Logo
Logo

गठबन्धनलाई ओलीको चुनौती- निर्वाचनपछि म प्रधानमन्त्री बन्छु, तपाईंहरूको प्रधानमन्त्री को ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । सोमबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि आफू प्रधानन्त्री बन्ने ठोकुवा गरे ।

उनले सत्ता गठबन्धन दलहरुलाई प्रधानमन्त्रीको उम्मेदवार अगाडि सार्न चुनौती समेत दिए । उनले भने, ‘म प्रधानमन्त्री बन्छु । म गठबन्धनको निर्णय सुन्न चाहन्छु । जनता गठबन्धनको निर्णय सुन्न चाहन्छन् । को हो तपाईंहरुको प्रधानमन्त्री ?’

उनले गठबन्धनमा विचार र गन्तव्य नभएको आरोप लगाए । गठबन्धन दलहरुले एउटै घोषणापत्र नबनाएर फरकफरक बनाएको बताउँदै कुनै घोषणापत्र पनि कार्यान्वयन नहुने दाबी गरे । उनले लोकतान्त्रिक मूल्यमान्यताका लागि पनि एमालेले बहुमत प्राप्त गर्नु आवश्यक भएको बताए ।

विचार नभएका, नीति नभएका गठबन्धनले फरक–फरक घोषणापत्र सार्वजनिक गरेको उनको आरोप थियो । गन्तव्य नभएकाले फरक–फरक घोषणापत्र बोकेर हिँडेको बताउँदै उनले उनीहरू जनतासँग झुटो आवश्वासन बाँढिरहेको बताए ।

लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउन सकिने र नेकपा एमालेले बहुमतको सरकार बनाएर वार्तामार्फत फिर्ता ल्याउने बताए । उनले आफूहरूले देशलाई प्रगतिको बाटोमा लगेको बताए । अध्यक्ष ओलीले देशमा सुदृढ राष्ट्रियशक्ति आवश्यक भएको र त्यो एमाले भएको जिकिर गरे ।

एमालेले घोषणापत्रमा २० वटा ग्यारेन्टी क्षेत्र तोकेको बताउँदै उनले त्यसमा राष्ट्रिय समृद्धिका सबै कुरा समेटिएको बताए । सामाजिक सुरक्षाका क्षेत्रमा धेरै विषयलाई नेकपा एमालेले उठाउनुका साथै त्यसको व्यवस्थापन गर्दै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्