काठमाडौं । काठमाडौं–१ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह घरदैलो अभियानमा व्यस्त छन् । सोक्रममा काठमाडौं–१ का जनताले पानीको अभाव र सरकारी सेवामा ढिलासुस्ती भएको उनीसँग् गुनासो गरेका छन् ।
शनिबार बिहान नेता सिंह घरदैलो कार्यक्रममा निस्किएका थिए । सोक्रममा मतदाताले आफूसँग पर्याप्त पानी आपूर्ति, सरकारी सेवा छिटो छरितो र संघीयताको सफल कार्यान्वयन होस् भन्ने चाहेको नेता सिंहले बताउँदै उनले जनताका गुनासो सम्बोधन गर्न आफू तयार रहेका बताए ।

नेता सिंहले भने, ‘यस वर्ष मतदाताबाट राम्रो प्रतिक्रिया आइरहेको छ । मेलम्चीको पानी आपूर्ति र तीनै तहका सरकारलाई व्यवस्थित बनाउने कुरामा आफू प्रतिवद्ध छु ।’ विगतका निर्वाचनमा जाँदाका प्रतिक्रिया र अहिलेका प्रतिक्रियामा धेरै अन्तर र राम्रो प्रतिक्रिया पाएकामा आफूलाई उत्साह जागेको उनले बताए ।
नेता सिंहले संघीयता अनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको भन्दै कांग्रेसले संविधानको अक्षरशः कार्यान्वयन गर्ने बताए । उनले भने, ‘दुई वटा निर्वाचन त संविधान लेखनमा नै गयो, कांग्रेसको नेतृत्वमा संविधान जारी गरेका थियौं तर कार्यान्वयन गर्ने बेलामा कांग्रेसले नेतृत्व पाएन । जनताको मत पाएकाले गर्न सकेनन् । अब हामी कार्यान्वयनमा जाने हो ।’
नेता सिंहले सत्तारुढ पाँच दलीय गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि भएको बताउँदै भने, ‘हामीले राजनीतिक स्थिरता ल्याउन जरुरी छ, जारी भएको संविधानलाई कार्यान्वयन गर्नुपर्छ ।’ नेता सिंह सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । उनीसँगै काठमाडौं–१ मा राप्रपाका रविन्द्र मिश्रले चुनावी मैदानमा छन् ।












