Logo
Logo

चुनावदेखि-चुनावसम्मको अश्लिल भागदौड



अस्ति भर्खरै बेमौसममा बहुलाएझैँ ओइरो लागेको झरीले हजारौँ घरपरिवार मारमा पार्यो । अप्रत्याशितरुपले आएको बाढीले कतै बुबाआमा बगायो त कसैका अवोध छोराछोरी पहिरोले थिचिदियो ।

बेलुका गोठमा बाँधेर सुतेका लालाबालाहरु विपत्तिले मिचिदियो । वर्ष दिन खाने आशा गरेर भित्र्याउन ठिक्क पारेको धानखेत एकै रातमा बगर बनाइदियो । एक जनाको मलामी गएका कयौँ जिउँदा प्राणहरुको एकै चिहान बनाइदियो ।

हुन त प्राकृतिक विपत्तिले आफ्नो–अर्काको भन्दैन । यद्यपि यसले मुख्यरूपमा पिर्ने भनेको सधैँजसो निमुखालाई नै हो । खैर, यी सबै समवेदनाको एउटा टुक्राले पनि हाम्रा प्रतिनिधि बन्छु भन्नेहरुको भावना हेर्दा रौँसमेत नहल्लिएको छनक देखिन्छ ।

हुन त स्याउले झुपडीका भोट बटुलेर राज्यसत्ताको आँगनमा परेड खेल्नेहरूलाई के फरक पार्छ र ? आपत्तिको भट्टीमा पिरोलिने त उनै हुन्, ज्याला–मजदुरी नगरी बेलुकी चुलो बल्दैन ।

प्राकृतिक प्रकोपको छाता ओढेर घिनलाग्दो विगत छोप्न पल्किएका नेताहरू अहिले पनि यो मिसनमा सफल भएका छन् । देशका विभिन्न भागको कहरको साक्षी पीडित र स्वयं झरी बने । झुटका पुलिन्दा फिँजाएर सत्ताको फसल भित्र्याइरहेकाहरूलाई चुनाव जित्ने उपायभन्दा अर्को कुरो सोच्ने फुर्सदैसमेत छैन ।

चुनावदेखि चुनावसम्मको अश्लिल भागदौडमा सरिक निश्चित मान्छेहरूलाई ठूलै उत्सव आएको छ । उनीहरुको टुप्पीदेखि पैतालासम्म उमंग छाएको छ । किनकि ? उसले फेरि पनि पाँच वर्षसम्म यो देशको दोहन गर्ने लाइसेन्स पाउँदैछ

कृषकले पोहोरको कात्तिके बाढीकै राहत भरण पाइ नसक्दै असोजे झरीले मुख्य अनाज धान सखाप पारिदियो । उसै त चामलको भाउ आकाशिएकै छ, अब कुन उचाइ लिने हो ? सत्तासीनहरू यी सबैबाट बेखबर छन् ।

अर्काेतिर, चुनावदेखि चुनावसम्मको अश्लिल भागदौडमा सरिक निश्चित मान्छेहरूलाई ठूलै उत्सव आएको छ । उनीहरुको टुप्पीदेखि पैतालासम्म उमंग छाएको छ । किनकि ? उसले फेरि पनि पाँच वर्षसम्म यो देशको दोहन गर्ने लाइसेन्स पाएको छ ।

मतदातामा उच्च आक्रोश छ । उम्मेदवारमा आनन्दाभूत सवार छ । एकातिरको अन्तर्य– प्रतिगमन हराउनु छ । अर्को कित्ताले गठबन्धन धुलिसात पार्नुछ । तर यी दुवै कित्ताको इतिहासमा केही तलमाथि भए पनि वर्तमान त्यति अन्तर छैन । यिनका कार्ययोजना र व्यवहार भाषणशैलीमा मात्रै फरक देखिन्छन् ।

कस्तो अनौठो समय ? एकातिर राजनीतिमार्फत लुटिखाने लाइसेन्स बाँडियो भने अर्कोतिर राहत पाउने विवरण भरियो । बिचरो राहत कहिले गाउँ पस्ने हो ? अत्तोपत्तो छैन । यद्यपि दलबदल गर्नेहरु अस्ति नै देखि बदमास बाख्राको घाँटीमा झुड्याएइको घण्टीभन्दा चर्को चिच्याउँदै खुसीयाली बाँड्दै हिँडिरहेका छन् ।

पटकपटक यिनै जनताको मतमाथि गद्धारी गर्नेहरु कहिले जिल्ला फेरेर त कहिले क्षेत्र बदलेर आफ्नो कुरुप अनुहारमा चमक भर्ने दुस्साहस गर्दैछन् । एकैछिनका लागि तामझामसहित गाउँ छिर्नेछन् । आश्वासनको ओइरो लगाउनेछन् र फेरि पनि हाम्रो मताधिकारको खिल्ली उडाउँदै पाँचवटा वर्ष आफ्नै स्वर्गको सहरमा पौडिने छन् ।

