
काठमाडौं । नेपाली कांग्रेसले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उमेदवारको पक्षमा लागेका नेता तथा कार्यकतालाई स्पष्टीकरण सोधेको छ ।
पार्टीका आधिकारिक उमेदवार डिल्लिराज पन्तका विरुद्धमा उम्मेदवारी दिएका पुष्करनाथ ओझाको पक्षमा लागेको भन्दै पूर्वजिल्ला सचिव पूर्णबहादुर कुँवरसहितका नेतालाई २४ घण्टे स्पष्टीकरण सोधिएको हाे ।
नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार विभाग प्रमुख तपेन्द्र भुसालले पूर्वसचिव कुँवर, महाधिवेशन प्रतिनिधि गौरी लामा र भीमबहादुर शाहलगायतका नेताहरुसँग स्पष्टीकरण मागिएको जानकारी दिए ।
उनका अनुसार पूर्वमहासमिति सदस्य आन्नदराज जोशी, छत्रराज जोशी र बब्लु चौधरी, क्षेत्रिय प्रतिनिधि दीर्घराज भट्ट र राजकुमार सिँहलगायत नेतालाई स्पष्टीकरण सोधिएको छ ।
भुसालका अनुसार वडा कमिटिदेखि नगर, क्षेत्र र जिल्लास्तरसम्मका दर्जनौँ नेता, कार्यकर्तालाई पार्टीका आधिकारिक उमेदवारविरुद्ध लागेको पाइएपछि स्पष्टीकरण मागिएको हो ।
उनीहरूलाई पार्टीका उमेदवारविरुद्ध लागेकाले अनुशासनको कारबाही किन नगर्ने ? भनेर प्रश्न गरेको छ । धनगढी उपमहानगरपालिका–१३ मा मात्र १४ जना स्थानीय नेतालाई स्पष्टीकरण सोधिएको छ ।












