
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनपछि समाप्त हुने टिप्पणी गरेका छन् ।
कैलालीको अतरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले परित्याग गरेसँगै माधव नेपालको राजनीतिक भविष्य समाप्तितिर गएको भन्दै आगामी निर्वाचनमार्फ समाप्त हुने टिप्पणी गरेका छन् ।
माधवलाई खरानीको डल्लासँग तुलना गर्दै अध्यक्ष ओलीले भने– ‘माधव नेपाल पानीले भिजेको खरानीको डल्ला जस्तै हुन् । मंसिर ४ को निर्वाचनपछि त्यो डल्ला जस्तै समाप्त हुनेछन् ।’
अध्यक्ष ओलीले माधवले आगामी निर्वाचमा अनेक अपराधको सजाय पाउने समेत बताएका छन् । एमालेबाट विद्रोह गरेर अपराध गरेको भन्दै ओलीले नेपाली जनताले सजाय दिने बताएका हुन् ।
अध्यक्ष ओली माधवसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध पनि उत्तिकै खनिएका छन् ।