यतिबेला कार्यन्वयनमै नआउने घोषणापत्र लेख्न कोही ‘लाँकुरी भञ्ज्याङ रिसोर्ट’को पिङमा झुन्डिएका छन् त कोही पायक पर्ने आरनमा आफ्नो मस्तिष्क उदाउँदै छन् । चटक न हो, ल्याकत भएसम्मका जात्रा प्रदर्शन गर्न कोहीभन्दा कोही कम छैनन् ।

हुन त गमलामा धान रोपेर धान दिवस मनाउने हाम्रै देश हो । यद्यपि यी ढाँट्न खोज्ने तर ढाँट्नै नजान्नेहरूको उद्देश्य कति फराकिलो होला ? हिम्मत भए अब त घोषणापत्र होइन, लाजकाजले पनि ग्यारेन्टी पत्र ल्याउने समय हो ।

फेरि आफ्ना छलकारी कदमबाट जनता कति उदेक छन् भन्ने पनि यिनीहरुलाई थाहा नभएको होइन । अझै गहिराइ त के भने ‘हामीले जस्तो मादल बजायो, जनता उस्तै नाचिरहन्छन्’ भन्ने भयानक भ्रमले प्रमुख भनिएका राजनीतिक दलहरु जेलिएका छन् ।

नाम चलेकै पार्टीका सुकुम्बासी नेताले बालुवाटारको जग्गा आफ्नो नाममा गरेको तथ्यबारे तपाईं–हामी जानकार नै छौँ । अस्ति भर्खरै टिठलाग्दो सम्पत्ति सार्वजनिक गरेका नेताहरुको अहिले चुनावी जात्रा हेर्नुस् त । गरिब देशका नेताहरुमा एकाएक यो सुल्तानी ठाँट कहाँबाट आयो ? जसलाई हेरेर आम मानिस जिब्रो टोकिरहेका छन् ।

यी सबैको नियमन गर्न राज्यको नुनपानी खाएर अफिस धाउनेहरु के हेरिरहेका छन् ? कि उनीहरुको काम पनि घुम्ने कुर्सीमा तेर्सिएर टिकटक बनाउने मात्रै हो ?

भए÷नभएका उपद्रो गरेर पनि चुनाव जित्ने ग्यारेन्टी छैन । धुरन्धर राजनीतिज्ञ भनिएकाहरू पनि चुनाव जित्न रुनुपरेको छ । गिडगिडाउँदै चुलोचौकोमा छिर्नुपरेको छ । तर पनि सामुन्नेमा जितभन्दा बलशाली भएर पराजित उभिएको छ ।

चुनावलाई यिनीहरुले कुलिन वर्गको पिकनिक थलो जस्तै बनाइदिए । जनताको मौलिक हकअधिकार सुनिश्चित गर्ने प्रतिनिधिसभालाई घुमघाम गर्ने अनि मन लागेको बेला एक दुई अंश भाषण सुनाउने रंगमञ्च ठान्न थाले ।

विचरा खल्तीको चल्ती रकम जस्तै बनाइएर ख्याउटिएको समानुपातिक प्रणालीको के कुरो गरौं र ? ऊ आफैँ मर्माहत छ । बेथितिको पहाडमा उभिएर सुशासनको पञ्चामृत बाँड्नेहरुबाट समृद्धिको सेरोफेरो कल्पना गर्ने हामीहरु पनि कम्ता मूर्ख होइनौँ ।

बिनाअर्थ धुवाँ पुत्याउन्जेल पट्किने हाम्रा तालीहरु पनि यो बेथितिका जिउँदा जन्ती हुन् । अझ अचम्म त यी सबैमा मिसिएको अचेलका उम्मेदवारहरुको प्रतिबद्धता पो छ त ।

‘अब हामीले दूध, तरकारी र चियापत्ति बेच्न नसकेको अवस्थामा हाइड्रोजन र एमोनिया बेच्ने’ रे ।

मदहोस बनेका यिनीहरु बिहानैदेखि लागुऔसध सेवन गर्छन् कि के हो ? हुन त धनबलको चाकरीमा फुरुङ्ग परेको यो निर्वाचन प्रणाली नै झुर अनि खेदजनक छ ।

विचरा– ऋणधनको जोहो गरेर पाखुरा सुर्किनेहरुलाई मात्रै के आक्षेप लगाउनु र । आखिर उनीहरूको यो अश्लिल दौड चुनावदेखि–चुनावसम्म त हो ।

–लमही दाङ

प्रतिक्रिया दिनुहोस्