
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम क्षेत्रमा गएराति गएको भूकम्पमा परि ज्यान गुमाएका प्रति दु:ख व्यक्त गरेका छन् ।
अध्यक्ष प्रचण्डले भुकम्पमा परि घाइते भएको तत्काल उद्धार गरि उपचारको व्यवस्था गर्न सरकारसँग अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष प्रचण्डले भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । साथै, घाइतेको उद्धार, राहत तथा पुनःस्थापना र प्रभावित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न संघ र प्रदेश सरकारसँग आग्रह गरेका छन् ।
अध्यक्ष प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘प्राकृतिक विपत्तिको यो दुखद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश, संघीय सरकारसँग अपील गर्न चाहन्छु ।’
उनले भूकम्पबाट प्रभावित जनताको उद्धार तथा राहतमा जुट्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । सुदूरपश्चिमको डोटी जिल्लालाई केन्द्रबिन्दु बनाएर गएराती ६.६ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पका कारण घरहरू भत्कँदा हालसम्म ६ जनाको मृत्यु भएको छ ।












