Logo
Logo

रक्सी र मासु-भातसँग नसाटौं अमूल्य मत



भनिन्छ, भुक्ने कुकुरले टोक्दैन । अर्थात ठूल्ठूला गफ गर्नेले केही गर्न सक्दैनन् । लाग्छ, यो उखान नेताहरूकै बन्यो ।

मान्छेसँग एउटा न एउटा क्षमता हुनैपर्छ । काम नगरे गफ जोतेरै भएपनि बाँच्नु त पर्यो ! नेताहरुसँग काम गर्ने क्षमता त त्यस्तै हो, गफ हान्ने कलाचाहिँ छ ! बनेको भाष्य ।

काम गरेर जनताको मन जित्न सक्दैनन्, गफ जोतेर जनता झुक्याउने काम चाहिँ गरेकै छन् ।

आम निर्वाचन नजिकिएसँगै नेता गाउँ पसे । र, कला प्रस्तुत गरिरहेका छन् ! जनतालाई झुक्याइरहेका छन् ।

सपना बाँडिरहेका छन्– गाउँदेखि सहरसम्म ‘चुच्चे रेल’, सिनित्त सडक, अलौकिक सुरुङमार्ग, गाउँघर झिलिमिली, स्वर्गजस्तो गाउँ…!

सबैलाई आउँआउँ लाग्ने ठाउँ, एक घर एक सरकारी अधिकृत, गाउँमै कलकारखाना, भ्रष्टाचारको अन्त्य, उद्योग, पर्यटन, कृषि, सूचना प्रविधिलगायतको विकास… कति हो कति !

विगतमा गरेका वाचा पूरा गरेका र आगामी दिनमा पनि वाचा पूरा गर्ने इमानदार जनसेवकलाई मतदान गर्न हात कमाउनु पर्दैन । तर, राजनीतिक आस्थाकै आधारमा, केही स्वार्थकै भरमा नराम्रालाई पनि मतदान गर्नु चाहिँ अपराध हुन्छ ।

भोट तान्न नेता र आरौटे भरौट मायावी बनेका छन् । उनीहरूको गफ सुन्दा लाग्छ- एकाध वर्षमै कयापलट हुन्छ । तर, आफूले जित्नुपर्यो । अरुले जिते त्यस्तै हो ! लाग्छ, नेताहरू कामधेनु गाई हुन्- जे माग्यो त्यही पूरा गरिने । जुन उम्मेदवारको कुरा सुन्यो, उसैलाई भोट दिउँदिउँ लाग्ने !

भोट दिउँदिउँ लाग्नु र भोट दिन धेरै अन्तरको कुरा, सोचेर भोट दिनु मुख्य कुरा हो ।

भोट दिने बेलामा अघिल्लो निर्वाचनमा गरिएका उडन्ते गफहरु र गफ दिनेहरुको अनुहार एक पल्ट हेरेर मात्र भोट दिने कि ?

संसदीय अभ्यासको यहाँसम्म यात्रामा यिनले कति भाषण गरे ? कति सपना देखाए ? कति वाचा गरे, कति पूरा गरे ? त्यसको लेखाजोखा त हुनै पर्छ होला । गफले गगन बनाउनेहरुले जनतलाई झुपडीमा छोडेको वास्ताविकता पनि सम्झनु पर्छ होला ।

देश चलाउने अधिकार प्रत्याजोजन गर्ने अधिकार यतिखेर तपाईंको हातमा छ । त्यसैले विगत झै चुक्नु हुँदैन अब । अब पनि पैसा, मासुभात र रक्सीमा आफ्नो अमूल्य मत साट्नु मुर्खता हुन्छ । विगतका गल्ती दोहार्याउने छुट छैन ।

निर्वाचन दलका नेताका लागि परीक्षा हो । नेताहरुका लागि प्रश्नपत्र बनाउने र उत्तरपुस्किता जाँच्ने अधिकार जनतामा निहीत छ । नेताहरुको काम हेरेर अङ्क दिने भन्ने अधिकार र जिम्मेवारी जनताको हो । अर्थात कुन नेतालाई पास गराउने वा फेल गराउने अन्तिम फैसला तपाईंको हातमा छ ।

