Logo
Logo

उम्मेदवारका साझा एजेण्डामा ‘ताक्लाकोट सडक’



बझाङ । आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भानुभक्त जोशी तीन दशकअघि चुनाव लड्दा उनका एजेन्डा थिए बिजुली र बाटो । ताक्लाकोट सडकबारे चर्चा हुन थालेको पनि त्यति बेलैदेखि हो ।

ताक्लाकोट सडकको ट्र्याक, अरु ग्रामीण सडक बिस्तार, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन यस्तै-यस्तै थिए चुनावी एजेण्डा ।

त्यसयता देशमा धेरै चुनाव भए । तर उम्मेदवार फेरिए होलान एजेण्डा फेरिएका छैनन् । त्यसो त यस क्षेत्रका उम्मेदवार पनि भानुभक्त जोशी नै छन् । कैयन राजनीतिक परिवर्तन पनि भए । तर हरेक निर्वाचनमा जोशी र उनका पार्टीका एजेण्डा भने फेरिएनन् ।

आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार जोशीले यसपटक पनि ताक्लाकोट नाका खुलाउने र बझाङलाई प्रमुख व्यापारिक केन्द्र बनाउने योजना छाड्नु भएको छैन, बरु थप बिस्तार गर्ने बाचा गरेका छन् ।

‘मैले राजनीति सुरु गर्ने बेला डडेल्धुरासम्म मात्रै सडक पुगेको थियो तर अब बझाङका सबै वडासम्म बाटो पुग्दैछ’, जोशीले भने , ‘अधिकांश ठाउँमा सडक पुगिसक्यो । प्रत्येक वर्ष थोरै–थोरै काम गर्दै यहाँसम्म पुग्न सकेका हौँ, यसमा मेरो मुख्य भूमिका छ ।’

उनले हरेक पटक आफ्नो पार्टी सरकारमा हुँदा होस् वा नहुँदा होस् आफूले निरन्तर ताक्लाकोटका बारेमा वकालत गरिरहेको दाबी गर्छन् । यसपटक निर्वाचन जिते ताक्लाकोट सडक खोलेरै छाड्ने उनको बाचा छ । ‘म धेरै भन्दिन तर चुनाव जिते मेरै कार्यकालमा उत्तरी नाका खुल्छ, यो भनेको समृद्धिको ढोका खोलिनु हो’, उनले भने ।

आफू पदमा रहँदा सडक निर्माणका लागि सक्दो बजेट विनियोजन गराएको र आफ्नै सक्रियतामा केही ठाउँमा ट्र्याक खोलिएको उनको दाब छ ।

त्यसैगरी नेकपा (एमाले)का पुराना नेता एलबी रावल पनि आफू जिल्ला विकास समितिमा र संविधानसभामा रहँदा उत्तरी नाकाकै बढी वकालत गरेको दाबी गर्छन् ।

रावलको सुरूआती निर्वाचनको एजेण्डा पनि ताक्लाकोट नाका नै थियो । ‘म विभिन्न पदमा रहेका बेला ताक्लाकोट सडक नै मेरो प्राथमिकतामा प¥यो । म जिविस बझाङको क्षेत्र नम्बर ९ थलाराबाट क्षेत्रपाल हुँदासमेत यो सडक हुनुपर्ने माग गरिरहन्थे । २०७० मा निर्वाचित भएपछि सेती नदी तर्ने पहिलो पुल निर्माण, सेती नदी र कालङगालगायतका नदीमा १० वटा पुलको डिपिआर तयार भएर निर्माणको सुरूआत गराएँ’, उनले भने ।

उनले चैनपुर–ताक्लाकोट सडक निर्माणका लागि आफूले रु एक अर्ब विनियोजन गराएको स्मरण गरे । ‘दोस्रो पटक रु ४० करोड हालेर चैनपुर–ताक्लाकोट भनेर एउटा प्रोजेक्ट बनाएर रु एक अर्ब ४० करोडको ठेक्का गराएको हुँ’, उनले भने । अब निर्वाचित भए ताक्लाकोट नाका खुलाउन सक्दो पहल गर्ने उनको जिकिर छ ।

अफिलाल ओखेडाले पनि आफू संविधानसभा सदस्यसमेत रहेका बेला ताक्लाकोट नाका खुलाउने एजेण्डा बनाएको दाबी गरे । उनले पनि आफू संविधानसभा सदस्य हुँदा ताक्लाकोट सडकका लागि करोडौँ रूपैयाँ बजेट विनियोजन गराएको जिकिर गरे ।

उनले भने, ‘त्यसबेला संसद्मा पनि ताक्लाकोट सडककै बारेमा वकालत गरिरहेको हुँ । यसपटक जिते भने ताक्लाकोट नाका खुलाएरै छोड्नेछौँ ।’ बझाङको आर्थिकस्तर उकास्नका लागि उत्तरी नाका खोल्नैपर्ने उनको भनाइ छ ।

नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऐन महर, प्रदेश १ का लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार पृथ्वीबहादुर सिंह र प्रदेश २ का गठबन्धनकै उम्मेदवार भीम भण्डारी भने निर्वाचन लड्ने नयाँ अनुहार हुन् ।

