
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । आमसभाका लागि ओली आज बिहान पोखरा जाँदैछन् ।
कार्यक्रममा अध्यक्ष ओलीसँगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल (बैरागी) पनि कार्यक्रममा सहभागि हुने निर्वाचन प्रचार प्रमुख दर्शन लामाले जानकारी दिए ।
यस्तै, गण्डकी प्रदेशसभा तर्फ १ (१) का खगराज अधिकारी १ (२) का वेदबहादुर गुरुङ, क्षेत्र नम्बर २ (१) का भीम कार्की, २ (२) की मीना गुरुङ, क्षेत्र नम्बर ३ (१) का गणेशमान गुरुङ, ३ (२) का उम्मेदवार राजीव पहारी सभामा सहभागी हुने छन् ।प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसंगै राजनैतिक दलहरु आ-आफ्ना निर्वाचन क्षेत्र पुगेर मतदाताहरुसँग साक्षात्कार, घरदैलो र सभा गर्दै मत माग्न व्यस्त रहेका छन् ।
मंसिर ४ गते देशभर एकैसाथ हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले कात्तिक १७ गते देखि मंसिर १ गते सम्म दलहरुलाई मत माग्न र निर्वाचन लक्षित कार्यक्रम गर्न समय दिइएको छ । सुदुरपश्चिमको दार्चुलाबाट सुरु गरेकाे एमालेको निर्वाचन प्रचार कार्यक्रममा सुदुरपश्चिमका विभिन्न जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर फर्केका अध्यक्ष ओली आज गण्डकी प्रदेश जाने भएका छन् ।












