दोलखा । नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले सत्ता गठबन्धनले दोलखामा बुथ कब्जा गर्ने तयारी गरेको बताएका छन् ।
चुनाव प्रचारप्रसारको क्रममा पूर्वमन्त्रीसमेत रहेका गुरुङले गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्छु भनेर जनतामा प्रचार गरेर भ्रम पैदा गरेको भन्दै यस्तो आरोप लगाएका हुन् ।

गुरुङले भने, ‘गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्छौँ भन्ने मनोविज्ञान लिएर हिँडेको छ । अब एमाले दोलखाले यही चुनावबाट त्यो बुथ कब्जाको दुष्प्रयास अन्त्य गर्ने सार्वजनिक घोषणा गर्दछ । दोलखाको कुनै पनि ठाउँमा बुथ कब्जा हुने छैन, ढुक्क भएर मतदान गर्न सकिने छ ।’
दोलखामा गठबन्धनले चुनाव जित्ने मनोविज्ञान पालेर बसेको भएपनि उनीहरूको त्यो सपना पूरा हुन एमालेले नदिने उनले बताए । गुरुङले भने, ‘दोलखाको प्रमुख शक्ति अहिले पनि एमाले हो र भविष्यमा पनि एमाले नै हुनेछ । विभिन्न शक्तिको प्रयोगबाट चुनाव जित्ने सपना केवल सपनामै सीमित पारिने छ ।’
उनले गठबन्धनले राज्यको नियम र विधि उल्लङ्घन गरेर चुनावी प्रचार गरिरहेको समेत आरोप लगाए । दोलखाबाट प्रतिनिधिसभातर्फ बालकृष्ण सिवाकोटी, प्रदेशसभा (क)मा नरबहादुर श्रेष्ठ र प्रदेशसभा (ख)मा भरतबहादुर केसी उम्मेदवार छन् ।












