Logo
Logo
टिप्पणी

मंसिर ४ हुनसक्छ- एमाले बढारिने दिन !



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकियो । राजनीतिक दल चुनावी प्रचारप्रसारका लागि दौडाहामा छन् । देशभर निर्वाचनको माहोल छ । अबको १२ दिनमा मतदान हुन्छ ।

सत्तारुढ दल आवद्ध एउटा गठबन्धन र नेकपा एमालेको नेतृत्वमा अर्को गठबन्धन बनेको छ । यी दुई गठबन्धनबीच नै मंसिर ४ मा मुख्य प्रतिस्पर्धा हुने छ । 

सोझो हिसाबमा सत्तारुढ गठबन्धनसामु एमाले गठबन्धन कमजोर छ । सत्तारुढ गठबन्धनमा इमानदारिता प्रस्तुत भए यसपटक एमालेले ०७४ को निर्वाचनमा कांग्रेसले भोगेको नियति भोग्नुछ ।

एमालेजनमा ठूलो भय छ । मंसिर ४ को परिणाम आफ्नो अनुकूल नहुने सिङ्गो एमालेको ठम्याइ हो । त्यसैले, जनमत आफ्नो पक्षमा पार्न एमाले अनेक जुक्तिमा जुटेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली देश दौडाहामा छन् । हेलिकोप्टर चढेर एकैदिन चार–पाँच चुनावी सभा सम्बोधन गर्छन् । ओलीका हरेक सम्बोधनमा त्रास र क्रोध देखिन्छ, सुनिन्छ । 
जहाँ पुगे पनि एउटै गाली– ‘गठबन्धन देशको पिलो हो । मंसिर ४ मा निचोर्नु पर्छ ।’ 

ओलीलाई थाहा छ– दोस्रो र तेस्रो दल कांग्रेस–माओवादी एक हुँदाको परिणाम, एमालेले नराम्ररी हार्नुपर्ने छ । अघिल्लो निर्वाचनमा कांग्रेसको जस्तै हालत भोग्नुपर्ने छ ।

अघिल्लो आमनिर्वाचनमा कांग्रेसविरुद्ध वाम गठबन्धन बनेको थियो । वाम गठबन्धनको हुरीले कांग्रेस नराम्ररी बढारियो । यसपटक एमालेको बढारिने पालो !

अघिल्लो निर्वाचनमा कांग्रेस
वाम गठबन्धनका कारण ०४८ सालदेखि पकड राख्दै आएका धेरै ठाउँमा कांग्रेसले गुमायो । कुनै प्रदेशमा निल जस्तै भयो । 

गण्डकी प्रदेशमा प्रतिनिधिसभातर्फ कांग्रेसले एक सिट जित्यो । नवलपुर–१ बाट विजयी भएर कांग्रेसका तत्कालीन महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसको बिउ जोगाए ।

बागमती प्रदेशको ३३ प्रतिनिधिसभा सिट मध्ये पाँच वटा मात्र जितेको कांग्रेस नराम्ररी खुम्चियो । प्रदेश सभामा पनि कांग्रेस उस्तै कमजोर बन्यो । 

अघिल्लो निर्वाचनमा कमजोर भएर कांग्रेस कमजोर भएको होइन । कांग्रेसविरुद्ध बनेको वाम गठबन्धनका कारण मात्र कांग्रेस कमजोर भएको थियो ।

यसपटक, ०७४ मा कांग्रेसले भोगेको नियति एमालेले भोग्ने नै देखिन्छ ।

बदनाम एमाले, कमजोर एमाले
एमालेका लागि ०७४ जस्तो अनुकूल परिस्थिति छैन । वाम गठबन्धन छैन । पार्टी विभाजन भएको छ । जो सँग गठबन्धन भयो उनीहरूको भर नै छैन ।

बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा ६० देखि ६५ प्रतिशत परिणाम आफ्नो पक्षमा आउने ओलीको दाबी थियो । तर, २७ प्रतिशतमा चित्त बुझाउनु पर्यो । 

स्थानीय निर्वाचनको परिणामलाई आधार मान्ने हो भने प्रतिनिधिसभा र प्रदेशसभाको परिणाम पनि एमालेका लागि अपेक्षाकृत हुने छैन । एक्लै सरकार चलाउन सक्ने बहुमत प्राप्त गर्ने ओलीको घोषणा पुनः हावादारी हुने देखिन्छ ।

पाँच वर्षको अवधिमा एमालेले अधिक बदनामी कमायो । प्रधानमन्त्री हुँदा ओलीले चालेको असंवैधानिक कदमदेखि आगामी निर्वाचनका लागि भएको टिकट बिक्रीको घटनाले एमालेले बदनाम छ ।

एमाले निर्माणमा पसिना बनाएकाहरू एमालेलेमा नहुनु, राम्रो राजनीतिक छवि बनाएका भीम रावल र घनश्याम भुसालहरुले टिकट नपाउनु तथा बदनाम एकनाथ ढकाल र राजावादी कमल थापाहरूले एमालेको टिकट पाउनुले एमाले कार्यकर्ता रुष्ट छन् ।

होली वाइन र राजावादीसँग साँठगाँठले पार्ने प्रभाव
एमाले अध्यक्ष ओली सत्ता गठबन्धनलाई अपवित्र गठबन्धन भन्छन् । तर, त्यो भन्दा अपवित्र गठबन्धन त उनैले गरेका छन् ।
ओली राजावादी नै भए पनि एमाले राजावादी पार्टी होइन । तर, ओलीले एमालेलाई पनि राजावादी बनाएका छन् । खुङ्खार राजावादी राप्रपा र हिन्दुवादी राप्रपा नेपालका उम्मेदवारलाई जिताउने जिम्मा ओलीले लिएका छन् । यो भन्दा अपवित्र र अनैतिक साँठगाँठ अरु के हुन्छ ?

