कला, पुरातत्व, साहित्य, रंगमञ्चमा गरेका अनेक विशिष्ट योगदानले उनलाई सधैं जीवित बनाइराख्ने छ । उनी सोच र सृजनाले बाँचिरहनेछन् ।

तीन पटकसम्म मदन पुरस्कार जित्ने नेपालकै पहिलो व्यक्ति हुन् शताब्दी पुरुष जोशी । उनले ०१३ सालमा लोकसंस्कृतिमा मदन पुरस्कार पाएका थिए । ०१६ सालमा पाँचौँ शताब्दीदेखि २०औं शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको नेपाली मुद्रा नामक पुस्तक प्रकाशित गरे । जसबाट उनले दोस्रोपटक मदन पुरस्कार पाएका थिए ।

तेस्रो पटक ०२८ सालमा उनले ‘कर्णाली लोकसंस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाए । अहिले नेपाली लेखन क्षेत्रमा एक पटकभन्दा बढी कसैलाई यो पुरस्कार नदिने घोषणा पुरस्कार गुठीले गरिसकेको छ । यस हिसाबले तीनपटक मदन पुरस्कार विजेता अलंकार सदाका निम्ति अद्वितीय बनिसकेको छ ।

नेपाली वाङ्मय क्षेत्रमा उनको महत्वपूर्ण र विशिष्ट योगदान छ । उनका नेपाली, नेवारी र अङ्गे्रजी भाषामा अनेक विषयका करिब ६ दर्जन जति सिर्जनात्मक, अनुसन्धानात्मक कृति प्रकाशित छन् ।

उनी काव्यकार, नाटककार, कथाकार, निवन्धकार, नियात्राकार, समालोचक, कोषकार, अनुवादक र सम्पादकका रूपमा समेत प्रसिद्ध छन् । मण्डला थिएटरले उनको नाटक ‘सुनकेशरी’बाट मञ्चन यात्रा सुरु गरेको थियो ।

उनी संस्कृतिविद्, कुशल अन्वेषक, अनुसन्धता र राष्ट्रसेवक पनि हुन् । उनले लोकसाहित्य, लोकसंस्कृति, कला र कलाकार, पुरातत्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म र दर्शन आदि विषयका मौलिक र अनुदित कृति प्रकाकाश गरेका छन् ।

राष्ट्रको प्रशासनिक सेवामा औद्योगिक सुपरीवेक्षक, संख्या विभागका सुपरिटेण्डेन्ट, राष्ट्रिय योजना परिषद्का प्रोग्राम अफिसर, पुरातत्व र संस्कृति विभागका डाइरेक्टर बनेर उनले राष्ट्रसेवा गरे । साथै, उनले चीनमा नेपाली भाषाका प्रशिक्षक, त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा विशेषज्ञ र प्राध्यापकका रूपमा कार्यगरी उच्च शिक्षाको क्षेत्रमा विशेष योगदान दिएका छन् ।

राष्ट्रका लागि दिएका अमूल्य योगदानको मूल्याँकन गर्दै नेपाल सरकार र अन्य संघसंस्थाले अनेक सम्मान र पुरस्कारबाट सम्मानित र पुरस्कृत, मनार्थ महाविद्यावारिधि उपाधिबाट विभूषित तथा ‘वाङ्मय शताब्दी पुरुष’बाट उनी सम्मानित भएका छन् ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, संवद्र्धन र विकासमा उनको योगदानको कदरस्वरूप सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले मानार्थ विद्यावारिधि, नेपाल सरकारले उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो ।

शताब्दी पुरुष जोशी नेपालका सच्चा सपूत, असली रत्न, नेपाली ज्ञानोदयका सूत्रधार, नेपाल राष्ट्रका गौरव र अजम्मरी राष्ट्रिय सम्पदाका रूपमा रहेका छन् । अत्यन्त लगनशील, सिर्जनशील र ओजस्वी व्यक्तित्वको उनको छवि थियो । जोशी समाजका सबै वर्ग समुदाय तथा तह र तप्का प्रेरणाका स्रोत थिए ।

संस्कृतिविद् नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव र नेपाली भाषाका अकादमीका कुलपतिको रूपमा कार्य गरी नेपाली प्रज्ञाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरे । कर्णालीको भाषा, साहित्य र संस्कृति प्रकाशनमा उनको ठूलो योगदान रहेको छ ।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट जोशीको तस्बिर अंकित चाँदीको सिक्का निस्कासन गरिएको छ । दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र एक सयको १० हजार थान दरको सिक्कामा एकातिर जोशीको तस्बिर छ भने अर्कोतिर सगरमाथाको तस्बिर छ । उनी जीवित रहँदै हुलाक टिकट छापिने स्रष्टा पनि हुन् ।

उनको राष्ट्रियताप्रति गहिरोप्रेम थियो । जोशी सधैँ नेपाली पहिचानमा रमाउँथे । सार्वजनिक कार्यक्रममा समेत उनी सधैँ नेपाली पोसाक दौरा, सुरुवाल र टोपीमा सजिन्थे । स्वदेशमा मात्र होइन विदेश यात्रामा पनि आफ्नो पहिचान छाड्दैन थिए । उनले प्रायः एकै खालको टोपी लगाउँथे । ढाका टोपी हाम्रो राष्ट्रियताको पहिचान भन्थे ।

उनले आफूले सोचेको चाहेको सबै गरे । तर, नेपालीले नोबेल पुरस्कार पाएको हेर्ने उनको सपना भने अधुरै रह्यो । ०७३ फागुन २० गते बनेपाको ‘बृहत् साहित्य सम्मेलन–२०७३’मा उनले एउटा चिन्ता व्यक्त गरेका थिए– ‘दुर्भाग्यको कुरा । आजसम्म कुनै पनि नेपालीले नोबेल पुरस्कार पाएका छैनन् । मलाई नेपालीले नोबेल पुरस्कार पाएको हेर्ने इच्छा छ ।’

बाँचुन्जेल सत्कर्म गरेका जोशीले मरेपछि पनि आफ्नो शरीर चिकित्सा विद्यार्थीका लागि दिएर सत्कर्म गरे । जोशीको शवलाई दाहसंस्कार नगरी चिकित्साशास्त्र सम्बन्धी अध्ययनका लागि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा राखिएको छ ।

त्यसैले उनी सदैव स्मरणीय रहेनछन् । धर्तीबाट विलय भएपनि जीवन्त रहिरहेन छन् । मनमा ढुकढुकी बनेर धड्किरहने छन् । उनका योग्दानहरू नयाँ पुस्ताका लागि प्रेरक बन्नेछ । उनका कृतिहरु सदैव सम्झाइरहने छ । र, सम्झनामा उनी बाँचिरहनेछन् ।

प्रतिक्रिया दिनुहोस्