हेटौँडा । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडा आफ्नो गाडीबाट ओर्लनसाथ एक स्थानीयले हातपात गरेका हुन् । उनलाई हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका थिए ।
उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।
खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइदै गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको उनले बताए ।