कुनै नेतालाई मतदान गरेर निर्वाचित गर्नु देश चलाउने अनुमति दिनु हो । तपाईंले मतमार्फत दिएको अनुमति दुरुपयोग त भएको छैन ? यो यसपटक त तपाईं आत्मसमीक्षा गर्नै पर्छ । विगतमा तपाईंबाट पाएको अनुमति ठीक थियो या थिएन लेखाजोखा गर्नै पर्छ ।

०७४ को निर्वाचनमा भान्सा–भान्सामा ग्यासका पाइप जोडिदिने, हनुमाननगर–कोलकाता पानीजहाज चल्ने, केरुङ–काठमाडौं रेल चल्ने, काठमाडौंमा मेट्रो रेल, मोनो रेल गुड्ने आदि इत्यादि आश्वासन बाँडियो । तर, निर्वाचनपछि सपना झैँ हरायो ।

यसरी अनेक सपना देखाएर आफै निदाएकाहरुलाई वाचा किन पूरा नगरेको ? भनेर सोध्नै पर्छ ।

जनतालाई मूर्ख ठानेर पटक–पटक झुटा आश्वासन दिने नेताबाटै शासित हुनुपर्ने नियति बनेको छ । उनीहरुले बारम्बार जनतालाई राष्ट्रियता र विकास सम्मिश्रित ललिपप बेचिरहेका छन् । तर, त्यो ललिपपले न पेट अघायो न जिब्रोमा स्वाद रहिरह्यो । जनतालाई मूर्ख बनाउन सकिन्छ तर सधैँ होइन भन्ने पाठ सिकाउने बेला हो यो ।

मतदाता क्षणिक लाभ र आवश्यकता पूर्तिको चाहनामा सस्तैमा समेटिनु ठीक होइन । त्यसैको फाइदा उठाउँदै एउटा निर्वाचनमा गरिएका प्रतिबद्धता र आश्वासन अर्को निर्वाचनमा दोहोर्यान्छ ।

केही लाभको लागि हामीले यस्ता झुटा आश्वासन र वाचालाई पत्याइरहने र प्रश्न नगर्ने हो भने नेताले बारम्बार फाइदा लिइरहन्छन् । झुटा आश्वासनको बलमा बन्ने महलबाट राजकाज चलिरहन्छ ।

आश्वासनमा लोभिने जनभाव बुझेपछि नेता हरेक निर्वाचनमा नयाँ-नयाँ आश्वासन सिर्जना गर्छन् । त्यसैमा हाम्रो मत साटियो भने फेरि आफैलाई धोका हुन्छ ।

अधिकांश नेता पपुलिस्ट एजेण्डा बाँडेर मत आकर्षित पार्न अग्रसर छन् । नेताले जीवनभर ढाँटेर राजनीति गर्दा पनि हामीले पत्याइरहने हो भने हाम्रो अवस्था यस्तै रहन्छ ।

हामीले प्रश्न नगर्दा, हामीले सधैं पत्याइदिँदा हामीलाई हेपिरहन्छन्, नेता । नेतामा ‘जे गरेपनि प्रतिवाद हुँदैन’ भन्ने कोणबाट मनोवल बढेको छ । गरिब जनता राजनीतिक दल र नेताबाट शोषण भइरहन्छ ।

विगतमा गरिएका प्रतिबद्धता पूरा भए कि भएनन् ? भनेर दल र उम्मेदवारसँग प्रश्न गर्ने चेतको खाँचो छ । आफैले आफैलाई प्रश्न गरे हुन्छ । आफ्नो प्रश्नको उत्तर विगतमा नेताले गरेका वाचा र गरेका कामबाट खोजे हुन्छ ।

विगतमा गरेका वाचा पूरा गरेका र आगामी दिनमा पनि वाचा पूरा गर्ने इमानदार उम्मेदवारलाई मतदान गर्न हात कमाउनु पर्दैन । तर, राजनीतिक आस्थाकै आधारमा, केही स्वार्थकै भरमा नराम्रालाई पनि मतदान गर्नु चाहिँ अपराध हुन्छ ।

प्रतिक्रिया दिनुहोस्