निर्वाचनका लागि नयाँ अनुहार भए पनि चुनावी एजेण्डा भने सबै उम्मेदवारका लागि ताक्लाकोट सडक नै छ । लामो समय पार्टीकै जिम्मेवारीमा बस्दै आएका नेताहरु बझाङमा आएको विकासे बजेटको साक्षीदेखि बजेट माग्ने पहलकर्ता पनि छन् । अब आफू सांसद भए ताक्लाकोट नाका खुलाएर सम्भावनै सम्भावना भएको बझाङले छिट्ट्रै रङ फेर्ने तीनै जनाको दाबी छ ।

‘हाम्रो पार्टी सरकारमा भएको बेलामा ताक्लाकोटमा बजेट आएको र अब पनि म पदमा पुगेपछि अरू काम थन्क्याएर पनि ताक्लाकोट नाका खुलाउने प्रमुख काम रहन्छ’, महरले भने ।

पहिलो व्यापारिक मार्गका रूपमा रहेको ताक्लाकोट सडक खुल्ने वित्तिकै बझाङको जडीबुटी, हिमाली उत्पादन सबै निर्यात हुने र अर्थतन्त्रमा बझाङ अब्बल हुने उनको भनाइ छ ।

कति काम भयो ताक्लाकोट सडकमा ?

ताक्लाकोट नाका पुग्ने चीनले एकतर्फी रूपमा काम सम्पन्न गरेको छ । चीनले उरै भन्ज्याङ् नजिकै ठाडो ढुंगासम्म सडक निर्माण गरिसकेको छ । बझाङ सदरमुकाम चैनपुरबाट एक सय तीन किलोमिटर दूरीमा पर्ने उरैमा पुग्न नेपालतर्फबाट भने अझै ६३ किलोमिटर सडक खन्न बाँकी छ । यता बझाङबाट भने ४० किलोमिटर उत्तरसम्म मात्रै ट्याक खुलेको छ ।

कछुवागतिमा काम भइरहेको सेती लोकमार्ग उत्तर खण्डअन्तर्गत पर्ने यो सडक निर्माणका लागि दुई वटा ठेकेदार कम्पनीले काम गरिरहेका छन् । भौतिक प्रगति सन्तोषजनक नभएको सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर-ताक्लाकोट) सडक आयोजना कार्यालयले जनाएको छ । १८ किलोमिटर दूरीको चैनपुर-रुवातोला सडकलाई चौडा बनाउने कामका लागि २०७३ मा ठेक्का सम्झौता भएर काम सुरू गरेको लुम्बिनी र राजेन्द्र निर्माण सेवाले हालसम्म काम सम्पन्न गर्न सकेको छैन ।

दुई वर्षभित्र काम सक्ने गरी सुरूआती ठेक्का सम्झौता गरेकोमा सात वर्षमा ९५ प्रतिशत काम गरेको आयोजना कार्यालयका प्रमुख सुरेन्द्रबहादुर सिंहले बताए । यस्तै तल्कोटको रूपातोलादेखि साइपालको धुलीसम्म ४० किलोमिटर सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नागार्जुन जेभी कम्पनीको काम झनै कछुवा गतिमा छ । साढे चार वर्षमा सम्पन्न गर्ने गरी २०७४ मा ठेक्का लिएको यस कम्पनीले पाँच वर्ष हुँदा पनि ५० प्रतिशत काम गरेको छैन ।

चार वर्षको अवधिमा १४ किलोमिटर ट्रयाक खोलेको छ । आयोजना कार्यालय प्रमुख सिंहका अनुसार यस नागार्जुन जेभीले ०७६ पछिका ३ वर्षमा थप ६ किलोमिटर ट्रयाक खोलेको छ ।

‘प्राकृतिक स्रोतले भरिएको यी ठाउँमा कैयन सम्भावना छन्’, एमालेका उम्मेदवार ऐन महरले भने, ‘दुई हजार मेगावाट विद्युत उत्पादन, पर्यटन गन्तव्य र कृषिको अथाह सम्भावना छ, त्यसैले चैनपुर ताक्लाकोट बाटो मानसरोबरसम्म जोड्न सकियो भन वैदेशिक व्यापार गर्न सजिलो हुनेछ ।’

नेपाली कांग्रेसका नेता तथा प्रदेश १ बाट गठबन्धनका उम्मेदवार पृथ्वीबहादुर सिंहले पनि बझाङको भविष्य सडक र विद्युतबाट फेरिने बताए । उनले भने, ‘गाउँ-गाउँमा सडक पुगिसकेको छ । अब ताक्लाकोट नाका खुलेपछि यहाँको उत्पादन चीनसम्म पु¥याउन सकिन्छ ।’

एमालेका उम्मेदवार ओखेडा पनि आफूलाई हाइड्रोपावरको पक्षपाती भएको बताउछन् । उनले भने, ‘मैले सांसदमा भएको बेला धेरैजसो हाइड्रोपावरकै बारेमा वकालत गरेँ । त्यसैको परिणाम अहिले पनि धमेनामा २१० मेगावाटको विद्युुत प्राधिकरणले मेगा प्रोजेक्ट बनाउँदैछ, ८७ मेगावाटको चैनपुरमा बन्ने तयारी छ ।’

राधा ज्ञावाली उर्जामन्त्री भएको बेलामा पटक–पटक बझाङका योजनाको बारेमा ध्यानाकर्षण गराएको उनको भनाइ छ । अब पनि चुनाव जितेर संसदमा गएपछि धमेनामा बन्दै गरेको हाइड्रोपावर, कालङ्गा हाइड्रो, बाहुलीगाड, सुनीगाड तथा ओखेलजस्ता ठूला हाइड्रो निर्माणमा तीव्रता दिन पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्