जसपा र एमालेबीचको तालमेल पवित्र होइन । केही दिन अघिसम्म जसपाले एमालेलाई घोर प्रतिगामी शक्ति भन्थ्यो । त्यसरी नै एमालेले जसपालाई अतिवादी शक्तिको रुपमा लिन्थ्यो । तर, पराजयको डरले यी दुई शक्तिबीच अनाहकमै तालमेल भयो । 

यसको प्रत्यक्ष मार एमालेले भोग्नुपर्ने छ । अपवित्र तालमेलले आफ्नै कार्यकर्तामा नकारात्मक प्रभाव परेको छ । एमालेप्रति जनतामा बाँकी रहेको विश्वास पनि डगमगाएको छ ।

०७४ मा ८० सिट प्रत्यक्षबाट जितेको एमाले आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ३५ देखि ४० सिटमा खुम्चने एमालेभित्रै विश्लेषण छ । यसको मुख्य कारण हुनेछ, अपवित्र र अनैतिक साँठगाँठ ।

जसपा र राप्रपासँग गठबन्धन गरे पनि एमाले इमानदार रुपमा प्रस्तुत हुन सकेको छैन । तालमेल हुँदा जसपा र राप्रपालाई छोडेको अधिकांश क्षेत्रमा एमालेले बागी खडा गरेको छ । त्यसकारण जसपा र राप्रपा पनि एमालेका लागि इमानदार भएर प्रस्तुत हुनु बाध्यकारी छैन । त्यसको परिणाम पनि एमालेले भोग्ने छैन ।

ओली अहङ्कारको व्याक फायर
आगामी निर्वाचनमा एमालेले ओली अहङ्कारको ‘व्याक फायर’ भोग्नुपर्ने देखिन्छ । अनैतिक गठबन्धन र टिकट बिक्रीको घटनाबाट सल्केको आगोले एमालेलाई नराम्ररी लपेट्ने देखिन्छ । 
 
आफ्नो जित सुनिश्चित गर्न ओलीले झापा–३ जुवा हाने । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउने जिम्मा कार्यकर्ताको काँधमा राखिदिए । राप्रपाका उम्मेदवार दीपक बोहरालाई जिताउन ओलीले रुपन्देही–३ जुवा हान्दा एमालेले बौद्धिक नेता घनश्याम भुसालसहित नेता कार्यकर्ता गुमायो ।

ओलीले मकवानपुर–१ कमल थापालाई बेच्दा एमालेले पार्टीको मजबुत जनआधार गुमायो । प्रतिशोधका आधारमा ओलीले भीम रावलको टिकट खोस्दा सिङ्गो अछाम गुमाउँदै छ ।

मधेसमा बलियो आधार भएका पूर्वमाओवादी धारका नेता प्रभु शाहलाई मधेसी भएकै कारण हेप्दा एमालेले मधेस गुमाउँदै छ ।

ओलीले पूर्व माधव समूह र माओवादी धारका नेताहरूलाई उत्तिकै बिच्काएका छन् । अष्टलक्ष्मी शाक्य र बादलहरू त्यसै पनि रुष्ट छन् ।

अहंकारी ओलीका यस्ता अनेक अहंकारयुक्त निर्णय छन्, जो एमालेका लागि घातक सावित हुनेछन् ।

पराजयको डरमा मतदातालाई धम्की
ओलीमा जितको आकांक्षा भन्दा पनि पराजयको त्रास धेरै देखिन्छ । सम्भावित परिणामको भयमा ओली मतदातालाई धम्की दिन थालेका छन् । 

ओली मतदातालाई धम्की दिन्छन्– ‘निर्वाचनपछि एमालेको सरकार नबने देश झन् बर्बादीतर्फ जान्छ ।’

जनतालाई राम्ररी थाहा छ– एमाले पनि कुहिएकै आलु हो !

निर्वाचनका क्रममा जनतालाई आफ्नो आगामी नीति तथा कार्यक्रम सुनाएर, बुझाएर ‘कन्भिन्स’ गर्नुपर्ने हो । तर, ओली त गुण्डागर्दी शैलीमा मतदाता थर्काइरहेका छन् ।

ओलीलाई लाग्दो हो– जनतालाई थर्काएरै जितिन्छ !

ओलीलाई हेक्का हुनुपर्छ– नेपाली जनताले सिधै बन्दुक ताक्ने शासकसँग पनि सिँगौरी खेलेका छन् । परास्त गरेका छन् ।

ओलीको तुच्छता र धम्की एमालेका लागि लाभदायी नभएर प्रत्युत्पादक हुने निश्चित छ । मंसिर ४ मा जनताले ओली तुच्छता र धम्कीको जवाफ फर्काउने छन् ।

प्रतिक्रिया दिनुहोस्